निजामति कर्मचारी र सामाजिक सञ्जाल – Janadesh Daily | ePaper

निजामति कर्मचारी र सामाजिक सञ्जाल


नेपालका युवामा एउटा गीत लोकप्रिय बनेको पाइन्छ– ‘ … खोजी आऊ पहिले सरकारी जागीर ।’ यो पृथ्वीमा सर्वश्रेष्ठ प्राणी मान्छेमा आधारित भएर हेर्दा मान्छे जीवनमा तीन संस्कारको वरिपरि घुम्ने रहेछ । एक जन्म, जो आफन्तको रहर र करको विषय बन्दछ । दुई, विवाह, यही पनि यो गीतले सरकारी नोकरी भएमात्र बिबाह सम्भव छ नभए हुँदै हुन्न भन्नेजस्तो भाव निर्धारण गरेको छ । अर्को हो, मृत्यु संस्कार यो पनि भावी पुस्ताको लागि संस्कार चलाउन केवल स्मरणका लागि हो । यसो भएकाले नेपालमा निजामति सेवा नोकरीका लागि लोकप्रिय र सुरक्षित माध्यम बनेको छ । यसैले गर्दा लोकसेवा आयोगबाट १०० को पदपूर्तिका लागि निवेदन माग हुँदा करिब ६० हजारसम्मकाले आवेदन दिएको पाइन्छ । यो भयो, निजामति सेवाप्रतिको आर्कषणको कुरा ।

यहाँ हाल मौजुदा कर्मचारीले चेतनशील वर्गको नेतृत्व गरिरहेको छ । यस वर्गले मिडियाका विभिन्न रुपलाई चिनेको छ । हिजोका दिनमा मान्छेले आफ्नो सामाजिक सञ्जाल बढाउन ढुङ्गामा लेख्थ्यो, सुचना पाटी राख्थ्यो, भित्ते पत्रिका प्रकाशित गरी टाँस्दथ्यो, कार्यालय स्थापना गरियो भने साइनबोर्ड राख्दथ्यो, त्यो प्रक्रिया बढ्दै गएर हरेक कार्यालयका अगाडि वडापत्र समेत सार्वजनिक गरिएको पाइन्छ । यस पद्धतिलाई मास मिडियाको विकासले पूरै उथलपुथल ल्याएकै छ । समाचारपत्र ( दैनिक, साप्ताहिक, पाक्षिक, छिनछिनमै अपडेट हुने अनलाइन समेत), रेडियो, टिभीबाट पढ्ने, सुन्ने र प्रत्यक्ष अनुभव हुने गरी देख्न पाउँदा मान्छेले कल्पना समेत नगरेको प्रगति हुन गएको छ । आमसञ्चार माध्यमले सम्भ्रान्त तथा हैसियत भएका र उनीहरुको चासोले प्राथमिकता पाएकालाई मात्र स्थान दिने गर्दथ्ये र छन् । यी सबैखाले प्रचारमा वर्ग, क्षेत्र, लिङ्ग र समुदाय तथा प्राज्ञिक चासोमा आधारित रहेको पाइन्छ ।

उहिलेको सामाजिक मिडिया भनेकै बाजागाजा हुन् । ढुङ्गामा लेख्नु हुन्थ्यो । मास मिडियाको विकासले धेरैले पाठक पत्रसम्म लेख्न पाउँदा पहुँच बिस्तार हुँदै गएको थियो । सुचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनबाट नयाँ क्रान्ति नै आयो । आजका दिनसम्म आइपुग्दा, हिजो र आज पनि आमसञ्चार माध्यमले नदिएको अवसर आफै प्रयोग गर्न पाउने आधार सामाजिक सञ्जालको विकासले प्राप्त भएको छ । मानौं, आफ्नो फोटो आम सञ्चारका माध्यममा कहिल्यै प्रकाशित नभएको हुन सक्छ, बोली कहिल्यै प्रशारण नभएको हुन सक्छ, भिडियो प्रशारण नभएको हुन सक्छ तर अहिले सामाजिक सञ्जालका कारण कोही मान्छे सात समुद्र पारी जाँदा उड्न, टान्जिटमा बस्न र पुग्दासमेत २/३ दिन लाग्न सक्छ । तर एउटा फेसबुक आईडीमा लेख्न केही मिनेट लाग्ला तर त्यस सन्देर्श अपडेट भयो र पोष्ट भयो भने एकै सेकेण्डमा विश्वभरका साथीबीच सञ्चार गराउन पुग्दछ । यसखाले सामाजिक सञ्जालभित्र छिर्न साधारण अर्थबोध गर्न सक्ने र केही प्रक्रिया जाने पुग्दछ । यसखाले सामाजिक सञ्जालमा नेपालका निजामति कर्मचारीको पहुँच कति छ होला ? अध्ययनकर्ता भन्छन्, फेसबुक, ट्वीटरको एकाउण्ट नखोलेको कर्मचारी छन् भने अचम्म मान्नुपर्ने हुन्छ ।

