पिएसापहरू – Janadesh Daily | ePaper

पिएसापहरू


पिएसाप अर्थात् पर्सनल असिस्टेन्ट वा सेक्रेटरी । सुम्पिएको कामको कार्यपालक । सेक्रेटरी शब्दको उत्त्पति सेक्रेटेरियसबाट भएको हो, जसको अर्थ गुप्त हुन्छ । पिए भनेको विश्वास छउन्जेल गुप्त खोपीको विश्वास पात्रू र विश्वासघात भएपछि ‘एकाएक लुप्त’ हुने पद हो ।

मालिकको कार्यमा सृजनात्मकता दिन सक्ने हैसियतवान भएको व्यक्ति पिए हुन्छ । कामकाजमा विशेष सहयोग गर्ने भएकोले सहयोगी भूमिका निभाउछ । पिएलाई कार्यकुसलतामा दक्ष मानिन्छ । कामकाजको सिलसिलामा रायसल्लाह प्रभावपूर्ण तवरले दिन्छ । पिए हुनु चानचुने होइन खोपडीवान हुनु पर्छ । कर्तव्यपरायणता र बफादारमा एक नम्बरी हुनु पर्छ ।

नेपाली राजनीतिमा पिएसापको बाढी चारैतिर सुनिने र देखिने पद भएको छ । सिंहदरबारदेखि गाउँदरबारसम्म पिएसापहरूको चलनचल्ती बग्रेल्ती पाइन्छ । प्रशासनिक क्षेत्रमा पिए राख्ने प्रचलन प्रमुख जिल्ला अधिकारी देखि मन्त्रालयको सचिवसम्म छ । राजनीतिक क्षेत्रमा पालिकाध्यक्षदेखि प्रधानमन्त्रीसम्म पिएको दरबन्दी छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश प्रमुख र संवैधानिक निकायका प्रमुख आदिमा पिए नहुने कुरै भएन् ।

मानौं संघीय गणतान्त्रिक शासन व्यवस्था पिएमय हो , सामान्यतया पिएसापहरू प्रशासनिक, राजनीतिक र कानुनी गरी तीन थरिका हुन्छन् । बालुवाटाररसिंहदरबारमा सल्लाहकारको समूह नै हुन्छ । एकदुईजनाको कुरै छन् । दृश्य अदृश्य गरी दर्जनौं सल्लाहकार हुन्छन् । मुख्य सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, आर्थिक विकास सल्लाहकार, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव के के हुन् के के थोकको भाउमा पिएको व्यवस्था देखिन्छ ।

व्यक्तिवादी चिन्तनका धनी नेता अभिनेताका पिएसापहरूको योग्यता दक्षता सर्वहारा किसिमको हुन्छ । सर्वहारा भनेको नातागोता, चेलाचम्चा जो भए पनि चाकरी, चाप्लुसी, अर्थोपार्जक र विश्वाशिला भएमा शैक्षिक योग्यताको पूर्जा हेरिरहनु परेन् । आफ्नो हात जगन्नाथ गर्ने सक्ने काइदाले नयाँ नेपालको निर्माण हुन्छ । एकजना मन्त्री फुटपाथमा आउदा झण्डै एकदर्जन पिएसापहरू सडकछाप हुन्छन् । पिएसापका कारणले पनि पवित्र अपवित्र गठबन्धन गरी कुर्सीमा टाँसिइ रहनु पर्ने बाध्यता मन्त्रीको हुन्छ । नेपालको संविधानले रोजगारीको ग्यारेन्टी गरेको हुँदा कसैलाई बेरोजगार बनाउन पाइदैन् । खेतिपाती उद्योगधन्दा नभएको देशमा चेलाचम्चालाई जागिर खुवाउने र पोषाउने मेलोमेसो पिए भर्ती केन्द्र भएको छ ।

