गणतन्त्र दिवसमा प्रचण्डको सन्देशः सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य – Janadesh Daily | ePaper

गणतन्त्र दिवसमा प्रचण्डको सन्देशः सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य


blog

जनादेश संवाददाता  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबिच एकता र सहकार्य हुन जरुरी रहेको बताउनुभएको छ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार र सबै पक्षको ध्यान गणतान्त्रिक व्यवस्थाका अभीष्ट पूरा गर्नतिर केन्द्रित हुँदै गएको चर्चा गर्नुभएको छ। सन्देशमा प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएको छ, “नागरिकका हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक, सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः  आकार लिन थालेको छ।”

नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको प्रधानमन्त्रीले बताउनुभएको छ।

“यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा म जोड दिन चाहन्छु,” उहाँले भन्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुन सके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जग थप मजबुत बन्नेमा विश्वास व्यक्त गर्नुभयो।

“संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधारहरू हुन्,” सन्देशमा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीले गणतन्त्र दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै बेपत्ता तथा घाइते अपाङ्ग योद्धासहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्