प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणः यस्ता छन् सम्भावित एजेण्डा र भेटवार्ताको कार्यक्रम – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणः यस्ता छन् सम्भावित एजेण्डा र भेटवार्ताको कार्यक्रम


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठदेखि भारतको औपचारिक भ्रमणमा जाँदै छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले भ्रमण ऐतिहासिक हुने दाबी गरिरहेका वेला पूर्वपरराष्ट्रमन्त्री एवं अन्तर्राष्ट्रिय मामिला जानकारले भ्रमणले दुई देशबीच पारस्परिक विश्वास अभिवृद्धि गर्ने गरी नेपालले तयारी गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुन लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू व्यस्त छन्। यसका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय भएको छ। भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गरेका थिए।

आसन्न भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल लगभग सकिएको छ। त्यसको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गरेका छन्। उनले अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटनलगायतका दुई पक्षीय परियोजनामा सम्बद्ध मन्त्रालयबाट आवश्यक कार्यसूचीको खाका गतसाता नै सङ्कलन गरेका छन् ।

यस्तो छ तालिका
देशमा विकसित यी यावत घटनाक्रमका बीच हुन लागेको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। प्रधानमन्त्री प्रचण्डले आफ्नो यो भ्रमण ऐतिहासिक हुने बताएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रचण्ड जेठ १७ मा भारत प्रस्थान गर्नेछन् भने २० गते स्वदेश फर्कनेछन्। त्यसबीच उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ। मोदीसँग जेठ १८ गते वार्ता हुने मन्त्रालयले जनाएको छ।

उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ। मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्। त्यसपछि दुई प्रधानमन्त्रीले लन्चसमेत गर्ने तालिका छ। यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ।

त्यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डसँसँग भारतका अन्य विशिष्ट व्यक्तिले पनि भेट गर्नेछन्। यस्तै उनी भारतको मध्यप्रदेशको उज्जैन र इन्दौरको भ्रमण गर्नेछन्।

ऊर्जासम्बन्धी विषय महत्वपूर्ण

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ऊर्जासम्बन्धी विषयलाई महत्व दिइने भएको छ। नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १० औँ बैठकले पारित गरेका मुख्य विषयले प्रधानमन्त्रीको भ्रमणमा स्थान पाउने छन्।

सो बैठकमा दुई देशबिचका मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत् आयात–निर्यातलगायतका विषयमा सहमति भएको थियो।

त्यसमध्ये नेपालबाट ५० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेस गरेमा भारतको विद्युत् आयात–निर्यात निर्देशकाबमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको थियो। त्रिदेशीय सम्बन्धको आयाम बोकेको यो विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणमा पनि प्रमुख कार्यसूचीमा रहेको छ।

भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित : प्रधानमन्त्री

केही दिनअगाडि प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित प्रतिकूल कुनै किसिमको सम्झौता नहुने बताएका थिए । ‘म विश्वास दिलाउन चाहन्छु– नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता या भ्रम पर्न दिइनेछैन ।’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने बताएका थिए । ‘सीमासम्बन्धी सबै समस्या पनि कूटनीतिक माध्यमबाट समाधान गर्ने तथा छिमेकी मित्रराष्ट्रसँग सौहार्द र घनिष्ट सम्बन्ध राख्ने नीति सरकारले लिएको छ । नेपाल–भारत सम्बन्धलाई पुनरावलोकन गरी समयसापेक्ष बनाउने कुरामा कूटनीतिक पहल जारी छन्,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरू राष्ट्रको भूमि पनि नलिने सिद्धान्तमा अडिग छ । यसै सिद्धान्तमा रहेर छिमेकीसँगको सम्बन्ध कायम गर्न नेपाल प्रयत्नशील रहेको छ । मेरो निकट भविष्यमा हुने भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने विश्वास व्यक्त गर्न चाहन्छु ।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्