खोलामा डुबेर एकको मृत्यु – Janadesh Daily | ePaper

खोलामा डुबेर एकको मृत्यु


चितवन,

पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको उपचारका क्रममा साँझ ५ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटका कारण सातमहिने शिशुको मृत्यु

रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।

रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कुटाइबाट पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ । घाइते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमती कुटपिट गर्ने कुले विकलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरीले बताएको छ ।

पुलबाट हाम फाल्दा एक जनाको मृत्यु

स्वर्गद्वारी– प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्