एमालेमा ७० वर्षे हद हटाउने रणनीतिः नाम मुकुन्दको लाभ फेरि अध्यक्ष बन्न चाहेका ओलीलाई – Janadesh Daily | ePaper

एमालेमा ७० वर्षे हद हटाउने रणनीतिः नाम मुकुन्दको लाभ फेरि अध्यक्ष बन्न चाहेका ओलीलाई


जनादेश वाच।

एमालेमा आठौँ महाधिवेशनदेखि सुरु भएको ७० वर्षे उमेर हद हटाइएको छ । तत्काललाई नेकपा एकीकृत समाजवादीतर्फ गएका नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन सो प्रावधान निलम्बन गरिएको भनिए पनि एमालेले विधान महाधिवेशनमा लगेर उमेर हद हटाउने तयारी गरेको छ ।

१९ जेठ शुक्रबार बसेको सचिवालय बैठकले उमेर हद निलम्बन हटाएर ७२ बर्षिय न्यौपानेसहित नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । एमाले विधानले पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लगायत कार्यकारी पदमा रहन ७० वर्षे उमेर हद तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई सहज बनाउन विधान महाधिवेशनले थप व्याख्या गर्दै ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन, अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखियो । त्यसले ११ फागुनमा ७० वर्ष पुग्न लागेका ओली मंसिरमै पाँच वर्षका लागि अध्यक्ष निर्वाचित भए ।

एमालेको पछिल्लो निर्णयले विधान महाधिवेशनमार्फत बैधानिक रुपमै उमेर हद हटाएर ओलीले अर्को कार्यकाल पनि अध्यक्ष बन्ने बाटो खोल्न लागेको चर्चा पनि सुरु भएको छ ।

एमालेका एक पदाधिकारी भने अहिल्यै त्यति पर नसोँचिएको बताउँछन् । ‘मुकुन्द कमरेड मालेको स्थापनाकालीन नेता हो । माधव नेपालको पछि लागेर केही समय एसमा जानुभो । उहाँ फर्किन खोज्दा भूमिकाविहिन बनाउनु हुन्न भनेर अहिले उमेर हद निलम्बन गरिएको हो’, उनी भन्छन्, ‘यसले एमालेबाहिर पुगेका ७० कटेका अरु नेतालाई पनि फर्काउन सक्छ ।’ उनको संकेत नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्टिूय अभियानका अध्यक्ष वामदेव गौतमतर्फ थियो ।

खनालले एमालेसहितको वामशक्तिको कुरा गरे पनि एमालेमा फर्किहाल्ने संकेत गरेका छैनन । तर, अर्का नेता गौतम भने उमेर हदले एमाले फर्किन रोकिएको बताउँदैआएका छन् । एमाले अध्यक्ष ओली र अरु नेताहरुसँगको भेटमा पनि एमालेमा फर्किन ७० वर्षे प्रावधानले रोकेको बताउँदैआएका थिए । उनी नेकपा एससँग पार्टी एकता गर्न बारम्बार बैठक गरे पनि जनताको बहुदलीय जनवादलाई मार्गदर्शन सिद्धान्त नमानेकाले सो पार्टीमा जान हच्किएका छन् । उनी स्थापनाकालमै एसमा जान चाहेका थिए । तर, सो पार्टीले जबज छाडेकै कारण अन्तिम समयमा रोकिएका थिए ।

ओलीकै लागि सबै

अहिले पालिका, जिल्ला र प्रदेशका इन्चार्जहरुको व्यापक फेरबदल गर्दा ओलीले आफूअनुकूल हुनेगरी चयन गरेका छन्। चितवनमा २०७८ मंसिर ११ देखि १८ सम्म भएको १० औैँ राष्ट्रिय महाधिवेशनमा ओली ७० वर्ष लागेकाले मात्रै भएकोले चुनाव लड्न पाएका थिए। उनी अहिले ७२ वर्षका भए। अब पार्टीको विधान नै फेरेर उनी फेरि अर्को पटक पनि अध्यक्ष बन्नेतिर लागेका छन्। एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ७० वर्षे उमेरहदबारेमा अहिले चर्चा मात्रै भएको बताएका छन्।

एमालेले नवौँ महाधिवेशनदेखि उमेर हद ७० वर्षको राख्न थालेको हो। वैशाख २८ र २९ गतेको केन्द्रीय कमिटी बैठकमा ओलीले अन्य पार्टीबाट ७० वर्षमाथिका नेताहरु प्रवेश गर्न सक्ने बताउँदै विद्यमान व्यवस्था संशोधन गर्नुपर्ने उल्लेख गरेका थिए। त्यसपछि नेकपा एकीकृत समाजवादीबाट नेताहरु मुकुन्द न्यौपाने र प्रेमबहादुर सिंह लगायत एमाले प्रवेश भएका थिए। उनीहरु दुवै ७० वर्ष नाघिसकेका छन्। विधान संशोधन नगर्ने हो भने आगामी २०८३ मा ओलीसहित केही पदाधिकारीहरु केन्द्रीय कमिटीमा उठ्न पाउँदैनन्। त्यही भएर फेरि अध्यक्ष उठ्न ओलीले विधान संशोधन गरेर उमेर हद हटाउन लागेका हुन्। एमालेले विधानमा रहेको कुनै व्यवस्था फेर्न विधान महाधिवेशन गर्दै आएको छ। राष्ट्रिय महाधिवशेनअघि विधान महाधिवेशन हुने गरेको छ। तर कहिलेकाहीँ विशेष विधान महाधिवेशन गरेर पनि प्रतिकूल देखिएका प्रावधान हटाउनबारे निर्णय लिन सक्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्