बनेपाका क्वारेन्टिन रित्तिँदै, ५० शय्याको आइसोलेशन कक्ष तयार – Janadesh Daily | ePaper

बनेपाका क्वारेन्टिन रित्तिँदै, ५० शय्याको आइसोलेशन कक्ष तयार


काभ्रेपलाञ्चोक ।

कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि बनेपा नगरपालिकाले ५० शय्याको आइसोलेसन कक्ष तयार गरेको छ ।

बनेपा नगरपालिका—५ स्थित बनेपा प्राविधिक शिक्षालय भवनका चार वटा कक्षामा सो आइसोलेसन कक्ष तयार गरेको हो । नगरपालिकामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ६५ पुगेको छ । तीमध्ये २८ जना उपचारपछि घर फर्किएका छन् । बाँकी ‘होम आइसोलेसन’ तथा विभिन्न अस्पतालका आइसोलेसन कक्षमा उपचाररत रहेको नगरप्रमुख लक्ष्मी नरसिं वादेले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित संख्या बढ्न सक्ने भएकाले हाल ५० वेडको आइसोलेसन कक्ष तयार गरिएको हो । “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेसन कक्ष ब्यवस्थित गरेका हौँ”, उहाँले भन्नुभयो ।

हाल व्यवस्थित गरिएको उक्त आइसोलेसनमा ‘होम आइसोलेसन’मा रहेका चार जनालाई राखिएको छ । तयार गरिएको सो आइसोलेसन कक्षमा पुरुष, महिला, बालबालिका तथा नर्सिङ स्टेशनका लागि छुट्टछुट्टै वेड राखिएको छ । यसअघि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच वेडको आइसोलेसन कक्ष तयार गरिएको थियो । नगरप्रमुख वादेले भन्नुभयो, “सङ्क्रमित थपिँदैछन्, अस्पतालको पाँच वेडले कसरी धान्छ रु त्यसैले हाललाई ५० वेडको आइसोलेसन कक्ष बनाएका छौँ ।”

सो आइसोलेसन कक्षको व्यवस्थापनका लागि बनेपाका युवा व्यवसायी रत्नकुश रञ्जितले २० वेड सहयोग गर्नुभएको थियो । अन्य आवश्यकीय सम्पूर्ण सामग्री नगरपालिकाले व्यवस्थापन गरेको प्रमुख वादेले बताउनुभयो । उहाँका अनुसार आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान तथा त्यहाँ बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खानाको व्यवस्थापन गरिएको छ ।

हालसम्म जिल्लामा कोरोना सङ्क्रमिको सङ्ख्या १४६ पुगेको छ । तीमध्ये ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ । बाँकी ८२ जना विभिन्न स्थानका आइसोलेसन कक्षमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसैबीच, जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र र पोष्टको आइतबारको सयुक्त बैठकले बनेपास्थित शिर मेमोरियल तथा धुलिखेल अस्पताललाई आफ्नो कूल वेड क्षमतामध्ये ३३ प्रतिशत वेड कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गर्न आग्रह गरेको छ । पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।नरेन्द्र झाले आइसोलेसन कक्ष व्यवस्थित गरेका स्थानीय तहलाई वेड सङ्ख्या बढाउन तथा नभएकालाई व्यवस्थित गर्न आग्रह गरिएको बताउनुभयो । “स्थानीय तहमा कम्तिमा १० वेडको आइसोलेसन कक्ष तयार गर्नुस् भनेर धेरैपटक आग्रह गरियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल २०० वेड भएको शिरमेमोरिलमा छ तथा ४५० वेड भएको धुलिखेलमा ३१ वेड मात्रै आइसोलेसनका लागि प्रयोग गरिएको छ ।

पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै एक सय वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरेको छ । तीमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरपालिकामा छ वेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थापन गर्न सकेको छैन् ।

हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्य्याको क्वारेन्टिन व्यवस्थापन गरेका छन् । त्यसो त, जिल्लामा सङक्रमित बढ्दै गएपछि आइसोलेसन वेड बढाईरहँदा क्वारेन्टिन भने रित्तिदै गएका छन् । हाल ३२ पुरुष र दुई महिला गरी कूल ३४ जना क्वारेन्टिनमा बसेका छन् । तीमध्ये बनेपामा छ, धुलिखेलमा १४, पनौतीमा दुई, पाँचखालमा दुई, नमोबुद्धमा एक, मण्डनदेउपुरमा दुई, तेमाल गाउँपालिकामा छ र भुम्लुमा सात जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, रोशी, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिसकेका छन् । हालसम्म ९४३ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाई अवधि सकिएपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथ्याङ्क छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्