बदलिँदो परिवेशमा नेपालको निजामति सेवामा संलग्न कर्मचारीले सामाजिक सञ्जालमा सहभागी हुनु सामान्य कुरा हो । वाईफाई तथा नेटवर्कको पहुँचका आधारमा उनीहरुले नियमित वा कहिलेकाँही हेर्ने गरेको पाइन्छ । यस पंक्तिकारको अध्ययनमा संलग्न निजामति सेवामा रहेका प्रायः कर्मचारीले दिनमा कम्तीमा एकपटक फेसबुक नहेर्दा केही नखाएको जस्तो हुने वा कुनै कर्म छुटाएजस्तो हुने बानी बस्न थालिसकेको बताएका थिए । यस सञ्जालले वास्तवमा पहिलो अन्तरीक्ष यात्री युरी गागरिनले अन्तरीक्षतिर जाँदा सोभियत संघमा समाजवादी र पुँजीवादी सीमा रेखाको बारेमा निकै ठुलो बहस थियो, तर भखर्र बैंस चढेकी गागरिनले अन्तरीक्ष यानमा बसेर ५/६ किलोमिटरमाथि पुग्दा कुनै सीमा रेखा देखेकी थिइनन् । यही सीमारेखाविहीन विश्वलाई एकै गाउँ बनाउन इन्टरनेटले साथ दिएको छ । सामाजिक सञ्जालमा जोड्ने कार्य प्रिय साथी गुगलले गरिरहेको छ ।

सामाजिक मिडियाबारे अन्तर्राष्ट्रिय अभ्यास 

मान्छेहरुले शक्ति केन्द्रका हिसावले आफ्ना विश्लेषणहरु गरिरहेका हुन्छन् । हामीले विगतका दिनहरुको सम्झना गर्दा विश्वमा कहिल्यै घाम नअस्ताउने गरी उपनिवेश चलाइरहेको वेलायतको मानचित्र आँखा अगाडि आउँदछ । जसअनुसार, निजामति सेवाको कोड, सामाजिक मिडियाको मुद्दा, स्वामित्व र आचारसंहिता, जनतासँगको सहकार्य, खुला नीति निर्माण र सेवा प्रवाह तथा थप सल्लाह र निर्देशन दिने कार्य भएको थियो । यस्तै पोष्ट गरिने विषयको साधारण अर्थ, निजामति सेवा कोडको पालना, आशंका, शुद्धता र स्थायित्व जस्ता सवालबाट विशेष महत्व दिइ हेर्ने गरिएको थियो । यसरी बेलायतमा सामाजिक मिडियामा सरकारी स्तरबाट नियमन भएको थियो ।

