सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन – Janadesh Daily | ePaper

सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन


काठमाडौँ:

सरकारले कोरोना भाइरस (कोभिड १९)को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।

निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले कोभिड १९ को सङ्क्रमणको जोखिम बढ्दै गएकोले बन्दाबन्दीको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर दिवसमा सम्भव हुने मात्र कार्यक्रम संचालन गर्न तीनै तहलाई निर्देशन दिएको हो ।

बैठकले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली घोषणा गर्नका लागि सवै सरकारी निकायमा कार्यरत कर्मचारीलाई समेटिने गरी १५ दिनको सूचना सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ । निजामती सेवा ऐन जारी गरेको सम्झनामा २०६१ सालबाट हरेक वर्ष भदौ २२ गते दिवस मनाउने गरिन्छ ।

बैठकले दिवसकै अवसरमा गोरखापत्र दैनिकमा निजामती सेवा विशेषाङ्क प्रकाशन गर्ने, आवश्यक श्रव्यदृश्य, पम्प्लेट आदि सन्देशमूलक सामाग्री तयारी गरी प्रचारप्रसार गर्न तथा रेडियो नेपाल र नेपाल टेलिभिजनमा निजामती सेवा सम्बन्धी विषयमा छलफल कार्यक्रम सञ्चालन गर्न सञ्चार मन्त्रालयलाई दिइने निर्णय गरेको छ ।

यस्तै दिवसकै अवसरमा सो सेवाप्रतिको जनअपेक्षा विषयक खुला निवन्ध प्रतियोगिता आयोजना गर्ने, कर्मचारीको आधिकारिक ट्रेड यूनियन लगायत सरोकारवाला संघसंस्थालाई स्वास्थ्यको मापदण्ड अवलम्बन गरी रचनात्मक कार्यक्रम गर्न अनुरोध समेत गरेको छ ।

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति गठन गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्