सन्दीप लामिछानेले आजदेखि सिपिएल खेल्ने – Janadesh Daily | ePaper

सन्दीप लामिछानेले आजदेखि सिपिएल खेल्ने


काठमाडौँ,

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उहाँले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो जानुभएको हो । नियमित उडान बन्द गरिएको अवस्थामा उहाँ कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो जानु भएको थियो । यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराउनुभएको थियो । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उहाँले यसअघि दुई पटक सिपिएल खेलिसक्नुभएको छ । सिपिएल भदौ २५ गतेसम्म चल्ने छ ।

सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सिपिएलमा कूल ३३ खेल हुने छन् ।

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्