यस विषयमा एकजना लेखकले निजामति सेवामा रहेकाहरुले सामाजिक मिडिया प्रयोग गर्दा फाइदा हुने र उक्त माध्यम प्रयोग गर्नेपर्ने सात कारण उल्लेख गरेका छन् । उनका अनुसार यो सजिलै सुरु गर्न पाइन्छ । यो तत्कालीन माध्यम हो । आफ्ना दर्शकबीच सहजै पुग्न सकिन्छ । यसले सोपानक्रम हेरेर बस्ने सीमामा क्रमभंगता ल्याउँछ । आसपासको घटनालाई गुन्जयमान गराइदिन्छ । यो सबै प्रकारका सुचना प्राप्त गर्ने बाटो बन्दछ । यो आफैमा हृदयस्पन्दनको आधार पनि हो । यसो भएकाले जनताका नोकरहरुले सामाजिक मिडियामा आफ्नो पकड राख्न आवश्यक छ भन्ने दाबी उनको रहेको पाइन्छ । किनकि यसखाले धारणामा आफ्नो कार्यालयका माथिल्ला अधिकारी र सेवाग्राही तथा सरकारी नियम कानुनबारे जनमत बुझ्ने तथा परिस्थितिको आँकलन गर्ने सजिलो माध्यम भनेकै सामाजिक सञ्जालमा पहुँच रहेपछि हुन्छ मान्यता राखेको पाइन्छ ।

सामाजिक मिडियाको प्रभाव

सामाजिक मिडियाका गुणहरु यस्ता छन्, जसले प्रयोगकर्तालाई विश्वको जुन कुनामा भएपनि नजिकै ल्याउने कार्य गरिरहेको छ । विश्वलाई एकै गाउँका बासिन्दाजस्तै बनाउने कार्य यसैबाट सहज भएको हो । जोडेको, कुराकानी, सहयोग र सिर्जना गरेको छ । इन्टरनेटका माध्यमबाट स्थानीय, राष्ट्रिय र विश्वस्तरमा एकैचोटी सहकार्य गर्न पाइएको छ । यो राजनीतिशास्त्र र समाजशास्त्रको मान्यताअनुसार खेल सिद्धान्तको प्रयोग गरी सञ्चार सिद्धान्तको परिकल्पना गरिएको हो । यहाँ कार्यालय व्यवस्थापनको सन्र्दभमा जनसेवा दिन र संस्थागत रुपमा नागरिक प्रशासन अपडेट गर्नका लागि सामाजिक मिडियाको उपादेयता बढ्दै गएको छ ।

आजकाल निजामति सेवामा काम गर्न सजिलो हुने आधार एकातिर कार्यालयको बडापत्र हुन्छ । सेवाग्राहीको स्तरलाई ख्याल गरी सहायता डेस्कको ब्यवस्था पनि गरिएको हुन्छ । अझ यसमा हरेक कार्यालयमा सुचना अधिकारी तोकिने व्यवस्था गरिएको हुन्छ । यस्ता सुचना अधिकारीलाई आफ्नो कार्यालयबारे आएका ताजा सुचना अपडेटहरु गर्दै तुरुन्तै भन्नपर्ने, वा नीतिगत निर्णय लिनपर्ने, वा समेट्न नसकिएका विषयहरुलाई समेट्ने मौकाको रुपमा उपयोग गर्ने सजिलो आधार सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबाट प्राप्त हुन सक्छ । फेसबुक चलाइन्छ भने त्यहाँ लेखिने एउटा स्टाटसले आफुसँग जोडिएका करिब ५००० जनासम्म एकैचोटी सम्बन्ध राख्न सक्नु चानचुने सम्पर्क होइन नि !

यसैले नेपाल सरकारले चौधौ योजनाको आधारपत्र निर्माण गर्दा मुलुकलाई अल्पविकसित मुलुकबाट स्तरोन्नती गरी विकासशील राष्ट्रको पंक्तिमा उभ्याउन सुचना र सञ्चारको महत्वलाई हृदयगम गरी यस क्षेत्रको विकासमा जोड दिनु परेको छ भन्ने सन्दर्भ उल्लेख गरेको पाइन्छ । आजसम्म टेलिफोनको घनत्व ११०.२५ प्रतिशत, इन्टरनेट ग्राहक घनत्व ४६ प्रतिशत र रेडियोको राष्ट्रिय प्रशारणमा पहुँच ८८ प्रतिशत पुगेको छ (चौधौ योजनाको आधारपत्र, २०७३, पृ. १५३) । भूमण्डलीकरणको मूलप्रवाहमा समाहित हुन सुचना, सञ्चार र प्रविधिको पूर्वाधारलाई विकास र बिस्तार गर्दै जानपर्ने हुन्छ । नेपालको संविधानले सुचनाको हकलाई पनि मौलिक हकका रुपमा संरक्षण र सम्बद्र्धन गरेको अवस्था छ । यस अवस्थामा जिम्मेवार निजामति प्रशासनले सामाजिक मिडियाको उपयोग गर्न जान्दा विभिन्न कोणबाट फाइदा उठाउन सक्ने देखिन्छ । तर प्रयोगकर्ताको चासो र सेवाग्राहीलाई पनि प्रभावित पार्ने गरी भएको अभ्यासले गर्दा सिंहदरवारभित्रका डेस्कटपमा फेसबुक नखुल्ने बनाइएको छ । सिंहदरवार बाहिरका कार्यालयमा कार्यालय प्रमुख र सेवाग्राहीको चापका आधारमा सामाजिक मिडिया उपयोग हुने र नहुने गरेको पाइएको छ । यो सञ्चालन गर्न पाउनु पर्छ र पर्दैन भन्ने बहस गर्नुभन्दा सेवाग्राहीलाई असर नपारी सही तरिकाले प्रयोग गर्दा हुन्छ भन्ने तर्फ धेरैजसो केन्द्रित हुन थालेको देखिन्छ ।

