प्रधानमन्त्री दाहाल खप्तडमा – Janadesh Daily | ePaper

प्रधानमन्त्री दाहाल खप्तडमा


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुग्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यहाँ आउनु भएको हो । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ ।
प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत पनि यहाँ आइपुग्नुभएको छ । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड आइसक्नुभएको छ ।
खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत आजै हेलिकप्टरमा खप्तड आउनुभएको छ । सम्मेलनको पहिलो दिन आज बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो ।
सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने छ । सम्मेलन यही जेठ २५ गतेसम्म सञ्चालन हुने छ । उक्त सम्मेलनमा पूव प्रधानमन्त्री, मन्त्री, संघीय सांसदलगायत अन्तर्राष्ट्रिय तहका आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताउनुभयो ।
सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो । खप्तड समुद्री सतहबाट झण्डै तीन हजार एक सय मिटरको उचाइमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्