युक्रेनी बाँधमा रुसको आक्रमणः के हुनसक्छ यसको प्रभाव, रक्षात्मक अवस्थामा युक्रेन – Janadesh Daily | ePaper

युक्रेनी बाँधमा रुसको आक्रमणः के हुनसक्छ यसको प्रभाव, रक्षात्मक अवस्थामा युक्रेन


जनादेश अन्तर्राष्ट्रिय वाच।

रुसी नियन्त्रणमा रहेको युक्रेनी भूभागमा अवस्थित एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा रहेका दशौँ हजार मानिसलाई उद्धार गरिँदै छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्‍याएको भन्दै त्यसबाट ८० वटा नगर र गाउँहरूमा बाढी आउन सक्ने बताएका छन्।

ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ र त्यसले खेअर्सन सहरमा खतरनाक बाढीको जोखिम बढाएको बताइएको छ। रुसले आफ्नो नियन्त्रणमा रहेको उक्त बाँधमा क्षति पुर्‍याएको भन्ने आरोप अस्वीकार गरेको छ। उसले युक्रेनी गोलाबारीका कारण क्षति पुगेको जनाएको छ।

भत्किएको बाँधको क्षेत्रबाट ठूलो परिमाणमा पानी बगिरहेको भिडिओ फुटेजमा देख्न सकिन्छ। कैयौँ नगरहरू डुबानमा परिसकेका छन् भने तल्लो तटीय क्षेत्रका मानिसहरू बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन्। झन्डै ४० हजार मानिसलाई उद्धार गर्नुपर्ने अवस्था रहेको एक सरकारी अधिकारीले युक्रेनी टेलिभिजनलाई बताएकी छन्। त्यसमा ड्नीप्रोको पश्चिममा अवस्थित युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा अवस्थित रुसी नियन्त्रणका क्षेत्रबाट २५ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ। युक्रेनी आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताएका छन्।

कखोभ्का बाँध ड्नीप्रो नदीमा छ जहाँ जलविद्युत् ऊर्जा प्लान्ट (एचपीपी) पर्छ। युद्धको सुरुमा खेअर्सन आसपासको क्षेत्र कब्जा गर्दा रुसी फौजले त्यसलाई समेत नियन्त्रण गरेका थिए। तस्बिरहरूमा देखिएका प्रमाणका आधारमा बाँधको भित्तामा ठूलो अवरोध देखिन्छ।

बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दूरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ। अधिकारीहरूका अनुसार बाँध भत्किएको ठाउँबाट निस्कने पानीको भेलले कम्तीमा १६ हजार मानिसलाई जोखिममा पारेको छ। धेरै मानिसलाई अन्यत्र सारिएको छ। रुस नियन्त्रित युक्रेनी सहर नोभा कखोभ्कामा अहिले पानीको भेल पसेको रुसको सरकार नियन्त्रित समाचार संस्था तासले जनाएको छ। बाँधको माथिल्लो भागमा कखाभ्का जलाशय छ जसले जापोरिज्या परमाणु ऊर्जा केन्द्र (जुन अहिले रुसी नियन्त्रणमा छ) लाई चिसो पार्न पानी पठाउँछ। अहिले चिन्ता भनेको जीर्ण बाँधमार्फत् जलाशयबाट धेरै पानी निस्कँदा उक्त केन्द्र चिसो पार्न चाहिने पानी नबच्ने भन्ने हो। तर अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले त्यहाँको अवस्था नियन्त्रणमा नै रहेको र तत्कालै ‘परमाणु सुरक्षा जोखिम’ नरहेको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानीकर्ता निकाय आईएईएले अवस्थाको निगरानी गरिरहेको जनाउँदै त्यहाँ “तत्काल परमाणु सुरक्षाको जोखिम नरहेको” जनाएको छ। कखोभ्का जलाशयले नदीमार्फत् क्राइमियामा मानव उपयोगितामा प्रयोग हुने पानी समेत उपलब्ध गराउँछ जुन समेत अब सुक्न सक्छ। युक्रेनको सरकारले रुसी फौजलाई बाँध ध्वस्त पारेको आरोप लगाएको छ।

