भारतीय संसदमा राखिएको अखण्ड भारतको नक्शा के हो? भारतीय दीर्घकालीन रणनीति कि सांकेतिक – Janadesh Daily | ePaper

भारतीय संसदमा राखिएको अखण्ड भारतको नक्शा के हो? भारतीय दीर्घकालीन रणनीति कि सांकेतिक


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्व सन्ध्यामा नक्साबारे भारतले नयाँ किचलो झिकेको छ। अखण्ड भारतका नाममा कहिल्यै पनि अर्काको अधिनमा नपरेको नेपालका भूभागहरुलाई समेत राखेर भारतले संसदमा नक्सा राखेपछि यसबारे नेपालमा तीब्र प्रतिक्रिया उत्पन्न हुन शुरु भएको छ।

प्रधानमन्त्री दाहाललाई नक्साबारे दवाव दिने गलत उद्देश्यले हो वा अखण्ड भारतमा नेपालको पनि सहमति छ भन्ने प्रमाणित गराउन हो भारतको यो बेमौसमी बखेडाले प्रधानमन्त्री दहालको भारत भ्रमणलाई ठूलो चुनौती हुन पुगेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्‌घाटन गरेको संसद्‌ भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल नक्सा राखिएको छ। जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ।

भारतको सत्तारुढ दल भाजपाका नेताहरुले उक्त मुरल नक्साका तस्बिरहरु सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ भन्दै लेखेका छन्। भारतका संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरलको फोटो राख्दै ट्वीटरमा लेखेका छन्, ‘संकल्प स्पष्ट छ- अखण्ड।’

भाजपा सांसद मनोज कोडाकले मुरललाई पृष्ठभूमिमा राखेको आफ्नो तस्बिर ट्वीट गर्दै लेखेका छन्, ‘नयाँ संसदमा अखण्ड भारत। यसले हाम्रो शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गर्दछ। धन्यवाद प्रधानमन्त्री मोदी। मेरो संसद्, मेरो गौरव।’

भाजपाका अन्य नेता तथा सांसदहरुले पनि उक्त मुरलको प्रशंसा गर्दै सामाजिक सञ्जालमा सन्देशहरु शेयर गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो विषयले नेपालमा भने विरोध सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि भारतको राजकीय भ्रमण गर्दैछन्।

सत्ता गठबन्धन र प्रतिपक्षका कतिपय नेताहरुले समेत यो विषयबारे भारतसँग कुरा गर्नुपर्ने बताएका छन्। नाम उल्लेख गर्न नचाहने नेकपा माओवादी केन्द्रका एक नेताले प्रधानमन्त्रीले यो विषयमा स्पष्ट धारणा बनाएर मात्रै भारतको यात्रा गर्नुपर्ने बताए।

‘जुन अखण्ड भारतको नक्सा भनेर उनीहरुले संसद्‌मा राखेका छन्, त्यसले के संकेत गर्छ? के उनीहरुको अन्तिम लक्ष्य भनेको नेपाली भू–भाग समेत कब्जा गर्ने हो? उनीहरुको त्यो सोँचलाई हामीले समर्थन गर्ने हो र? होइन नि। त्यसैले प्रधानमन्त्रीजीले यसमा स्पष्ट धारणा बनाएर मात्रै भारतको यात्रा गर्नुपर्छ,’ ती नेताको भनाइ छ। प्रधानमन्त्रीले यस विषयमा भारतीय दूतावसमार्फत् भारत सरकारको धारणा माग्नुपर्ने पनि ती नेताको भनाइ छ।

सत्तारुढ गठबन्धनको दल नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाल लगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउने बताएका छन्।

ट्वीटरमा दुवै नेपाल र भारतका प्रधानमन्त्रीलाई मेन्सन गर्दै भट्टराईले भारतको राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खुला रुपमा बताउनुपर्ने पनि बताएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतको भर्खरै उद्‌घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिलेदेखि नै विगार्दै आएको विश्वासको कमिलाई अझ बढाउने सम्भावना छ। भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावबारे समयमै सार्वजनिक गरी सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’

भारतीय सत्तारुढ दल राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)ले अखण्ड भारतको वकालत गर्ने गर्छ। आरएसएसले हालको अफगानिस्तानदेखि दक्षिण पूर्व एसियाको थाइल्याण्ड सम्मलाई ‘अखण्ड भारत’मा गाभिनुपर्ने मान्यता राख्छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्