एजेन्सी ।
लियोन मेस्सीले बार्सिलोना छाड्ने आफ्नो इच्छा प्रष्ट गरिसकेका छन् । तर, पनि उनी अर्को क्लबमा जाने विषय अझै तय भैसकेको छ । उनका बारेमा टुंगो लाग्न अझै केहि समय लाग्ने देखिन्छ ।
मेस्सीले क्लब छाड्ने पत्र दिएपछि बार्सिलोनाका पदाधिकारी भने उनलाई मनाउने प्रयासमा छन् । तर, मेस्सी भने क्लबका अध्यक्ष जोसेप मारिया बोर्टेमेउलाई भेट्न चाहिरहेका छैनन् । एक वर्षको सम्झौता बाँकी रहेपनि मेस्सीले भने क्लब छाड्न चाहेको प्रष्ट पारेका थिए । सम्झौता अनुसार भने उनको रिलिज क्लज ७ सय मिलियन रहेको छ ।
बार्सिलोनाका नयाँ खेलकुद निर्देशक रामोस प्लानेसले मेस्सीलाई क्लबमै राख्नका लागि प्रयास गरिने बताएका थिए । अध्यक्ष बोर्टेमेउ मेस्सीसँग कुरा गरेर उनलाई मनाउने प्रयास गर्ने पक्षमा छन् । तर अर्जेन्टिनी सुपर स्टारको भने उनलाई भेट्ने कुनै योजना नभएको बताइएको छ । उनले आफुले क्लब छाड्न चाहेको प्रष्ट पारिसकेका कारण पनि अध्यक्षलाई भेट्न इच्छा नदेखाएका हुन सक्छन् ।
टोलीका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई पनि उनले आफुले क्लब छाड्न चाहेको प्रष्ट पारेका थिए । अन्य क्लबमा जाने विषयमा टुंगिने केहि समय लाग्ने भएपनि मेस्सी प्रशिक्षणमा सामेल हुन्छन् । आइतबार खेलाडीहरुको पिसिआर टेष्टमा मेस्सी पनि समावेश हुने बताइएको छ । सोमबारबाट क्लबको प्रशिक्षण सुरु हुनेछ । कोम्यानको त्यो पहिलो प्रशिक्षण सत्र हुनेछ ।
आफ्नो विषयमा टुंगो लाग्नुअघि सम्म सबै विषय सामान्य देखाउनका लागि पनि मेस्सीले प्रशिक्षणमा भाग लिने बताइएको छ । तर, बिर्सन नहुने अर्को पक्ष भनेको बार्सिलोनासँगको उनको बाध्यात्मक खालको सम्झौता छ । क्लबले नचाहँदा पनि मेस्सीले क्लब छोडे उनलाई कानुनी कारवाहीसम्म हुन सक्छ ।