प्रधानमन्त्रीका पिएसापहरूले देशको सर्वाङ्ग्रीण विकासमा हस्तक्षेप पुर्‍याउन सफल भएका छन् । पानी जहाजदेखि चुल्हामा ग्यास पाइप पुर्‍याएका छन् । पूर्वपश्चिम उत्तरदक्षिण रेल कुदाएका छन् । सत्ताको वैचारिक धरातलमा ज्वारभाटा ल्याएर सिङ्गो पार्टी (नेकपा) लाई साइजमा ल्याइपुर्‍याउन अहम भूमिका खेलेका छन् । गुटलाई मलजल गरेका छन् । देशी भन्दा विदेशीको विश्वास आर्जनमा पुस्तेनी संस्कारलाई निरन्तरता दिएका छन् । जनताको गास, वास र कपासलाई कच्याककुचुक गर्दै मालेमावादको उच्चत्तम प्रहसन गर्न सफल भएका छन् । समयक्रमसँगै पिएसापहरू गणतन्त्रे ब्रुर्जुवा कमरेडमा बढुवा भएका छन् । महान मालेमावादी कमरेडहरू सिंहदरबारमा महेन्द्रपथका महान व्यवहरावादी बहुरङ्गी भएका छन् ।

पिएसापको व्यवहार जनप्रतिधि भन्दा भारी भरकम हुन्छ । बोल्नै गाह्रो मान्ने, चुरीफुरी हेर्दा मन्त्रीसन्त्री भन्दा ठूला र खुराफातमा सुलसुले हुन्छन् । दुईटकाको मान्छे पिए भए पछि उसको चुरीफुरी मालिकको भन्दा छोइसक्नु हुँदैन् । चम्चागिरीको अख्तियार पाएपछि अकल र दखलले कुइना लपक्क पार्छन् । देशकै ठूलोसाप भएर अर्तिफुर्ति दिन्छन् । आफ्नो हातचिल्लो पार्न खप्पिस हुन्छन् । सबैखाले पिएसापको अन्तिम लक्ष्य हासिल (अर्थोपार्जन लाभ) प्राप्त गर्नु हुन्छ । उनीहरूको धर्म नै मौकामा चौका हान्नु हो । ‘आज नगद भोलि उधारो’को सिद्धान्त लागु गर्छन् । संघीयताले वडादेखि शितल निवाशसम्म पिएसाप उत्पादन गरेको छ ।

अन्तरद्वन्द्वका बहुरूपी बीउहरू पार्टीलाई गुटगुटमा परिणत गर्ने हैसियतवान भएका छन् । बालुवाटारी पिएहरू अन्तर्राष्ट्रिय स्तरका अग्रपङ्तिका खुराफाती सावित भएका छन् । पस्दै घुस्दै खुशखुश गरी आर्थिक लेनदेन गर्ने एजेन्टको रूपमा कुख्यात भएका छन् । पक्ष विपक्ष र गुटउपगुट फैलाउने कार्यमा कोभिड-१९ भन्दा बढी घातक भाइरसझैँ भएका छन् । दुईतिहाईलाई तुहाएर सरकार बनाउन विपक्षीको ढोका चहार्ने हैसियतवान भएका छन् । सर्वशक्तिमान एवं जीवनपर्यन्त साम्यवादी भएका प्रधानमन्त्रीलाई पलक्षणमा गुटाधिशको खम्युनिष्टमा परिणत गरी दिएका छन् ।

ठूलाबडाको पिए हुनु भनेको भाग्योदय चिठ्ठा पर्नुझैँ हो । मालिकलाई भजाएर धन थुपार्ने नियतिका साथ कमाउने चलन परम्परादेखि चलि आयाको छ । स्थायी भनिने कर्मचारीको सरूवा, बढुवा र पदस्थापनाको निहुँमा हुर्मत लुट्न सक्छन् । योजना परियोजनामा सल्कनु भनेको एउटो सर्वहाराले नवधनाड्यमा परिणत हुनु हो । आफु अन्तर्गका विभागका जिपसिप हडपेर जथाभावी हँकाइ गर्नु हो । लालमोहरिया पिएसाप नियुक्तिका बखत लिखुरेसिकुरे भए पनि निवृत हुँदा मोट्याइलो (नवधनाड्य) हुन्छ । खोपीदेखि कुटीसम्म आसुरी पिएसापहरू विस्तारै सम्पत् (कालो धन) का मालिक हुन्छन् ।

