‘फार्मर्स लिग’ भन्दै होच्याउनेलाई एमबाप्पेको जवाफ – Janadesh Daily | ePaper

‘फार्मर्स लिग’ भन्दै होच्याउनेलाई एमबाप्पेको जवाफ


एजेन्सी ।

फ्रान्सेली लिगलाई ‘फार्मर्स लिग’ भन्दै आलोचना गर्नेहरुलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार केलियन एमबाप्पेले घुमाउरो पाराले टिप्पणी सहि नभएको संकेत गरेका छन् ।

म्यानचेस्टर सिटीलाई हराउँदै शुक्रबार फ्रान्सेली टोली लियोन च्याम्पियन्स लिगको सेमिफाइनल पुगेपछि उनले फ्रान्सको फुटबल कमजोर नरहेको संकेत गरेका हुन् । सिटीसँगको खेलमा लियोन अन्डर डग टोली थियो । तर, शुक्रबार लियोनले इंग्लिस टोलीमाथि ३-१ को जित निकाल्यो ।

यस नतिजासँगै अब सेमिफाइनलमा ५० प्रतिशत टोली फ्रान्सका छन् । एटलान्टालाई हराउँदै पिएसजी यो सिजनको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको थियो । सेमिफाइनलमा पुग्ने बाँकी दुई टोली भने जर्मन टोली हुन्  । बायर्न म्युनिखले बार्सिलोना तथा आरबी लाइप्जिगले एटलेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

२१ वर्षे एमबाप्पेलाई कहि न कहि फ्रान्सेली फुटबललाई युरोपियन फुटबलमा कमजोर मानेको चित्त नबुझेको अनुमान गर्न सकिन्छ । सामान्यतया घरेलु लिगमा एकै टोलीले वर्चस्व जमाएका कारण फ्रान्स र जर्मनीको लिगलाई ‘फार्मर्स लिग’ भनेर होच्याउने गरिन्छ । युरोपका पाँच शीर्ष लिगमध्य फ्रान्सेली लिग सबैभन्दा कमजोर रहेकाले पनि यो शब्दावली प्रयोग हुन्छ, जुन फ्रान्सेली खेलाडीलाई पाच्य भएन ।

फार्मर्स लिगको मतलब ती लिगमा रहेका खेलाडी पूर्णत खेलाडी नभएर अन्य पेशामा सक्रिय छन् भन्ने हो । खेलाडी राम्रो स्तरको नभएका कारण ठूला टोलीले मात्र लिगमा वर्चस्व जमाउँदै आएको इंगित आलोचकले गर्ने गरेका छन् । विगतमा फ्रान्सेली लिगका क्लबहरुले अन्य टोलीसँग फराकिलो अन्तरले हार्ने कारण पनि यो शब्दावली फ्रान्सेली लिगका टोलीलाई होच्याउन प्रयोग हुन्थ्यो ।

तर शनिबार लियोनले सिटीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएलगत्तै एमबाप्पेले ती आलोचकलाई घुमाउरो पारामा ट्विट गरेका छन् । उनले फार्मर्स लिग लेख्दै त्यसमा जोकरको इमोजी राखेका छन् । सँगै उनले तीन पटक तालीको इमोजी राख्दै लियोनको ह्यान्डल ट्याग गर्दै प्रशंसा समेत गरेका छन् ।

त्यसो त एमबाप्पेको यो भनाइ यसपटक अर्को संयोगले गर्दा पनि थप बलियो बन्न पुगेको छ । युरोपियन फुटबलको पावरहाउस मानिने स्पेनिस, इंग्लिस र इटालियन लिगका क्लबबिना ३० वर्षपछि यूईएफए च्याम्पियनस लिगको सेमिफाइनलमा समिकरण तयार भएको छ । यहाँसम्म की फार्मर्स लिग भनेर आलोचना गरिएको फ्रान्सेली लिगकै दुई टोली फाइनल पुग्ने सम्भावना छ ।

सेमिफाइनलमा लाइप्जिग र पीएसजी तथा लियोन र बायर्न म्युनिख भिड्ने भएकाले यसपटक फाइनलमा एकै राष्ट्रका दुई टोली खेल्न सक्छन् । त्यस्तै सेमिफाइनलमा पुगेका टिममध्ये बायर्न म्युनिखबाहेक अन्य तीन टिमले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेका छैनन् । बायर्नले अहिलेसम्म पाँचपटक च्याम्पियन्स लिग जितेको छ । बायर्नले पछिल्लोपटक २०१३ मा उपाधि जितेको थियो ।

सन् १९९०–९१ सिजनमा सर्वियन क्लब रेड स्टार बेलग्रेड, जर्मन क्लब बायर्न म्युनिख, फ्रान्सेली क्लब मार्से र रसियन क्लब स्पार्टक मस्कोले अन्तिम चारमा स्थान बनाएको थिए । त्यसबेला रेडस्टार बेलग्रेडले मार्सेलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै उपाधि जितेको थियो ।

एमबाप्पले र उनको टोली अब पहिलो पटक टोलीलाई फाइनल पुग्ने तयारीमा रहेका छन् । पिएसजीले सेमिफाइनलमा उनीबाट उच्च प्रदर्शनको आशा राखेको छ । चोटमुक्त भएर भर्खरै फर्केका एमबाप्पेले एट्लान्टासँगको खेलमा बेन्चबाट सुरुवात गरेका थिए । १–० ले पछि परेको खेल उल्टाउँदै पिएसजीले २–१ को जित निकालेको थियो ।

एटलान्टाविरुद्ध एमबाप्पेको आगमनपछि नै खेल बदलिएको थियो । नेयमारको उच्च प्रदर्शनमा पीएसजीले खेलको सुरुवातदेखि नै आक्रमण बुनेपनि एमबाप्पे आएपछि भने गोल निस्केको थियो । त्यसो त अर्का फरवार्ड चुपो मोटिङले टोलीको लागि निर्णायक गोल गरे तर एमबाप्पेको आगमनले पीएसजीको आक्रमणले लय समातेको थियो ।

कोरोना भाइरको कारण युरोपका अन्य लिग स्थगित भएर पुनः सुरु हुँदा फ्रेन्च लिग भने रद्द भएको थियो । रद्द भएपछि १२ अंकको अग्रता लिएको शीर्ष टोली पिएसजीलाई लिग विजेता घोषित गरिएको थियो । लियोनले भने सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । लियोनले अब अर्को सिजन च्याम्पियन्स लिग खेल्न यस पटक उपाधि जित्नुको विकल्प छैन ।

लिग स्थगित हुँदा पिएसजीको भन्दा लियोनको २८ अंक कम थियो । च्याम्पियन्स लिग सेमिफाइनलमा अब लियोनले बायर्न म्युनिख तथा पिएसजीले जर्मन टोली आरबी लाइप्जिगको सामना गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्