सीपीएलमा सन्दीपको तेस्रो खेल आज राति – Janadesh Daily | ePaper

सीपीएलमा सन्दीपको तेस्रो खेल आज राति


जनादेश, काठमाण्डौ:

क्यारेवियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेको आज राति आफ्नो तेस्रो खेल खेल्दै हुनुहुन्छ । सन्दीपको टोली जमैका तलावाजले आज राति १२ बजे गुयाना अमेजन वारियर्सविरुद्ध खेल्दै छ ।

सन्दीपले सीपीएलमा हालसम्म खेलेका दुई खेलमा दुई विकेट लिनुभएको छ । उहाँले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिनुभएको थियो ।

यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिनुभएको थियो ।

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ विकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल ७ विकेटले गुमाएको थियो ।

ट्रिनबागो दुवै खेल जितेर हालसम्म शीर्ष स्थानमा रहेको छ । दुई खेलमा एउटामा जित तथा एउटामा हारका साथ गुयाना दोस्रो स्थानमा छ । यस्तै दुई खेलमा एकमा जित र एउटामा हारका साथ जमैका चौथो स्थानमा छ । रनरेट कमजोर हुँदा जमैका चौथो स्थानमा झरेको हो ।

गुयाना पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्सलाई ३ विकेटले हराएको थियो । सन्दीप तेस्रो पटक सिपिएल खेल्दैछन्।

उनले यस अघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्