सामाजिक मिडिया शक्तिशाली बन्नु र उपयोगी मानिनुका कारण हुन्ः यसको प्रयोगले आफ्नो सर्कललाई आफु वरिपरि केन्द्रित गराउँछ । हरेक विचार सही समयमा प्रवाह हुन्छ । यसमा प्राप्त हुने विविधताले ह्याङ हुन दिंदैन । सन्देश सजिलै पठाउन मिल्दछ । आफुले चाहेको तस्वीर अपलोड गर्न सकिन्छ । आफ्ना भावना बाँड्न कुनै आइतवार कुर्न पर्दैन । मन परेकालाई आफ्नो स्टाटस वा तस्वीर ट्याग गर्न सकिन्छ । यस्तै आफ्नो प्रोफाइल बनाउन र सम्पादन गर्न सजिलै मिल्दछ ।

प्रयोगकर्ताको अभ्यास

 सामाजिक मिडिया जुन देशका अगुवा प्रयोगकर्ताले जे सञ्चालनमा ल्याउँछन्, त्यसका आधारमा सम्पर्क बढाउनाले त्यसै मिडिया लोकप्रिय हुने गरेको देखिएको छ ।
योखाले विवरण छिनछिनमै फेरवदल आइरहेको हुन्छ । विश्वमा सामाजिक सञ्जालमा जोडिनेको संख्या दिन दुगुणा रात चौगुणाका दरले बढिरहेको पाइन्छ । यसको प्रयोग आफ्नो इच्छा र आकांक्षामा भर पर्दछ । यो सामाजिक आवश्यकताका रुपमा पनि दर्ज भइसकेको छ ।

खोजी मेसिन 

जसरी सामाजिक मिडियाले एउटा सेरोफेरो निर्माण गर्दछ, त्यसको सहयोगी बनेर खोजी मेसिनका रुपमा विश्वभर केही वेवसाइट लोकप्रिय बनेका छन् । यसखाले मिडियाले नेटवर्किङ गर्ने, प्रत्यक्ष च्याट गर्न सकिने, भिडियो च्याट पनि हुने, तस्वीर तथा भिडियो राख्न सकिने, समाचार र सुचनाको स्रोतसमेत हुने तथा प्रयोगकर्ताको सामाजिक परिचयसमेत निर्माण गरिरहेको हुन्छ । सामाजिक मिडियामा छाउनेको प्रवृत्तिगत रुपमा तीन तहमा देखा पर्दछ ।

१. सुचना लिन 

विभिन्न अध्ययनले नेपालमा पनि सुचनाको भोक र तिर्खा लाग्ने मान्छेको संख्या ह्वात्तै बढेको देखाएको छ । आम सञ्चारका साधनबाट नआएका ब्यक्तिगत धारणाहरु पनि फेसबुक, ट्वीट आदिमा हेर्न र देख्न पाइने भएकाले सुचना लिनका लागि सामाजिक सञ्जालमा सहभागीता जनाउनेको संख्या बढ्दो छ । सूचना अधिकारीहरुको अनुमानमा यसखाले मान्छेहरु करिब ३८ प्रतिशत नेपालमै छन् ।

