बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि – Janadesh Daily | ePaper

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि


एजेन्सी ।

जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्न छैटौं पटक उपाधि जित्न सफल भएको हो ।

लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो । पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन । दोस्रो हाफमा बायर्नले आक्रमणमा केहि बढावा दिँदै गोल निकाल्न सफल भयो ।

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो । बायर्नले त्यसपछि केहि दबाब सिर्जना गरेपनि पीएसजीको डिफेन्सले त्यसलाई विफल पार्यो ।

दशौं मिनेटमा पीएसजीका थिलो केहररको क्रसलाई बोटेङले क्लियर गर्दै खतरा टारे । लगत्तै छोटो कर्नर लिएको पीएसजीले गोलरक्षक नोएरलाई समस्या दिन सकेन । १४ औं मिनेटमा बर्नाटको पासमा पेनाल्टी क्षेत्रभित्र किलियन एमबाप्पेको प्रहारलाई लिओन गोरेट्जकाले छेके । लगत्तै एमबाप्पेकै प्रयासलाई जोशुवा किम्मिचले गोलरक्षकसम्म पुग्न दिएनन् ।

१८ औं मिनेटमा गोलरक्षक नोएरले लगातार दुई बचाउ गरेपछि पीएसजी अग्रता लिनबाट बन्चित भयो । एमबाप्पेको पासमा ६ यार्ड बक्स नजिकबाट नेयमारको पहिलो प्रहारलाई रोकेका नोएरले त्यसकै रिबाउन्डमा नेयमारले दिएको कटब्याकलाई छेक्दै कर्नर बनाए ।

२२ औं मिनेटमा बायर्न पनि अग्रता लिनबाट चुक्यो । लेवान्डोस्कीले पेनाल्टी क्षेत्रभित्र टर्नमा गरेको फितलो प्रहारमा गोलरक्षक नाभास बिट भएपनि बल पोस्टमा लाग्दै फर्कियो । त्यसको एक मिनेट नबित्दै पीएसजीले काउन्टर अट्याकमा बढाएको मुभमा डी मारियाले गोल गर्न सकेनन् । एमबाप्पे र नेयमारले अगाडि बढाएको मुभमा डी मारियाको अन्तिम प्रहार आकासियो ।

सेन्टर डिफेन्डर जेरोम बोटेङले चोट बोकेपछि २५ औं मिनेटमा नै बायर्नले निकलास सुललाई मैदान प्रवेश गराएको थियो । २९ औं मिनेटमा नेयमारको फ्रिकिकमा क्लियर भएको बललाई आन्दर हरेराले पेनाल्टी क्षेत्र बाहिरबाट भली प्रहार गरेपनि बल डिफ्लेक्ट हुँदै बाहिरियो । ३१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको शक्तिशाली हेडरलाई गोलरक्षक नाभासले दोस्रो प्रयासमा सफल बचाउ गरे ।

निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा प्रेस्नेल किम्पेम्बेले मुलरविरुद्ध पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै कुनै खतरा बढ्न दिएनन् । अन्तिम मिनेटमा एमबाप्पेले सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा पीएसजीले अग्रता लिन सकेन । अनमार्क रहेका एमबाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो ।

लगत्तै अर्कोतर्फ जिनाब्रीको प्रहारलाई नाभासले बचाउ गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयमा बायर्नले कोमानविरुद्ध फल भएको भन्दै पेनाल्टीको माग गरेपनि रेफ्रीले त्यस निर्णय दिएनन् ।

दोस्रो हाफको सुरुवातमै सर्ज जिनाब्रीले एक मिनेटको अन्तरमा नेयमारमाथि दुई पटक फाउल गरेपछि रेफ्रीले दोस्रो फाउलमा भने पहेंलो कार्ड देखाए । उक्त फाउलपछि जिनाब्रीमाथि झम्टिएका पारेडेसले पनि पहेंलो कार्ड पाए । त्यसको तीन मिनेटमा नै निकलस सुलले पनि डी मारियालाई मैदानको बीच भागमा लडाएपछि पहेंलो कार्ड पाए ।

खेलको ५९ औं मिनेटमा बायर्नले किंग्सले कोमानको गोलमा अग्रता लियो । पीएसजीका पूर्व खेलाडी कोमानले हेडरमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाए । जोशुवा किम्मिचको क्रसमा कोमानले ६ यार्ड बक्सको ठिक बाहिर अनमार्क रहेको अवस्थामा नाभासलाई बिट गरे ।

लगत्तै कोमानले नै बायर्नको अग्रता दोब्बर पार्ने अवसर पाए । ६ यार्ड बक्स भित्रबाट कोमानले गरेको प्रहारमा गोलरक्षक नाभास बिट भएपनि कप्तान थियागो सिल्भाले गोललाइनमा बल क्लियर गर्दै खेल १-० कै स्थितिमा कायम राखे । ६६ औं मिनेटमा डेविड अलाबाले ३५ यार्ड टाढाबाट गरेको प्रहार अकासियो । अर्कोतर्फ एन्जल डी मारियाको क्रस एमबाप्पेले छुन नसक्दा बल सिधै नोएरको हातमा पुग्यो ।

खेलको ७० औं मिनेटमा नोएरले अर्को उत्कृष्ट बचाउ गर्दै बायर्नको अग्रता कायम राखे । डी मारियाले अलाबालाई नटमेग गर्दै दिएको लो क्रसमा मार्किन्हसको प्रहारलाई नोएरले खुट्टाले छेके । ७४ औं मिनेटमा नेयमारको प्रहार पोस्टभन्दा बाहिर गयो ।

८३ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्कीले मध्य भागबाट दुई डिफेन्डरलाई बिट गर्दै बल अगाडी बढाएपनि कप्तान सिल्भाले उनलाई लडाउँदै पहेंलो कार्ड प्राप्त गरे । प्राप्त फ्रिकिकमा कोउटिन्होको प्रहारले गोलरक्षक नाभासलाई कुनै समस्या दिएन । ८८ औं मिनेटमा एमबाप्पेको लामो क्रसलाई वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका चुप मोटिङले भेट्न सकेनन् ।

९० औं मिनेटमा एमबाप्पेको प्रहारलाई नोएरले विफल पारेपनि रेफ्रीले पछि एमबाप्पे अफसाइड रहेको निर्णय दिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा एमबाप्पेले अगाडि बढाएको मुभमा नेयमारको अन्तिम पासलाई चुपो मोटिङले ६ यार्ड बक्सभित्र छुन नसक्दा बायर्नको अग्रता कायम रहयो ।

यस जितसँगै बायर्नले छैटौं पटक च्याम्पियन्स लिग उपाधि हासिल गर्यो । यता पहिलो पटक फाइनल पुगेको पीएसजी भने उपाधिबाट बन्चित हुन पुग्यो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्