२२ आषाढ काठमाण्डौ । मुलुक द्वन्द्वग्रस्त अवस्थाबाट भर्खरै शान्ति प्रक्रियामा आएको थियो । सशस्त्र द्वन्द्वका क्रममा विदेशी पर्यटकले भौतिक रूपमा खासै क्षति बेहोर्न परेन । तर, लगानीकर्ता हतोत्साही भएका कारण आतिथ्य उद्योगमा लगानी आउन सकेको थिएन । ठीक त्यही बेला नेपाल भ्रमण वर्ष २०११ को उपहार बनेर आयो होमस्टे अर्थात् घरबास ।
फलस्वरूप अहिले देशका ५५ भन्दा बढी जिल्लामा होमस्टे सञ्जाल विस्तार भइसकेको होमस्टे एसोसिएसनले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१८ सम्म विभागको दर्ता प्रक्रियामा ३ सय २४ घरका ५ सय ९७ कोठामा होमस्टे सञ्चालनमा आइसकेका छन् । यी कोठामा १ हजार ६ बेड पाहुनाका लागि तयार छन् । त्यसपछि भने होमस्टेको दर्ता स्थानीय सरकारको जिम्मामा पुगेको छ ।
होमस्टे स्थानीय समुदाय मिलेर, स्थानीय उत्पादन, खानापान, सहनसहन र संस्कृतिको पहिचान दिने स्थानका रूपमा रहेकाले पनि यो स्थानीय समुदायसँग जोडिएको सहकारीमार्फत पछिल्लो समय सञ्चालन हुन थालेका छन् ।
‘पर्यटन क्षेत्रमा सहकारीको उपस्थित हुँदै छ । स्थानीय पुँजी, स्रोत, संशाधन प्रयोग गर्न सकिने भएकाले सहकारीमार्फत स्थानीय पर्यटन विकासमा सहकार्य गर्न स्थानीय सरकारसमेत उत्साहित रहेको पाइन्छ,’ केन्द्रीय पर्यटन सहकारीका अध्यक्ष लक्ष्मण यादव बताउँछन् ।
होमस्टेतर्फ आकर्षण बढेसँगै सहकारीको यस क्षेत्रमा आकर्षण बढ्दो छ । अहिले देशभर ६ सय निजी तथा सामुदायिक होमस्टे खुलेका छन् । कुल १८ सय घरधुरीमा होमस्टे विस्तार भइसकेको छ । नेपालको पहिलो होमस्टे स्याङ्जाको सिरुवारी हो । यहाँ २०५४ सालमै होमस्टे सुरु भएको हो ।
होमस्टेका कारण चम्किएका केही गाउँहरू
सिरुबारी, सुन्तलाबारी समुदायिक होमस्टे– स्याङ्जा
घलेगाउँ, काउलेपानी– लमजुङ
अमलटारी– नवलपरासी
डल्ला होमस्टे– बर्दिया
नाम्जे– धनकुटा
चित्लाङ– मकवानपुर
भादा गाउँ– कैलाली
स्वरोजगार र संस्कृति संरक्षण
गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालका प्रथम उपाध्यक्ष दीपक दाहाल ग्रामीण पर्यटनले युवा स्वरोजगार वृद्धि र संस्कृति संरक्षणमा उल्लेख्य भूमिका खेलेको बताउँछन् ।
‘पैसा सहरबाट गाउँ जाने लैजाने माध्यम होमस्टे बनेको छ,’ उनी भन्छन् । भिटोफ आफैंले ग्रामीण गन्तव्य पहिचानसमेत गर्दै आएको छ । त्यसो त होमस्टेले संस्कृति, संरक्षणमा उत्तिकै ठूलो भूमिका खेलेको छ । ग्रामीण र सहरी इलाकाबाट लोप भइसकेका मौलिक गीत संस्कृति, झाँकी, लत्ता कपडा होमस्टेले संरक्षण गरेका छन् । युवापुस्ताले परम्परागत भाषा र संस्कृति सिकेका छन् । उनीहरू हरेक साँझ पाहुनालाई मौलिक संस्कृति र रमझम देखाउने गर्छन् ।
उपाध्यक्ष दाहाल भन्छन्, ‘मेला पर्वमा त नभेट्ने मौलिकता होमस्टेमा भेटिन्छ ।’
४ हजार ४ सय रोजगारी
