महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन – Janadesh Daily | ePaper

महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन


वालिङ । बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिकरुपमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी सामूहिकरुपमा सीप सिकेर उद्योग स्थापनासँगै दुनाटपरी उत्पादन थालिएको स्थानीय गीता रनपालले बताउनुभयो । सामूहिकरुपमा व्यवसाय थाल्दा काम गर्न पनि सहज र आम्दानी पनि लिन सकिने भएकाले यहाँका महिला दिदीबहिनीको आर्थिकस्तर उकास्नमा सघाउ पुग्ने दाबी रनपालको छ । “जन्म, मृत्यु तथा अन्य शुभ कार्यमा प्रयोग गरिने दुनाटपरी बनाउने सीपलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा विस्तार गर्ने उद्देश्य हाम्रो छ”, रनपालले भन्नुभयो, “तालीमपश्चात उद्योग स्थापना भएकाले यहाँका महिला दिदीबहिनी व्यावसायिक उत्पादनका लागि उत्साहित र आकर्षित हुनुभएको छ ।”

पछिल्लो समय परम्परागत दुनाटपरीलाई प्लाष्टिकजन्य वस्तुले विस्थापित गर्दै गई्रहेका बेला प्रविधिको प्रयोगका कारण निकै प्रभावकारी देखिएको छ । मेसिनको प्रयोगबाट छोटो समयमा धेरै दुनाटपरी बनाउन सकिने हुँदा यसलाई व्यावसायीकरण गरी यहाँका स्थानीयको जीवनस्तरमाथि उकास्न सकिने स्थानीय रनपालको भनाइ थियो । साना साना पात भए सिन्काले जोड्ने र मेसिनमा राखेपछि टपरीको आकार दिने र विभिन्न प्रकारका दुनाटपरी बनाउन सकिने भएकाले समयको वचतसँगै वातावरणीय प्रदूषणलाई समेत कम गर्ने उहाँले बताउनुभयो । यहाँका ३० महिलाले सामूहिकरुपमा दुनाटपरी उत्पादनमा सक्रिय सहभागिता जनाएका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्