गणतन्त्रमा सोझासाझा र इमान भएका कमानवालालाई कसैले टेर्दैन् । कोही आफ्ना भनाउँदा सुविधाको पदमा पुग्नु भनेको सातपुस्ताको भाग्योदय बम्पर उहार पर्नु हो । देशको ढुकुटीलाई सुकुटी बनाएर मोजमस्ति गर्न पाउनु हो । सरकारको सिन्दूरले छाडा हुनु हो । कम्रेड हुन वा काँग्रेसी वा मधेशी वा जोसुकै दलकाले सार्वजनिक पदमा बसेपछि ूमामाको धन फुपूको श्राद्धू गर्न पाउछन् । आँखिराँ राजनीति भनेको पसिना विहिन पेशा हो । घोक्रो सुकाएर ठूलठूला सपना बिकाउने धन्दा हो । बकवास बिकाउने पसल हो । गफैगफमा दुनिया हँकाउने प्रशिक्षण केन्द्र हो । सरकारी मानो खाने गरी सानोतिनो पदमा जित हातपार्ने वडासदस्य एवं वडाध्यक्षको गोठमा कामधेनु गाई हुनु सरह हो । संघीय गणतन्त्रसँगै पिएसापहरू अनेकन कार्यका फटके किनाराका बकितम् साक्षी हुन् ।

सरकारी पिएहरू कनिष्ठ स्तरका कर्मचारी हुन्छन् । कार्यसम्पादन गर्दा मौजुदा सरकारी ऐन, कानुनको परिधि भित्र रही कामसाम फत्ते गर्छन् । सचिवालयका कागजपत्र तथा चिठ्ठीपत्र टाइप गर्ने, प्रस्तुत गर्ने, पत्र सम्प्रेषण गर्ने, रेकर्ड राख्ने, टेलिफोन सम्पर्क गराउने, आगन्तुकको समय निर्धारण गर्ने, कुरा सुन्ने र भेटघाट गराइदिने, समस्या समाधान गराउन सहयोग गराउने आदि तमाम कार्य हुन्छन् । पिएले अनेकन भूमिगत जोखिमका कार्य सम्पन्न गर्नु पर्ने हुन्छ ।

होटलसोटलमा अनौपचारिक गुपचुप मोलतोल गरी साठगाँठ गर्नु पर्छ । क्वाटरमा वाटर चखाएर कानुनी विषयवस्तुलाई तपसिलमा राख्दै घोटालाबाट कमिशन कुम्ल्याउन सक्नु पर्छ । सट्टापट्टा र दलालिमा पिएसापहरू मन्त्री र सेवाग्राहीका पुल हुन् । पिएले कार्यकौशलता, प्रभावपूर्ण नेतृत्व र विवेक भन्दा जमानानुसार चम्चागिरी र फुइँमा खप्पिस हुनु पर्छ । चिल्लोचाप्लो घस्नु पर्छ । ठ्याक्कठुक्क कुरो मिलाउन जान्नु पर्छ । दाहिने हात भएर यावत् व्यवस्थापनमा प्रभावशाली र लोकप्रिय भएर दाइँ रजाइँ गर्न सक्नु पर्छ ।

लोकतन्त्र भनेको जनताको शासन हो । प्रतिनिधिमूलक व्यवस्था हो । अर्कोपटक चुनिने ग्यारेन्टी हुँदैन् । निजी स्वार्थका लागि नैतिक मूल्य, मान्यता, जनसेवालाई बन्धक बनाउन सकिएन भने पुनस् चुनिने सम्भावना कम हुन्छ । लोकतन्त्रका खातिर गरिएका त्याग तपस्यालाई चटक्क भुल्नु पर्छ । सहिदको रगत बिर्सनु पर्छ । जनभावनालाई कुल्चनु पर्छ । पदलोलुप हुनु भनेको लोकतन्त्रको बफदार हुनु हो । स्वार्थ पुरा भएन भने सुकिलो मुकिलो भइन्न । मतदाताले पत्याउन्नन् । ऐतिहासिक तथ्यले प्रामणित गरेको छ कि मतदातालाई नगदनारायण दिन सकिएन भने विजित भइदैन् । नगदनारायणका लागि ठेकापट्टा, भ्रष्टाचार, लुटपाट, भाइभतिजावाद, सालासम्धीवाद, फरियावाद, दलबदल, देशी विदेशीको दलाली नगरी सुख्ख छैन् ।

