सामाजिक सञ्जालः युवतीले ह्वाट्सएपमा अश्चिल कुरा गर्दैछिन्? उत्ताउलो नबन्नुस् फन्दामा परिएला ! – Janadesh Daily | ePaper

सामाजिक सञ्जालः युवतीले ह्वाट्सएपमा अश्चिल कुरा गर्दैछिन्? उत्ताउलो नबन्नुस् फन्दामा परिएला !


जनादेश सोलस मिडिया वाच।

एक महिनाअघि पूर्वमन्त्री एवम् जनमत पार्टीका नेता अब्दुल खान हस्याङ–फस्याङ गर्दै भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो पुगे। उनको साथमा सहयोगी पनि थिए। नेता खान निकै तनावमा देखिन्थे। आतुर थिए– ब्युरोका अधिकारीलाई भेट्न। केही समयपछि ब्युरोका सम्बन्धित शाखाका उच्च अधिकारी आइपुगे। उनकै कार्यकक्षमा भेट्नासाथ पूर्वमन्त्री खानले आफ्नो समस्या सुनाउन थाले। छेउमै बसेका सहयोगीले पनि उनको भोगाइ प्रस्ट्याउन सघाए।

पूर्वमन्त्री खानको गुनासो सुनेपछि ब्युरोका अधिकारीले उनलाई आश्वस्त पार्दै केही भने। त्यसपछि बल्ल पूर्वमन्त्री खानले लामो सास ताने। सँगै रहेका सहयोगीले सम्झाउँदै भने ‘‘अब त केही होला कि। चिन्ता नगर्नुहोस्।’’ पूर्वमन्त्री खान तनावमा रहेको कारण थियो, भाइरल अश्लील भिडियो। एक युवतीसँग उनले भिडिओ कलमा अश्लील हर्कत गरेको भिडिओ बाहिरिएपछि विभिन्न टीकाटिप्पणी भइरहेको थियो।

नेता खानले भने भिडिओ गलत तरिकाले ‘म्यानुपुलेट’ गरेर बाहिर आएको दाबी गर्दै आएका थिए। तैपनि, धेरैले पत्याएका थिएनन्। साइबर ब्युरोमा भिडिओ सार्वजनिक गर्नेविरुद्ध कारबाही माग गर्दै उनी गएका थिए। उनको चिन्ता त्यति मात्र सीमित थिएन। ‘ठूलो रकम माग्दा नदिएपछि’ भिडिओ सोसल मिडियाका विभिन्न ग्रुपबाट फैलिन थालेको थियो।

के थियो भाइरल भिडिओमा ?
भाइरल भिडिओमा पूर्वमन्त्री खान र एक युवतीसँग लामै कुराकानी भएको देखिन्थ्यो। भिडिओ कलकै क्रममा युवतीले कपडा खोल्दै गइन्। युवतीले बिस्तारै सीमा नाघ्दै गइन्। छाडा र उत्तेजक स्वरूप देखाउँदै थिइन् उनी। यता खान पनि उनको गतिविधिमा रमिरहेका थिए। युवतीले पूर्वमन्त्री खानलाई पनि त्यसै गर्न लगाइन्। उनी पनि बहकिँदै सहमत भए।

कपडा खोल्दै उस्तै क्रियाकलाप गर्न थाले। कामुक मन लिएर मस्की–मस्की लामो सास फेर्दै ‘भिडिओ कल’ चलिरहेको थियो। यसैबीच मोबाइलको स्क्रिनबाट ती युवती हराइन्। खानको पृष्ठभूमिबारे जानकार ती युवतीले भोलिपल्ट मन्त्री खानको ह्वाट्एप्समा भिडिओ पठाइन्। युवतीले अघिल्लो दिनको ‘रासलीला भिडिओ’ को स्क्रिन रेकर्ड गरेकी रहिछन्।

खानको दाबीअनुसार ठूलो रकम मागियो। नदिए भिडिओ भाइरल गर्ने चेतावनी दिइयो। उनले पैसा दिन मानेनन्। अनि भिडिओ सामाजिक सञ्जालसम्मै आएपछि खान प्रहरी कहाँ पुगेका रहेछन्।

केही दिनअघि एक पाको उमेरका व्यापारीलाई एउटी युवतीले ‘फेसबुक’ मा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाइन्। मारवाडी समुदायका ती व्यापारीलाई ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने युवती भारतीय मुलकी जस्ती देखिन्थिन्। साथी बनेलगत्तैदेखि ती युवतीसँग व्यापारीको म्यासेन्जर च्याटमा ‘हाइ….हेल्लो….’ सुरु भयो। केहीबेरमा व्यक्तिगत खबर आदानप्रदान भयो। दुवै मस्किन थाले। भोलिपल्ट ‘भिडिओ कल’ मा कुरा भयो। उमेरले पाको भए पनि ती व्यापारी युवतीसँग ‘फेसबुक’ मै दिवाना बनिसकेका थिए।