एक सामुदायिक होमस्टे स्थापना गर्न पाँचवटा घरधुरी आवश्यक पर्छ । उक्त होमस्टेसम्म पुग्न बाटो आवश्यक पर्छ । बत्तीबिजुली, शौचालय र खानेपानी होमस्टेका अत्यावश्यक पूर्वाधार हुन् । त्यसैले स्थानीय समुदाय मिलेर पर्यटन सहकारी स्थापना गरी होमस्टे सञ्चालन गर्दा व्यवस्थापनदेखि अन्य सेवा सुविधाका लागि सहज हुने अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल बताउँछिन् ।
जहाँ होमस्टेमा पाहुनालाई खुवाउने खाद्यान्नसम्म स्थानीय तहमै उत्पादन हुन्छ । जसले गर्दा कृषि उपजले बजार पाएको छ । पशुपालन पुनः फस्टाउन पाएको छ त्यसैले स्वरोजगार सिर्जना गर्न र उत्पादनको बजारीकरण गर्न यसले भूमिका खेल्छ । बाँके सहकारी संघले स्थानीय उत्पादन बिक्रीका लागि प्रदेश ५ मा सहकारीमार्फत कोसेली घरसमेत स्थापना गर्ने योजना बनाइरहेको छ ।
होमस्टे एसोसिएसनका अनुसार करिब ४ हजार ४ सयले रोजगारी पाएका छन् । अपत्यक्ष रूपमा स्वरोजगार सिर्जना हुने देखिन्छ । जब कमजोर आय भएका मानिसको आम्दानी बढ्छ, त्यसले स्वतः ती समुदायको पनि पुनरुत्थान हुने भएकाले पर्यटन सहकारीमार्फत पर्यापर्यटन तथा होमस्टे प्रवद्र्धनका लागि राष्ट्रिय सहकारी महासंघले समेत भूमिका खेल्नुपर्ने देखिन्छ । लमजुङको घलेगाउँमा गुरुङ समुदायले होमस्टे चलाएका छन् भने बर्दियाको डल्ला होम स्टे थारू संस्कृतिका लागि चर्चित छ । घलेगाउँ र बर्दियाको डल्ला होमस्टेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका छन् ।
सरकारले २०६७ सालमा होमस्टे सञ्चालन कार्यविधि त्यलाएर पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायसम्म पु¥याउनुरहेको छ । ग्रामीण समुदायको आयस्रोत वृद्धि गरी स्वरोजगार प्रवद्र्धन गर्न यो अभियानसँग सहकारी मोडेल जोड्न राज्यले समेत नीति तय गरेको छ । पाँच घर मिलेर सामूहिक रूपमा होमस्टे चलाउन सकिने या एकल रूपमा एक घरमा मात्र पनि मापदण्ड पूरा गरी होमस्टे चलाउन सकिने प्रावधान छ । होमस्टेले स्थानीय क्षेत्रमा सञ्चालन हुने सांस्कृतिक कार्यक्रम र क्रियाकलाप, परम्परागत खेलमा सहभागी गराउने, उपलब्ध हुने क्षेत्रमा जंगल ट्रेक, इको ट्रेक तथा दृश्यावलोकनको समेत व्यवस्था गर्न सहकारी मोडेल आत्मसात् गर्नुपर्ने बताउँछन् विज्ञहरू ।
सुत्ने कोठामा धुवाँ आउन नहुने, सफा हुनुपर्ने, भुइँमा राडी पाखी तथा गुन्द्री भए पनि ओछ्याएको हुनुपर्ने भनी मापदण्ड राखिएको छ । सुविधायुक्त र सफा शौचालय, नुहाउने छुट्टै प्रबन्ध, भन्साघर नजिकै वस्तुभाउको गोठ नभएको र घरमा आवश्यक सबै सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकाले होमस्टे सञ्चालनका लागि लगानी र नियमित व्यवस्थापन गर्नुपर्ने भएकाले सहकारीसँग जोडिँदा दीर्घकालीन हुने देखिन्छ । यसरी होमस्टे सञ्चालन गर्दा दिगो विकास लक्ष्यका एजेन्डा प्राप्तिमा समेत योगदान पुग्ने अनुमान गर्न सकिन्छ ।
स्रोतः राजधानी दैनिक