२. मनोरञ्जन गर्न 

स्रोत र पहुँच भएकालाई मनोरञ्जनका साधन नपाएर हैरान हुन्छन् । कतिपयलाई मनोरञ्जन गर्ने समय नपाएर हैरान छन् । अर्कोतिर अधिकांशलाई मनोरञ्जनका लागि छुट्टै समय मिलाउन गाह्रो पर्ने गरेको छ । खर्चको जोहो गर्न पनि महंगो हुने हुनाले समय कटाउनका लागि यस्ता सामाजिक सञ्जाल आर्कषणका केन्द्र बन्न गएका छन् । बाख्रा बाख्रातिर र भेडा भेडातिर भनेझैं उमेर, रुची र विषयगत समुहको भेटघाट जम्दैजाँदा संगै बसेको साथीसँगभन्दा टाढा भएपनि सामाजिक नेटवर्किङले गर्दा नजिकै रहेर कुराकानी गरिरहेका हुन्छन् । एक अध्ययनले यस प्रवृत्तिका मान्छे करिब ६२ प्रतिशत भएको देखा परेको छ । यो अध्ययन ११४ जना निजामति कर्मचारीको बीचमा गरिएको सर्बेका आधारमा उल्लेख गरिएको हो ।

३. आफ्नो पहुँच बढाउन 

सामाजिक सञ्जालमा प्रवेश गर्नुको मतलव आफ्नो पहुँच बिस्तार गर्नु पनि हो । धेरै प्रयोगकर्ताले मेरा यति साथी छन्, यस्ता छन्, उस्ता छन् भनी विभिन्न खालको बहस चलाइरहेको पाइन्छ । तथ्यले आमसञ्चारका साधन पत्रपत्रिका, रेडियो, टीभी, अनलाइनले समाजका ५ प्रतिशत सम्भ्रान्त वर्गलाई मात्र सम्बोधन गराएको अवस्थामा सामाजिक सञ्जालले ९५ प्रतिशतको पहुँच बढाउन सहयोग गरेको छ भन्ने मान्यता राखिएको पाइन्छ । यसै सम्पर्कका आधारमा आज कोही केही क्षणमै निकै राम्रो काम हात पार्न सफल भएका पनि देखिएका छन् ।

नेपालका केही सरकारी कार्यालयका प्रमुख अधिकारी नयाँ सुचना र प्रविधिप्रति अनभिज्ञ हुनाले यसको नकारात्मक पक्षको मात्र उठान गरेर कार्यालयमा रोक लगाएको पाइन्छ भने सुचना र प्रविधिको विकासमा अपडेट हुने सेवाग्राहीलाई प्रभावित नपारी प्रयोगमा ल्याउन पर्नेमा जोड दिएको पाइन्छ । यसलाई दुई तरिकाले हेर्न सकिन्छ :

अ)  सकारात्मक

सरकारी अधिकारीहरु कहिलेकाँही केही कुराको बारेमा जनमत कस्तो रहेछ र यसमा अघि बढ्न ठीक होला कि नहोला भनेर बुझ्न चाहेमा सुचना चुहाउने गर्दछन् । यसबाट विभिन्न प्रकारका दृष्टिकोणले सकारात्मक निर्णय लिन सजिलो पर्न सक्छ । समाजको लागि होस् या पूर्वाधार विकासका लागि होस्, सकारात्मक सोच आवश्यक पर्ने गर्दछ ।

तर विडम्बनाको कुरा के छ भने एक सामाजिक अध्ययनले आम सञ्चार माध्यम होस् वा सामाजिक सञ्जाल, त्यसमा देखा पर्ने १७ प्रतिशत सामाग्री मात्र सकारात्मक लाग्ने विषयवस्तु प्रस्तुत भएको देखिन्छ । यस कुरालाई विश्वास मान्ने हो भने संसारमा सकारात्मक सन्देश प्रवाह गर्ने ब्यक्तिहरु एकदम थोरै छन् । यसमा हामीले अपिल गर्न जरुरी छ कि मान्छे बाँच्ने र मान्छेले विकास गर्ने भनेको आशा र विश्वास जगाउने कार्यले हो । के हामी हाम्रा हरेक कार्य यस्तो कार्यमा उद्धत गरिरहेका छौ ? सोचौँ ।

