भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो – Janadesh Daily | ePaper

भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो


नयाँदिल्ली,

भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो ।

भारतको राष्ट्रिय तथ्याँक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ ।

कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

साथै निर्माण क्षेत्रमा ५०.३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३.३ प्रतिशतमा सीमित भएको छ । विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ । तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको छ ।

भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन् ।

हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो । रासस–एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्