रविलाई कानूनले नछोड्ने संकेत, सर्वोच्चमा पर्‍यो अर्को मुद्दा – Janadesh Daily | ePaper

रविलाई कानूनले नछोड्ने संकेत, सर्वोच्चमा पर्‍यो अर्को मुद्दा


जनादेश, काठमाण्डौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ।

सांसद हुन रविको अयोग्यतासम्बन्धी सिन्धुलीका युवराज पौडेल सफलले हालेको रिट सर्वोच्च अदालतले दर्ता गरिदिएको हो।

यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो। यो आदेशसँगै आगामी जेठ १७ गतेका लागि पेशी समेत तोकिएको छ।

रविको सांसद पदको अयोग्यतासम्बन्धी रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा पेश भएको थियो। तर अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले वैशाख २८ गते यो निवेदनलाई दरपीठ गरिदिएका थिए।

दरपीठ गर्ने पन्थीको निर्णयविरुद्ध पौडेलले यही जेठ १ गते आदेश माग्दै निवेदन पेश गरेका थिए। न्यायाधीश श्रेष्ठको एकल इजलासबाट दरपीठ आदेश बदर गर्दै मंगलबार दर्ता गर्न आदेश दिएको थियो। उनको आदेशसँगै बुधबार उक्त रिट दर्ता भएको छ।

‘निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानूनी प्रश्न निहित रहेको देखिँदा यस अदालतको रजिष्ट्रारबाट दरपीठ आदेश बदर गरिदिएको छ’, आदेशमा भनिएको छ, ‘कानुनबमोजिमको अन्य रीत पुगेको भए पेश हुन आएको निवेदन दर्ता गरी नियमानुसार गर्नू।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्