कस्ता छन् प्रचण्ड सरकारको बजेटका विशेषताः बजेटको सार संक्षेप बुझाउने ५ बुँदा र १९ नारा – Janadesh Daily | ePaper

कस्ता छन् प्रचण्ड सरकारको बजेटका विशेषताः बजेटको सार संक्षेप बुझाउने ५ बुँदा र १९ नारा


जनादेश वाच।

आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री प्रकाशशरण महतले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सिलिङ भन्दा ६३ अर्ब बढीको बजेट ल्याएका हुन्।

बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ६५.२० प्रतिशत रकम विनियोजन गरिएको छ। पुँजीगततर्फ १७.२५ प्रतिशत अर्थात् ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो रकम कुल विनियोजनको १७.५५ प्रतिशत हो।

सरकारले चालु र पुँजीगत दुवैतर्फको बजेट घटाएको छ। विकास पूर्वधारमा नयाँ कार्यक्रम समावेश गरेको छैन। २ वर्षअघि नै खारेज भएको संसद् विकास कोषलाई ब्युँताएको छ।

बजेटका मुख्य बुँदा
–आर्थिक वृद्धिक ६ प्रतिशतको लक्ष्य र मुद्रास्फीति ६.५ प्रतिशतमा राख्ने उल्लेख गरेको छ।

–संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरेको छ।

–सरकारले मेडिकल कलेजको नयाँ लाइसेन्स दिने भएको छ।

–बैंक तथा वित्तीय संस्था र सहकारीमा खाता खोल्दा प्यान नम्बर अनिवार्य गर्ने भएको छ।

–सुर्ती र गुट्खा प्याकिङमा २०८१ वैशाखबाट प्लास्टिक प्रतिबन्ध।

–सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने भएको छ।

–प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड बजेट विनियोजन गरेको छ।

–‘वाटर फ्रम द हिमालय’ ब्रान्डिङ गरी नेपालको पानी निर्यात गर्ने भएको छ।

–२०८० मा लगानी सम्मेलन हुने भएको छ।

–सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाउने भएको छ।

–सरकारी कर्मचारीमध्ये सवारीसाधन सुविधा प्राप्त गर्नेलाई सवारी साधनको सट्टा नगदै प्रदान गर्ने भएको छ।

–दोहोरो कार्यक्षेत्र र औचित्य नभएको २० वटा सार्वजनिक संस्था खारेज हुने भएको छ।

–वन तथा वातावरण मन्त्रालयले ३० दिन भित्र वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्ने भएको छ।

–विदेशबाट आयात हुने सिमेन्ट र डन्डी लगायत स्वदेशमै उत्पादन हुने उद्योगमा कर बढाएको छ।

यी हुन् प्रचण्ड सरकारको बजेका १९ मुख्य नाराः

१. उत्पादन साथमा, अनुदान हातमा: यही नाराका साथ बजेटले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने लक्ष्य राखेको छ । । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउँने अर्थमन्त्रालयको योजना हो ।

२. पोषणयुक्त घाँसेवालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔं: यस नाराले एक सय वटा स्थानीय तहमा जै, नेपियर, मेन्डुला, वर्सिम लगायत जातका घाँसे बाली विकास तथा पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

३. अबको जीवन स्वदेशमा नै: यही नाराबाट सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यसबाट गरिवीको रेखामुनि रहेका र सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा बजेटको छ ।

४. नेपाल घुमौं, नेपाल चिनौं: आन्तरिक पर्यटन प्रवर्द्धन गर्न लिइएको यस नाराले स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिनने बताइएको छ ।

५. एक चिकित्सक र स्वास्थ्यकर्मी/एक स्वास्थ्य संस्था: सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न लिइएको यो नारा सार्थक बनाउन सबै संघीय अस्पतालमा कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री महतले बताएका छन् । यसका लागि सरकारले २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

६. सिँचाइमा लगानी, खेतबारीमा पानीः यही नाराका साथ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला, जलाशययुक्त र जलपथान्तरण गर्ने बहुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिने नीति बजेटले लिएको छ ।

७. हरित अर्थतन्त्र, दिगो विकासको मन्त्रः आयोजना कार्यान्वयनका हरेक चरणमा वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका क्रियाकलापलाई मूलप्रवाहीकरण गर्ने बजेटको लक्ष्य छ । विपद् व्यवस्थापनका कार्यक्रमलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथामका उपाय अवलम्बन गरिने बताइएको छ ।

८.आधुनिक जीवनको आधार, सूचना प्रविधि र सञ्चारः यही मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाउने लक्ष्य बजेटले लिएको छ ।

९.बागमती नदीको शान, सभ्यताको उत्थानः बागमती नदी सफाइ अभियानलाई निरन्तरता दिनेछ । काठमाडौं उपत्यकाको जलाधार संरक्षण एवं सुख्खा याममा समेत बागमती नदीमा पानीको न्यूनतम बहाव सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बागमती ड्यामको निर्माण कार्य गर्ने सरकारी लक्ष्य हो ।

१०. कोखदेखि शोकसम्म सामाजिक सुरक्षाः लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि भन्ने नाराका साथ गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवन चक्रका सबै चरणमा सामाजिक सुरक्षा प्रत्याभूत गरिने बताइएको छ । यद्यपि यो नारा नयाँ भने होइन ।

११. गुणस्तरीय स्वास्थ्य उपचार, जनताको अधिकार: यो नाराले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउँने लक्ष्य लिएको हो ।

१२. ल्याउने, सिकाउने र टिकाउने: बालबालिकालाई विद्यालयमा कार्यक्रमलाई विस्तार गरी कृषिजन्य प्रयोगात्मक सिकाइ प्रदान गर्न बजेटले व्यवस्था गरेको छ ।

१३. अतिथि देवो भवः सन् २०२३ देखि ३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाउन यो नारा तय गरिएको हो ।

१४. श्रमको सम्मान राष्ट्रको अभियान: यो नाराका साथ मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने बजेटको लक्ष्य हो ।

१५. उत्पादन र रोजगार, समृद्धिको आधार: यो नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताइएको छ ।

१६. जग्गा प्रशासनमा सुशासन: यो नाराका साथ जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रविधिमा आधारित वनाउँने सरकारको लक्ष्य हो ।

१७. खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा, खेतबारीमै प्राविधिक जनशक्ति पुर्याउने: लक्ष्यका साथ ल्याइएको नाराका लागि हरेक स्थानीय तहमा कृषि एवं पशुपन्छी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड विनियोजन भएको छ ।

१८. रैथानेमा गर्व गरौँ: भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गर्ने लक्ष्य बजेटले लिएको छ ।

१९. आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन बृद्धि गर्ने र स्वदेशमै रोजगार सृजना गर्ने नाराको उदेश्य रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्