कालजेयी स्रष्टा राष्ट्रकवि माधवप्रसाद घिमिरे – Janadesh Daily | ePaper

कालजेयी स्रष्टा राष्ट्रकवि माधवप्रसाद घिमिरे


जनादेश, काठमाडौं ।

वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुनु गाउँमा जन्मेका नेपाली साहित्य आकाशमा धरोहर राष्ट्रकवि माधवप्रसाद घिमिरेको सानैदेखि साहित्य सिर्जनामा अदभूत रुची थियो । सधैं नयाँ नयाँ सिर्जनाको खोजीमा रहने उनका लागि साहित्य विधा कर्मको मुलथलो बन्यो । त्यसैले उनलाई सफलताको चुलीमा पुर्यायो पनि ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीको विकास र बिस्तार गर्दै उनले नेपालको साहित्यिक फाँट हराभरा बनाए । नेपाली साहित्य भण्डार भरिपूर्ण पार्नुमा उनको योगदान अविष्मरणीय रहेको छ ।

डाँडापाखा गुञ्जने गीतका सर्जक उनी कविमात्र नभएर गीतकार पनि हुन् । उनका गीतहरुले नेपाली समाजमा नेपाली मौलिकता, नेपालीपन र मिठास भरेकाका छन् ।

बाल्यावस्थादेखि निरन्तर नेपाली साहित्यको सेवमा समर्पित घिमिरे आफैमा बहुआयामिक प्रतिभाका धनी पनि हुन् । कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धजस्ता अनेकौं विधा तथा उपविधामा उनले सफलतापूर्वक निरन्तर कलम चलाउदै आए । जो आज समग्र नेपालीका लागि असीम प्रेरणा बनेर रहका छन् । उनको योगदान हाम्रालागि मार्ग दर्शक बनेका छन् ।

कृत्रिमता भन्दा पनि प्रकृतिको काँख नै उर्जा, सिर्जना र जन्मको आधार मान्ने कवी घिमिरेले आफू र आफ्ना कृतिलाई प्रकृतिको आलिंगनबाट कहिल्यै पनि अलग्याएनन् । बरु विविध विधाहरलाई प्रकृतिमय बनाए र आफ्ना रचनामा जीवन्तता दिए । यसै कारण पनि उनका लेखाइ दीर्घसाधनाले भरिपूर्ण छन्। १४ वर्षको बाल्य उमेरमा नै उनले ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरेले वि.सं. २००५ सालमा गोरखापत्रमै सहसम्पादक समेत रहेर काम गरे ।

बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदमा नियुक्त भए । २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहे । २००८ मा जन्मथलो फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा योगदान गरे ।

उनका राष्ट्रिय गीतहरुमा गाउँछ गीत नेपाली, फूलको थुङ्गा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता गीत कालजेयी छन् । पछि वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य, आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म योगदान गरे ।

घिमिरेकी जीवनसंगिनी गौरी घिमिरेको वि.सं. २००४ सालमा निधनभएपछि शोकविह्वल कविले उनको सम्झनामा गौरी शोककाव्यको रचना गरे । यो निकै चर्चित छ । मालती मङ्गले, हिमालपारि हिमालवारिजस्ता गीतिनाटक, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नरकिन्नरी, गीतसङ्ग्रह, चारु चर्चा, निबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत निबन्धजस्ता थुप्रै चर्चित कृतिको रचना गरे ।

राष्ट्रकविबाट सम्मानित घिमिरेले वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार, वि।स।२०७५ मा महा उज्ज्वल पदक प्राप्त गरेका थिए । उनलाई दुईपटक साझा पुरस्कारसमेत प्रदान गरिएको थियो । २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौं, लैनचौरस्थित आफ्नै निवासमा १०१ वर्षको उमेरमा उनको देहान्त भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्