आ) नकारात्मक 

‘जाने श्रीखण्ड नजाने खुर्पाको बिड’ भनेझैं सामाजिक सञ्जालमा पोष्ट गर्दा एकैछिनमा हाइहाई पनि कमाउन सकिन्छ, त्यसैगरी एकैछिनमा जिउँदै मर्नपर्ने स्थिति पनि आउँछ । हरेक मान्छेको प्रस्तुति आफैमा उसको जीवनशैली हो । एकछिनको हडबढ तथा हुस्सुपनले जिन्दगीभरको पछुतो पनि ल्याउन सक्छ । हरेक नागरिकले सामाजिक मिडियामा हात हाल्दा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने विधि अबलम्बन गर्न हुदैन । यसअघिको बुँदामा चर्चा गरेझै यदि मान्छे मिडियामा ८३ प्रतिशत धारणा नकारात्मक रुपमा फैलाइरहेका छन् भने यसको परिणाम समाजमा झगडा, लडाइँको प्रवृत्ति बढिरहेको छ भन्ने देखाउँछ । यस्ता कुराले समाजमा बेथिति निर्माण गर्ने, निराशा बाँड्ने भएकाले हरेक निजामति सेवामा रहेका अधिकारीले म एक जनाका कारण कति जना प्रभावित हुँदैछन् भनी विचार पुर्‍याउनु पर्दछ ।

भारतमा सन् २०१२ मा २४,९२३ वटा बलात्कारका घटना भएका थिए, तर नयाँ दिल्लीमा भएको दामिनी काण्डले मात्रै ब्यापक चर्चा र बहस जनमाएको थियो । नेपालका पनि यस्तै कयौ घटना घटेका हुन्छन् । तर त्यसमा केही त्यस्ता कुरा सामाजिक सञ्जालमा भाइरल बन्न पुग्दछ । गलत प्रस्तुति, नकरात्मक सोच र हावादारी शैलीले मान्छे समाजमा एकैछिनमा गिर्न सक्छ । घटना सामान्य भएपनि दुःखदायी परिणाम ल्याउन पुग्दछ । यतातर्फ नियमन गर्न पनि हरेक निजामति कर्मचारी जिम्मेवार हुन पर्ने भएकाले विश्वका बदलिँदा प्रवृत्तिको लेखाजोखा गर्न आवश्यक छ । यसैले नकारात्मक कुराबाट बचाउन सरकारी संस्कार बस्न सक्यो भने सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यमका रुपमा सामाजिक मिडिया निकै उपयोगी साबित हुनेछ ।

निष्कर्ष

उहिलेका पुर्खा तथा हाम्रा ऋषिमुनीले तारा, डाँडा, सूर्य हेरेर, भौगोलिक रुपमा लामो अध्ययनपश्चात् निष्कर्ष निकाल्दथे । पछिल्लो नेपाल बिस्तार गर्दा पृथ्वीनारायण शाह तथा पश्चिमा जगतको अनुभव लिन जाँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई यो सुविधा प्राप्त थिएन । तर समकालीन विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ । समाजमा इन्टरनेट हाबी भएको छ । डिजिटल प्रविधिले गर्दा हामी सबै प्रभावित हुन पुगेका छौं । यसैले ई–सरकार, ई–व्यापार, ई–बैंकिङ सेवा लोकप्रिय हुन पुगेका छन् । हाम्रा काम, संस्कृति तथा सेवा यसै प्रविधिबाट प्रभावित हुने गरेका छन् । अहिले हरेकको घर तथा बस्तीसम्म कम्प्युटर प्रणाली जोडिन पुगेको छ । त्यसमा इन्टरनेटको पहुँच पुग्न सक्यो भने सात समुद्र पारीका देश पनि नजिकै भएको आभाष मिल्दछ ।