भिडिओ कलमै रमाइलो गफ हुँदै थियो। युवतीले आफ्ना सम्पूर्ण वस्त्र खोल्न थालिन्। शरीरका सम्पूर्ण वस्त्र उतारिन्। स्त्रीका सबै कुरा भिडिओमा देखेपछि व्यापारीले मन थाम्न सकेनन्। युवतीलाई नाङ्गै देखेर उत्तेजित भए। उनी पनि युवतीझैँ भिडिओ कलमा प्रस्तुत भए। उनी त्यतिमै रोकिएनन्। अनुहार रातोपिरो पार्दै केही मिनेट छाडा गफसमेत गर्न थाले। केही बेरमा भिडियो कल काटियो।

व्यापारी फेरि भिडिओ कल गर्न खोज्दै थिए। म्यासेन्जरमा ‘टुंङ्’ घण्टी बज्यो। म्यासेज हेर्दा चकित परे। केही बेरअघि नग्न भएर गरेको संवादको भिडिओ रहेछ। केहीबेरमै धम्की आयो– ‘पैसा पठाऊ, नत्र भिडिओ भाइरल हुनेछ।’ त्यसपछि ती व्यापारीलाई फसाद आइलाग्यो– ‘अब के गर्ने ?’ भिडिओ सार्वजनिक हुनबाट रोक्न पैसाको ‘बार्गेनिङ’ गर्न थाले।

सामाजिक सञ्जालमा भिडिओ भाइरल भयो भने पारिवारिक सम्बन्ध र सामाजिक प्रतिष्ठामा ठूलै आँच आउने खतरा देखे। उनले केही रकम पठाएर भिडिओ सार्वजनिक नगर्न आग्रह गरे। त्यतिले ती युवती नपुग्नै भन्दै थप मागेपछि व्यापारी साइबर ब्युरो गुहार्न बाध्य भए।

गत भदौमा यस्तै समस्यामा फसे, कांग्रेसका एक नेता। भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष एवं कांग्रेस नेता अर्जुन न्यौपानेको नग्न भिडिओ सामाजिक सञ्जालमा छरपस्ट भयो। उनको घटना पनि यही प्रकृतिकै थियो। उनले साइबर ब्युरोमा अनुसन्धानका लागि निवेदन दिए। तैपनि, भिडिओ सार्वजनिक गर्ने व्यक्ति पत्ता लागेको छैन।

साइबर ब्युरोमा उजुरीको चाङ
पूर्वमन्त्री खान, कांग्रेस नेता र व्यापारीको भोगाइ प्रतिनिधि घटना मात्र हुन् । ‘साइबर ब्युरो’ मा पछिल्लो एक वर्षयता एक सयभन्दा बढी उजुरी परेको तथ्यांक छ । ती उजुरीमा यस्तै प्रकृतिका घटना उल्लेख छन्। ती मध्ये आधा जति समाधान भइसकेको छ। बाँकी समाधानकै क्रममा छन्।

सामाजिक सञ्जाललाई माध्यम बनाएर ‘ब्ल्याक मेल’ गर्ने गिरोह पछिल्लो समय धेरै नै सक्रिय छन्। विदेशमा बसेर समेत कतिपयले यस्तो धन्दा चलाइरहेका छन्। अहिले राजधानी काठमाडौं उपत्यकासहित देशका सहरमा बढी सक्रियता पाइएको छ । यस्ताको मुख्य निशाना नेतादेखि व्यापारी हुने गरेको उजुरीमा देखिन्छ। ब्युरोमा कार्यरत अधिकारीका अनुसार, ‘भल्गर’ (नग्न) भिडिओको सिकार प्रतिष्ठित नेतादेखि व्यापारी र सामाजिक अभियन्तासम्म भइसकेका छन्।

‘‘यस्तो गिरोहको फन्दामा परेपछि अप्ठेरो हुन्छ। सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ। सामाजिक सञ्जालमा नचिनेका मान्छे र जो पायो त्यहीसँग जोडिनु हुँदैन। नचाहिँदो कुराकानी र सामाजिक व्यवहार विपरितका व्यवहार गर्न हुँदैन,’’ ब्युरोका अधिकारीहरू भन्छन्।

ब्युरोले सचेत गराएको सूचनाको बेवास्ता
यसलाई रोक्न साइबर ब्युरोले विभिन्न चेतनाका सूचनामूलक सन्देश दिँदै आएको छ। यस्तो घटना पुन नहोस् भन्नका लागि साइबर ब्युरोले पटक पटक सूचना निकालेर सचेत समेत गराउँदै आएको छ। तैपनि बेवास्ता गर्दा फन्दामा परिरहेका छन् ।

‘‘पछिल्लो समय यस्ता घटनाबाट धेरैजना पीडित भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सजग नहुने हो भने यो समस्या झनै बढ्ने खतरा छ। “हामीले सचेत गराउँदै आएका छौँ। यसलाई गम्भीर रुपमा लिए समस्यामा फसिँदैन।’’ ब्युरोका प्रवक्ता पशुपति कुमार राय भन्छन्।

युवतीलाई अघि सारेर सामाजिक सञ्जालमा कामोत्तेजना र अमर्यादित भिडिओ पठाउने अनि पछि त्यसैलाई माध्यम बनाएर मोटो रकम असुल्ने अपराध अहिले बढेको छ। मागेबमोजिमको पैसा नदिए चरित्र हत्या गरिदिने गिरोहका कारण धेरैले दुःख पाएको उनले बताए।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्