जनादेश अपडेट ।
सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज (बुधबार)देखि वार्ता हुने भएको छ।
सरकारसँग वार्ता गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको वार्ता टोली मंगलबार साँझ काठमाडौं आइपुगेको थियो । सोमबार बुटवलबाट हिँडेको टोली मंगलबार साँझ काठमाडौं आइपुगेको हो । विप्लवको वार्ता टोलीमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।
मंगलबार सरकार र विप्लवको तर्फबाट बनेका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी गरिए पनि विप्लव पक्षले केही सर्त राखेपछि समय सरेको हो ।
वार्ताको समन्वय गरिरहेका विप्लव नेकपाका एक नेताले जनादेशलाई दिएको जानकारीअनुसार आफूहरूले पहिला पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता/कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिजो वार्ता हुन नसकेको हो। तर सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको उनले बताए ।
प्रतिबन्धदेखि वार्तासम्म
सहमति अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फिर्ता लिइनेछ। सरकारले २८ फागुन २०७५ मा मन्त्रिपरिषद् बैठक बसेर नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
त्यसपछि सरकारी पक्षबाट आमसभा, कार्यक्रम, भेला, प्रशिक्षणलगायतमा प्रतिबन्धसँगै नेता कार्यकर्ता पक्राउ गर्न सुरु भएको थियो। प्रतिबन्ध लगाएदेखि गत फागुन १० गतेसम्म २ हजार ९८ जना नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ।
यसरी पक्राउ पर्नेमा पूर्णकालिन कार्यकर्तादेखि केन्द्रीय सचिवालय सदस्यसम्म छन्। प्रतिबन्ध लगाएको करिब दुई वर्षपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्ने औपचारिक घोषणा गरेको छ। दुई वर्षका अनेक घुम्ती पार गरेपछि सरकार र ‘विप्लव’ पक्ष वार्ताको टेबलमा बस्न तयार भएका हुन्।
सरकारले ‘विप्लव’ नेतृत्वको नेकपा चन्दा आतंकसँगै बम बिस्फोट लगायतका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसअघि ‘विप्लव’ नेतृत्वको नेकपादेखि तराईमा पृथकतावादी गतिविधि गरिरहेका सिके राउतसम्मलाई वार्तामा ल्याउन भन्दै २०७५ भदौ ८ गते सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। त्यसक्रममा उनीहरुले वार्ताको चासो नदेखाएपछि पाण्डेले तराईदेखि पहाडसम्मका विभिन्न ४२ समूहलाई मात्र शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए।
पाण्डेले प्रयास गरेपनि ‘विप्लव’देखि सिके राउतसम्मलाई वार्तामा ल्याउन नसकेपछि मंसिर ९ गते वार्ता टोलीको म्याद सकिएको थियो। त्यसको तीन महिनापछि फागुन २४ गते सिके राउतले पृथकतावादी गतिविधि छाडेर मूलधारको शान्तिपूर्ण राजनीति गर्ने घोषणा गरेका थिए।
यहीबेला ‘विप्लव’ वार्तामा बस्ने निष्कर्शमा किन पुगे त? सरकारले नेता र कार्यकर्तामाथि निरन्तर पक्राउ र धरपकड गरेर गतिविधि खुम्च्याएपछि यो समूह वार्तामा आउन बाध्य भएको बताइन्छ। त्यसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विकसित पछिल्ला घटनाक्रमले बल पुर्याएको देखिन्छ।
बादल र विप्लवको पृष्ठभूमि
