सरकार ढल्ने भएपछि ओलीलाई विप्लवसँग सहमतिको हतारो, एक एजेण्डामा अपत्यारिलो लचकतामा – Janadesh Daily | ePaper

सरकार ढल्ने भएपछि ओलीलाई विप्लवसँग सहमतिको हतारो, एक एजेण्डामा अपत्यारिलो लचकतामा


जनादेश वाच ।

नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बुधबार पटक-पटक गरी तीन चरणको वार्ता भएको छ । वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए भने विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने सहभागी थिए।

तेस्रो वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको बताइएको छ । तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र आज बिहीबार पनि वार्ता जारी रहने सरकारी श्रोतले जनाएको छ ।

त्यसअघि बुधाबार दुई पटकको वार्ता प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको थियो र वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीकमा परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका थिए।

सरकार ढल्ने भएपछि सहमतिको हतारो
प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार विस्थापित हुने संकेत देखेपछि विप्लवसँगको वार्तालाई तत्काल निष्कर्षमा पुर्‍याउन सरकारी टोलीलाई दबाब दिएका छन् ।

संसद सुरु भएपछि सरकार ढल्ने निश्चित जस्तै भएकाले फागुन २३ को संसद अधिवेशन शुरु हुनुअघि नै शान्ति वार्ता टुंग्याउने गरी छलफल अघि बढाउन ओलीको दबाब छ ।

बालुवाटारमा बुधबार बिहान साढे सातदेखि ११ बजेसम्म भएको पहिलो चरणको वार्तामा सरकारले विप्लव समूहको पहिलो शर्त कार्यान्वयनको सिलसिलामा उसका नेता तथा कार्यकर्ता रिहा गर्न सहमत भएको थियो । ओलीको योजना अनुसार प्रतिनिधिसभाको बैठक बस्नुअघि नै सरकार र विद्रोही पक्षबीच वार्ता सफल भएको घोषणा गरिनेछ ।

अन्तरिम सरकारको एजेण्डा चर्काउने संकेत
विप्लव समूहले अन्तरिम सरकार बनाएर नयाँ व्यवस्थाका लागि सहमति हुनुपर्ने माग सार्वजनिक गरेको थियो । आफ्नो सरकार विस्थापित हुने अवस्थामा विप्लवसहितको अन्तरिम सरकारका लागि ओलीले ग्रिन सिग्नल दिनसक्ने अनुमान गरिएको छ । त्यसबाहेक विप्लव समूहका जेलमा रहेका नेता कार्यकर्ता छुटाउने, मुद्दा फिर्ता लिने र विप्लव समूहले हतियार बुझाउनु पर्ने जस्ता प्राविधिक विषयमा कुनै समस्या नरहेको वार्ता टोलीका सदस्यहरु बताउँछन् । अदालतमा मुद्दा चलिरहेकाको हकमा प्रक्रिया पुर्याउनुपर्ने भएकाले त्यसले केही समय लिनसक्छ ।

जघन्य अपराधको मुद्दा खेपिरहेकाको हकमा सरकारले मुद्दा फिर्ता लिन सक्दैन । त्यसबाहेक धेरै कुरा मिलिसकेको र एक दुई दिनभित्रै सकारात्मक परिणाम आउने बताइएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल)ले धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको र केही विषयमा छलफल जारी रहेकाले छिट्टै सुखद परिणाम आउने बताएका छन् ।

दुवै वार्ता टोलीबीच बुधबारै दुई चरणमा वार्ता भएको थियो । विप्लव वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउने दुवैजना विगतमा बादल समूहकै नेता रहेकाले पनि वार्तामा कुनै पनि असहजता नदेखिएको सरकारी श्रोतको दाबी छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कमजोर पार्ने ओलीको केन्द्रीय ध्येयका साथ वार्ता सुरु गर्न लगाएका ओलीले प्रचण्डले वार्ता भाड्न खोजेको प्रचार गराउन आफू निकट मिडिया प्रयोग गरेका छन् । प्रचण्ड भन्दा आफू हितैषी भएको देखाउन ओलीले विभिन्न प्रयास गर्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्