एजेन्सी ।
बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीका कप्तान लियोन मेस्सीसँग छलफल गरिसकेका छन् । कोम्यान मेस्सीलाई क्लबमै राख्नका लागि हरसम्भव प्रयास गर्ने पक्षमा देखिएका छन् ।
तर, टोलीका अर्का सफल खेलाडी लुइस स्वारेजका विषयमा भने कोम्यानको योजना फरक रहेको पाइएको छ । उनले उरुग्वेली भेट्रान फरवार्डलाई नयाँ सिजनका लागि आफ्नो योजनामा राख्न नसक्ने जानकारी दिएका छन् । मुख्यतः स्वारेजको बढ्दो उमेर र पछिल्लो समयको फिटनेसका कारण कोम्यानको रोजाईमा पर्न नसकेको देखिन्छ ।
पछिल्लो डेढ वर्षलाई हेर्ने हो भने उनी पटक पटक चोटबाट गुज्रेका छन् । कोम्यानले काटलान रेडियो आएएसी वानलाईमा बोल्दै आफूले फोनमा स्वारेजसँग कुरा गरेको र आफ्नो योजनमा उनी नरहेको जानकारी गराएको बताएका छन् ।
लिभरपुलका पूर्व स्टार स्वारेजको बार्सिलोनासँग अझै एक वर्ष सम्झौता रहेको छ । यदि उनले केहि निश्चित खेल खेलेको खण्डमा अर्को एक वर्ष थप्न सकिने सम्झौतामा उल्लेख छ । तर प्रशिक्षककै योजनामा नरहेपछि उनले अर्को सिजन बार्सिलोनाकै जर्सीमा खेल्ने शंका भने बढेको छ । उनलाई अनुबन्धन गर्न पूर्व क्लब आयाक्सले इच्छा व्यक्त गरेको छ ।
कोम्यानले क्लबको जिम्मेवारी सम्हालेपछि पहिलो ठूलो निर्णका रुपमा स्वारेजको विक्री हुन सक्ने अनुमान पनि गरिएको छ । बायर्न म्युनिखसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलमा ८–२ को लज्जास्पदक हार पछि नै स्वारेजको भविष्य खतरामा रहेको अनुमान गरिएको थियो ।
स्वारेजले आफू वैकल्पिक खेलाडीका रुपमा भएपनि क्याम्प नोउमा बस्न चाहेको बताएका छन् । उनले आफ्नो स्थान सिद्ध पार्न मिहिनेत गर्ने बताउँदै आएका छन् ।