सरकारी वार्ता टोलीका संयोजक, गृहमन्त्री बादल तथा विप्लबबीच अचम्मको साइनो छ। १० वर्षे युद्दका बेला उनीहरु सारथी मात्र थिएनन्, शान्तिपूर्ण राजनीतिमा आएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादीबाट छुट्टिँदा समेत एउटै पार्टीमा थिए। तत्कालिन माओवादीको १० वर्षे युद्दका कमाण्डर ‘बादल’ र विप्लव, मोहन वैद्यको नेतृत्वमा २०६९ मा प्रचण्डसँग विद्रोह गरेर अलग्गिएका थिए।
त्यसरी बनेको नयाँ पार्टीमा पनि मतभिन्नता भएपछि विप्लवले २०७१ सालमा आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए। बैद्यलाई छाडेर बादल २०७३ सालमा प्रचण्डतिरै फर्किए। तत्कालिन एमाले–माओवादी एकतापछि केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्ड समूहबाट बादल नै गृहमन्त्री बने।
उनी गृहमन्त्री भएपछि विप्लव नेतृत्वको नेकपाले चन्दा आंतक, भ्रष्टाचारीका नाममा कुटपिट र आक्रमण तथा वम बिस्फोटलाई तिब्रता दियो। यस्तो हुँदा बादल, विप्लव नेतृत्वको नेकपाप्रति अनुदार भएको विश्लेषण माओवादी बृत्तमा हुनेगरेको थियो।
विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेलगत्तै ठूलो संख्यामा नेता र कार्यकर्ता पक्राउ पर्न थाले। प्रतिबन्धको झण्डै २ वर्षको अवधिमा यो समूहका २ हजार भन्दा धेरै नेता र कार्यकर्ता पक्राउ परे। यहीबीचमा विभिन्न घटनामा ११ जना कार्यकर्ताको मृत्यु भयो भने यो समूहले ४ प्रहरी र एकजना सर्वसाधारणको हत्या गर्यो ।
तर, त्यो बाटोबाट पार नलाग्ने देखिएपछि विप्लव नेतृत्वको नेकपाले एक वर्ष अघिदेखि नै वार्तामा चासो देखाउन थालेको थियो। सरकारले शुरुमा त्यसलाई सुनेको नसुन्यै गरेर धरपकडलाई निरन्तरता दिए पनि सत्तारुढ नेकपाभित्रको संकट गहिरिएपछि प्रधानमन्त्री ओलीकै रुचिअनुसार गृहमन्त्रीको नेतृत्वमा विप्लव पक्षसँग वार्ताको प्रयास अघि बढेको थियो।
विवेक बने बादल र विप्लवको सारथी
यही प्रयासअन्तर्गत् तत्कालीन माओवादी लडाकूका डिभिजन कमाण्डर रहिसकेका नेपबहादुर कुँवर ‘विवेक’को भूमिका महत्वपूर्ण थियो। अहिले नेकपाको प्रचण्ड–माधव समूहमा रहेका पूर्वमाओवादी समुहका नेता, तत्कालीन वाइसीएलका संयोजक रहिसकेका कुँवरले बादल र विप्लव पक्षबीचको सम्पर्क सूत्रका रुपमा काम गरेका थिए।
विप्लव पक्षका नेता भेट्न उनी पूर्वी ओखलढुंगादेखि पश्चिमको कालिकोटसम्म पुगेका थिए। गृह मन्त्रालय स्रोतले पनि वार्ताका लागि कुँवरले महत्वपूर्ण भूमिका खेलेको बताएको छ। यो प्रयासमा खानेपानी मन्त्री मणि थापा पनि सहभागी थिए । वार्ताकै वातावरण बनाउन थापा नख्खु कारागारमा रहेका विप्लव पक्षका नेता हेमन्तप्रकाश ओलीलाई भेट्न माघ २० गते कारागारमै पुगेका थिए। वार्ताको वातावरण बनाउन थापाले यस्ता थुप्रै औपचारिक तथा अनौपचारिक भेटघाट गरेको बताइन्छ।
वार्ता अघि बढे पनि यो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने तत्काल सार्वजनिक नहुने उनीनिकट नेताहरुले बताएका छन् । वार्ता टोलीसहित अन्य नेता–कार्यकर्ता सबै सार्वजनिक भए पनि विप्लव भने ‘भूमिगत’ रहिरहने उनीहरुको भनाई छ।