हरेक मिडियाले आफैमा आगोजस्तै पोल्ने, पानीजस्तै सफा गर्ने र तिर्खा मेटाउने कार्य गरिरहेका हुन्छन् भने बतासजस्तै सबैतिर फैलिइरहेको हुन्छ । समाजमा विभिन्न प्रकारका मान्छे रहने भएकाले एउटै घटनाका भिन्न प्रस्तुतिका कारण समाचार भिन्नभिन्नै रुपमा प्रस्तुत भएका देखिन्छन् । यसले गर्दा एउटा अखबार पढेर मात्र नपुग्ने स्थिति आएको छ । यसो भए सत्य खोज्न के उपाय निकाल्ने ? भनी हेर्दा जसरी देशको विकासको लागि पहिलो कुरा राज्यले हेर्दथ्यो, राज्यको मनोमानी वा उसको अपुगतामा निजी क्षेत्रले मौका पायो । राज्य र निजी क्षेत्रले पनि भनेजस्तो विकास र सेवा दिन नसक्दा गैरसरकारी संस्थाको उदय भएझै आमसञ्चारका माध्यमभित्रका मिसन र ब्यवसायिकताले मनोमानी गरिरहेका बेला फेसबुक जस्ता सामाजिक मिडियाको आगमनले सत्य कुरा सार्वजनिक गर्न सहज भएको छ ।

सुचना, सञ्चार तथा प्रविधिको विकासले हरेक क्षेत्र पारदर्शी हुन थालेको छ । ई–सरकार पनि यही पारदर्शिताको एक जिम्मेवार कार्य हो । नेपाल सरकारले २०७६ सम्ममा टेलिफोनको घनत्व ११७ प्रतिशत, इन्टरनेटको घनत्व ६५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । नेपाल र नेपालीलाई इन्टरनेट सेवा आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने आधार बनोस् भन्ने हेतुले भरपर्दो र गुणस्तरीय बनाउन जरुरी छ । नकारात्मक धारणा, साइवर अपराध र वेव साइडका ह्याकरबाट बचाउन तथा साइवर कानुन समाजअनुसार लागु गर्न आवश्यक छ । बदलिदो समयमा हामी स्थलगत सडक जामजस्तै आकाशमा पनि जाम देखा पर्न थालेको छ । जमीनमा घर घडरी खोजेजस्तै विकसित राष्ट्रहरु स्याटलाइट प्रक्षेपण गरी अन्तरिक्षको समेत भागवण्डा गर्न लागिरहेका छन् । यस्तो समयमा प्राप्त साइड जीवन र जगतको लागि उपयोगी काम गर्ने अवसरका रुपमा उपायोग गर्न अधिकतम प्रयास हुनपर्छ ।

स्थानीय तहको निर्वाचन भएपछि देश संघीयताको कार्यान्वयनमा छ । विभिन्न कार्य प्रणाली हेर्दा निजामति प्रशासनमा एउटा भूकम्प नै गएको देखिन्छ । केन्द्रिकृत शासनमा जमेका कर्मचारी पहिलो पटक सिंहदरवारको अधिकार गाउँपालिकासम्म पुगेकाले अलमल गरिरहेका छन् । अहिलेसम्म हामीलाई दाताले हुन् वा हामी आफै पनि अधिकार माग्न मात्र केन्द्रित छौं तर आफ्नो दायित्व बोध गर्न सकेका छैनौ । अधिकार मागेजस्तै कतब्र्य निर्वाह गर्ने कुरामा विशेष ध्यान दिन सक्नु नै जिम्मेवार जनसेवकले निर्वाह गर्नपर्ने हुन्छ । राज्य हरेक नागरिकको अभिभावक हो, त्यही अभिभावकको प्रतिनिधि भएर नियमनकारी भूमिका निर्वाह गर्ने निजामति सेवामा रहेका कर्मचारीले सुचना र सञ्चार प्रविधिले ल्याएको साम्यवादी अवसरलाई सही रुपमा उपयोग गर्न सकेको खण्डमा आफ्नो कार्यालयको व्यवस्थापन मात्र होइन, सम्भावित द्वन्द्वको समेत व्यवस्थापन हुने र यसै आधारमा सामाजिक परिवर्तनको युग निर्माण हुन सम्भव छ । धन्यवाद ।

# लेखकः कर्णालीमा प्रदेश योजना आयोग का सदस्य हुनुहुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्