जनादेश, बागलुङ ।
गलकोट समाज जापानले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु ११ लाख उपलब्ध गराएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष दिलु खत्रीले बताउनुभयो । “समयमा उपचार नपाएकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस्”, उहाँले भन्नुभयो ।
गत अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम एम्बुलेन्सका लागि प्रदान गरिएको उहाँको भनाइ छ । समाजले केही वर्षअघि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एम्बुलेन्स दिएको थियो ।
एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र दशैँ अगावै सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।
गाउँपालिकासँग यसअघि भएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि कोरोना सङ्क्रमित बोक्नसमेत भाडाको सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन् ।
अहिले पनि अस्पताल, रेडक्रसलगायत संघसंस्थाले चलाएका एम्बुलेन्सका भरमा स्थानीय तह छन् । कोरोना महामारी शुरु भएपछि सङ्क्रमित बोक्नुपर्दा एम्बुलेन्स चालक नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन ।
मन्त्रालयको नीतिअनुसार महानगरपालिका र उपमहानगरपालिकामा चारचार, नगरपालिकामा तीन र गाउँपालिकामा दुई एम्बुलेन्स हुनुपर्छ । स्थानीय तहले एम्बुलेन्स किन्दा राजश्व छुटको सुविधा छ ।
कोरोना सङ्क्रमित तीन सय
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय छ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म निको हुनेको सङ्ख्या २७९ छ भने एक जनाको मृत्यु भएको छ ।
आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ छ भने क्वारेन्टिनमा ७२ जना छन् । पछिल्लो पटक आइतबार काठेखोला गाउँपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्लामा पहिलो पटक गत चैत १५ गते कोरोना देखिएको थियो जुन नेपालकै पाँचौँ सङ्क्रमणको घटना थियो । त्यसयता भारतबाट आएका अधिकांश व्यक्तिमा कोरोना देखिए पनि पछिल्लो समय समुदायमा सङ्क्रमित भेटिन थालेका छन् ।
जिल्लामा अहिलेसम्म झण्डै सात हजारको पिसिआर परीक्षण गरिएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा ५४ र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सात जनामा सङ्क्रमण देखिएको छ । रासस