राज्यका प्रत्येक अङ्गप्रत्यङ्गमा नितीगत तथा राजनीतिक भ्रष्टाचारका जनक पिएसाप हुन् भन्दा फरक पर्दैन् । गणतन्त्रवादी राजनेतालाई स्वादिष्ठ तरमा डुबाएर पौडी खेलाउन सक्ने सामर्थ्य राख्छन् । ठेकेदारसँग कसरी मिल्ने, कर्मचारीको पजनी गर्ने, अनुदानलाई गुमनाम पार्ने, कुन हाकिमसँग गाडी माग्ने, ईन्धन कोबाट माग्ने, टिकट कोबाट कटाउने यावत तरकिप जान्दछन् ।

राष्ट्र सेवकसँगको साँठगाँठले चुहावटका अनेकन छिद्रको मेलोमेसो अनुसन्धान गरेका छन् । नचुहिने धारालाई चुहाउन सक्ने क्षमता राख्छन् । कर्मचारी र ठेकेदारको परम्परागत सम्बन्ध स्नेहपूर्ण र सुमधुर हुन्छ । कर्मचारी र ठेकेदारको सम्बन्ध माछापानीको हुन्छ । माछापानीको सम्बन्धमा राजनीतिक सम्बन्ध मिसिदा सुनमा सुगन्ध थपिन्छ । नयाँ सम्बन्धले उचाई लिन्छ । त्यसपछि कोही माइका लाल आए पनि खतरा उत्पन्न गर्न सक्दैनन् । त्यही भएर पुल उदघाटन भएपछि पुल भत्किन्छन् । नहर बने पछि पानी चुहिने हुन्छन् ।

सरकारी भवनहरू उदघाटन पूर्व चर्किन्छन् । सडकमा हालेको कालोपत्रे लगाउने बित्तिकै उप्कन्छ । पुलपुलेसा उदघाटन नगरी बर्खामा बग्छन् । कागजी योजनाको निर्माण कागजमै सम्पन्न गरी पैशा हजम गर्न सक्ने शक्ति उत्पन्न हुन्छ । यसरी वर्षैपिच्छे गणतान्त्रिक रोजगार सृजना भइरहन्छ ।

नेपाली संघीयता अब खतरामुक्त भएको छ । गणतान्त्रिक संघीय राजनीति उद्योगको रूपमा विकास भएको छ । अमेरिकी भुतपूर्व राष्ट्रपति ओबामा जस्तरी भुतपूर्व भएपछि काम गरेर दरगुजारा गर्नु पर्दैन् । ठूलठूला उद्योगपतिहरू उद्योग बन्द गरी अर्थशक्तिको बलमा संसद सदस्य बनिरहेका छन् । यसले के सङ्केत गर्छ भने उद्योगधन्दा गरी पैशा कमाउन कतिको दुस्ख, कष्ट र पीडा छ , अब आर्थिक रूपमा आत्मनिर्भर हुने एउटै निर्विवाद व्यवसाय राजनीति भइसकेको संकेत पाइन्छ । राजनीतिमा लाग्नेले पैशा कमाउन विदेशिनु पर्दैन् ।

राजनीतिले पद, प्रतिष्ठा, मान, सम्मान, पैशा र प्रभुत्त्व सबैथोक प्रदान गर्छ । राजनीतिमा छिरेका घृणित, अपराधी, भ्रष्टाचारी, कालाबजारी, दलाल, कमिशनखोर, राष्ट्रद्रोही आदि ईत्यादि सबै शपथ खाने बित्तिकै पवित्र र खान्दानीमा दर्ज हुन्छन् । लोकलोकमा मान सम्मानका हकधार भएर पूजित हुन्छन् । जस्तोसुकै अशान्ति र कुकार्यका पर्याय भए पनि दिगो रूपले चिरित्रवान सावित हुन्छन् । राष्ट्रियताका पूजक हुन्छन् । समाजवादका महान नायक हुन्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्