यद्यपि रुसले नियुक्त गरेका एक स्थानीय अधिकारीले बाँधमा ऊर्जा केन्द्रको माथिल्लो आधा भाग मात्र क्षति पुगेको जनाएका छन्। उनले त्यो बमबारीका कारण भएको बताएका छन्।

सोभियत सङ्घको समयमा इन्जिनियरहरूले ड्निप्रो नदीको युक्रेनतर्फ एकपछि अर्को गर्दै छ वटा बाँधहरू निर्माण गरेका थिए। जुन उसको बेलारुसदेखिको उसको सीमादेखि दक्षिणतर्फ समुद्रसम्ममा १ हजार ९५ किलोमिटरमा फैलिएको छ।

जुन लहरमा कखोभ्का अन्तिम बाँध हो। बाँधहरूका बिचमा उनीहरूले नदिलाई कैयौँ जलाशयको स्वरूप दिँदै त्यहाँबाट घर तथा उद्योग र खेतहरूमा सिँचाइका लागि पानी पुर्‍याउने व्यवस्था गरेका छन्।

ड्निप्रोका प्रत्येक जसो बाँधमा जलविद्युत् केन्द्रहरू छन् जसले बाँधका भित्तामा माथिल्लो भूभागबाट टर्बाइनहरू हुँदै जलप्रवाह गरिँदा ऊर्जा उत्पादन गर्छन्। देशभरि अन्य नदीहरूमा समेत जलविद्युत् उत्पादन गर्ने साना बाँध तथा जलाशयहरू छन्।

सन् २०२२ को सेप्टेम्बरमा एउटा क्षेप्यास्त्र हमलाले दक्षिणी युक्रेनमा क्रिभइ री सहर नजिकै पर्ने कराचुनिभ्स्के जलाशयको बाँध ध्वस्त पारेको थियो। त्यसले व्यापक रूपमा बाढी निम्त्याएको थियो र कैयौँ मानिसलाई अन्यत्र जान भनिएको थियो।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हमलाको दोष रुसलाई लगाउँदै त्यो युक्रेनी फौजहरूले सञ्चालन गरेको प्रत्याक्रमणको मस्कोले बदला लिएको बताएका छन्। उनले नागरिक निशानामा हमला गरेको भन्दै रुसलाई “आतङ्कवादी राज्य” भने।

सन् २०२२ को अक्टोबरमा जापोरिज्याका जलविद्युत् बाँधमा क्षेप्यास्त्र हमला भएका थिए र ती सबैप्रति रुस जिम्मेवार भएको युक्रेनले आरोप लगाएको थियो। सन् २०२२ को डिसेम्बरमा र सन् २०२३ को फेब्रुअरीमा जापोरिज्या नजिकैको ड्निप्रो जलविद्युत् केन्द्रमा क्षेप्यास्त्र हमलाहरू भएका थिए। जसका लागि समेत युक्रेनले रुसलाई आरोप लगायो।

“यो युक्रेनको ऊर्जा क्षमतालाई नष्ट गर्ने रुसी रणनीति अन्तर्गतको पाटो हो,” किङ्ग्स कलेज लन्डनमा डिफेन्स स्टडिजका अध्ययनकर्ता डा. मार्टिन मिरोनले भने। “यो ६,००० मेगावाटभन्दा धेरै ऊर्जा उत्पादन गर्ने जलविद्युत् केन्द्र हो। यी हमलासँगै झन्डै २,५०० मेगावाट क्षमता गुमेको छ।”

सन् २०२२ को फेब्रुअरीमा रुसी फौजहरू अगाडि बढिरहँदा युक्रेनी फौजले इर्पिन बाँध ध्वस्त पारेका थिए। “युक्रेनीहरूले सुरुमा उक्त बाँध ध्वस्त पारेको भन्दै रुसीहरूलाई आरोप लगाए तर अहिले थाहा भएको जानकारी भनेको त्यसलाई युक्रेनीहरूले ध्वस्त पारे भन्ने हो,” डा मिरोनले भने। त्यसले आसपासका क्षेत्रमा बाढी निम्त्यायो र किएभतर्फ बढ्दै गरेका रुसी पैदल फौज बख्तरबन्द गाडीहरूलाई अगाडि जान नमिल्ने बनायो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्