रहस्य केः रेशम चौधरी जेलबाट निस्किएपछि लिन गइन् पत्नी रञ्जिता, तर अर्की महिलाले पनि लेखिन् ‘बधाई बुढा’ – Janadesh Daily | ePaper

रहस्य केः रेशम चौधरी जेलबाट निस्किएपछि लिन गइन् पत्नी रञ्जिता, तर अर्की महिलाले पनि लेखिन् ‘बधाई बुढा’


जनादेश वाच।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर सोमबार (आजै) रिहा भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरीलाई बधाई आयो— बधाई बूढा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी (जो रेशमकी धर्मपत्नी हुन्) रेशम रिहा हुँदा कारागार परिसरमै थिइन् । तर, सामाजिक सञ्जालमा ‘बधाई बूढा’ भन्ने उनी थिइनन् ।

बधाईमा पोस्ट् गरिएको तस्वीरमा रेशमसँगै एक युवती र बच्चासमेत देखिन्छ । यसरी हेर्दा चौधरीका दुई पत्नी भएको बुझिन्छ । स्रोतकाअनुसार बधाई बूढा भनेर फेसबूकमा तस्वीर साझा गर्ने रेशमकी कान्छी पत्नी आशा चौधरी हुन् ।

स्रोतकाअनुसार धनगढी उपमहानगरपालिका ६ स्थित जालीमा माइत रहेकी उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा केही समय अगाडि नै बिहे गरेका थिए । उनी अहिले बर्दियामा एउटा रेडियो सञ्चालन गरेर बसेको खुलेको छ । उनीसँगै तस्वीरमा देखिएकी बच्ची रेशम र आशाकै छोरी भएको स्रोत बताउँछ ।

फेसबूकमार्फत आशाले रेशमलाई बधाई तथा स्वागत गरेपछि पनि यसले खासै महत्त्व पाएको भने देखिँदैन । कारागारबाट छुटेपछि मन्त्री क्वार्टर पुगेका रेशम माइतीघर मण्डला हुँदै विमानस्थल भएर नेपालगञ्ज पुगे । श्री एयरलाईन्सको नियमित उडानमार्फत नेपालगञ्ज पुगेका रेशम त्यहाँबाट राजापुर हुँदै टीकापुर पुगेर आमासँग आशीर्वाद लिइसकेका छन् ।

तर, रेशमसँग आफ्नी छोरीसहितको फोटो राख्ने आशाले भने रेशमलाई भेट्न पाएकी छैनन् । रेशमपत्नी रञ्जिता भने काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी हुन् । रेशमसँग काठमाडौंमै चिनजान भएपछि अन्तरजातीय विवाह गरेका उनीहरूको एक छोरा छन् ।

आशा चौधरी नामक फेसबूकबाट सार्वजनिक तस्वीर र बधाईबारे बुझ्न खोज्दा रञ्जिता बोल्न चाहिनन् । उनले भनेकी छन्, “मलाई थाहा छैन । उहाँलाई नै सोध्नुस् ।” उनले थाहा नभएको भन्दै आफूलाई टक्टक्याइन् । “म एउटा नम्बर पठाइदिन्छु, त्यही नम्बरमा फोन गरेर बुझ्नुस्,” यत्ति भनेपछि रञ्जिताले एउटा नम्बर पठाइन् ।

 त्यसपछि त्यस नम्बरमा फोन हुँदा रेशमसँग कुराकानी गर्न सकियो । पुन: उनीसँग पनि कुरा बुझ्न खोज्दा उनको प्रतिक्रिया थियो, “त्यो विषय बाहिर ल्याइराख्नुपर्ने विषय होइन ।”

बताइदिनुस् न भनेर दोहोर्‍याउँदा उनले भनेका छन्, ‘यस्ता विषयहरू बाहिर ल्याएर केही फाइदै छैन ।’ यत्ति भनेपछि फोन काटे । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा रेशमलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । सत्ता साझेदार दल भएकाले नाउपाकै आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई आममाफीको लागि राष्ट्रपतिसमक्ष पहल गरेका थिए ।

त्यसै घटनामा संलग्न भएका र दोषी ठहरिएका ५ जना अहिले पनि कारागारमै छन् भने केही फरार छन् । टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र एक नाबालकसहित ८ जनाको मृत्यु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्