एजेन्सी ।
मुम्बई,

सुशान्त सिंह राजपूतको निधनपछि अभिनेत्री कंगना रनावतको हरेक दिन चर्चा भइरहेको छ । ग्रुपिज्म, आउटसाइडरमाथि हुने व्यवहार र स्टार किड्सलाई कसरी फिल्ममा लिइन्छ भन्ने विषयमा उनी बोलिरहेकी छन् । ग्रुपिज्मका कारण सुशान्तले आत्महत्या गरेको उनको आरोप छ । तर, यतिबेला उनले सुशान्तसँग एक फिल्ममा काम गर्न नमानेको चर्चाले बलिउड तातेको छ ।
सन् २०१६ मा निर्देशक होमी अदजानियाले सुशान्त सिंह, इरफान खान र कंगनालाई लिएर फिल्म बनाउन खोजेका थिए तर कंगनाले काम गर्न अस्वीकार गरेकी थिइन् । उनले समय अभावका कारण काम गर्न नसकेपछि फिल्म बन्न सकेन । त्यसबेला उनी शाहिद कपूर र सैफ अली खानसँग फिल्म ‘रंगून’ गरिरहेकी थिइन् । र, यसपछि ‘सिमरन’ मा काम गर्ने सम्झौता गरेकी थिइन् ।
मार्च २०१६ मा होमीले कंगनालाई स्टोरी न्यारेट गरेका थिए र उनले फिल्ममा काम गर्ने इच्छा देखाएकी थिइन् । तर, दुई फिल्म पाइपलाइनमा रहेका कारण उनले उक्त प्रस्ताव स्वीकार गरिनन् । अहिले उनले सुशान्तको आत्महत्या प्रकरणमा मौन रहेको भन्दै एकपछि अर्का कलाकारमाथि प्रश्न उठाइरहेकी छन् । आमिर खानदेखि अमिताभ बच्चनसम्म उनको निशानामा परेका छन् ।