शमी साहित्य साधना पुरस्कारबाट क्रान्तिकारी माओवादीका महासचिव किरण सम्मानित, किरणद्वारा लिखित माक्र्सवादी समालोचना’ कृति सार्वजनिक – Janadesh Daily | ePaper

शमी साहित्य साधना पुरस्कारबाट क्रान्तिकारी माओवादीका महासचिव किरण सम्मानित, किरणद्वारा लिखित माक्र्सवादी समालोचना’ कृति सार्वजनिक


जनादेश, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण शमि साहित्य साधना पुरस्कारबाट सम्मानित हुनु भएको छ । महासचिव किरणले लेख्नुभएको पछिल्लो कृति ‘माक्र्सवादी समालोचना’का लागि एक लाख एक हजार एक सय एघार रुपैयाँ राशीको पुरस्कारबाट महासचिव किरण सम्मानित हुनुभएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले महासचिव किरणलाई माला, दोसल्ला, ताम्रपत्र र नगदसहित सम्मानित गर्नुभयो ।


सम्मानित भइसकेपछि संक्षिप्त मन्तव्य राख्दै महासचिव किरणले बाबा आमा, श्रीमती, छोराछोरी, पार्टीका नेता कार्यकर्ता, साहित्यिक क्षेत्रका साथीहरु सबैको साथ सहयोग र उत्प्रेरणाले निरन्तर लेख्दै आएको बताउनु भयो । र, आगामी दिनमा पनि नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरेर वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्पसहित लेखिरहने प्रतिबद्धता जनाउनु भयो । विगतका युद्ध र आन्दोलनको स्मरण गर्दै महासचिव किरणले नयाँ जनवादी क्रान्तिको अभिष्ट पुरा गर्नका लाथि थुप्रै थुपै्र बलिदान भएपनि नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्न बाँकी रहेको र त्यो कर्याभार पूरा गर्न आफू लागि रहने पनि प्रतिबद्धता दोहो¥याउनु भयो ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित मसालका महामन्त्री मोहन विक्रम सिंहले मोहन वैद्यसँग आधा दशकको सम्बन्ध रहेको चर्चा गर्दै अविचल निष्ठा, समर्पण, त्याग र निरन्तरता उहाँको अनुकरणीय विशेषता रहेको बताउनु भयो । आज नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिंगो राजनीतिमा मूल्य मान्यता विचलन देखिएको, मूल्य विघटित भएको, जताततै व्यक्तिवादी र अवसरवादी प्रवृत्ति हावी भएर गएको चर्चा गर्दै महामन्त्री सिंहले मूल्य र निष्ठाको राजनीतिका लागि मोहन वैद्य किरण उदाहारणीय व्यक्तित्वको रुपमा स्थापित रहेको पनि बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदिप नेपालले प्रष्ठिानले एकमदमै सही र उपयुक्त व्यक्तिलाई सम्मान गर्न पाउँदा आफू एकदमै खुशी भएको भन्दै सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्नुभयो ।

पुरस्कार छनौट समितिका संयोजक समेत रहनु भएका प्रा.डा. राजेन्द्र सुवेदीले मोहन वैद्य किरणले आफ्नो शब्द र कर्मबाट नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा बढेर गएको मूल्य विघटनलाई रोक्ने काममा महत्वपूर्ण योगदान गरेको र उहाँभन्दा अन्य उकृष्ट व्यक्तित्व अरु नभएकोले उहाँलाई पुरस्कृत गर्ने निष्कर्षमा पुगेको बताउनु भयो । उहाँको बहुआयामिक व्यक्तित्व अनुकरणीय रहेको भन्दै मोहन वैद्य किरणलाई सम्मानका लागि छनौट गरेर आफूहरुले राम्रै गरेको पनि बताउनु भयो ।


प्रा.डा. जगदीशचन्द्र भण्डारीले मोहन वैद्य किरणको बहुआयामिक व्यक्तित्वको बारेमा सविस्तार प्रकाश पार्नुभएको थियो ।
प्रा.डा.देवीप्रसाद गौतमले मोहन वैद्य किरणले लेखेको माक्र्सवादी समालोचना पुस्तकको विषयमा समालोचनात्मक रुपमा धारणा राख्नुभएको थियो । र, मोहन वैद्य किरणले माक्र्सवादी विश्वदृष्टिकोण, समाजवादी यथार्थवाद तथा निश्चित सैद्धान्तिक मूल्यमा आधारित भएर लेख्नुभएको र कुनै अग्रह पूर्वाग्रह रचनाहरुमा नरहेको प्रष्ट्याउनु भयो ।

त्यसैगरी शमी प्रतिष्ठानका संरक्षक डोलेन्द्र शर्माले मोहन वैद्य किरणका दुईवटा कृति प्रकाशन गरेको चर्चा गर्दैै उहाँजस्तो व्यक्तित्वलाई सम्मानित गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो ।

कार्यक्रमको सञ्चालन लेखक तथा युवा नेता लेखनाथ न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक तथा साहित्यिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

‘माक्र्सवादी समालोचना’ पुस्तकमा पाँचवटा सैद्धान्तिक तथा वैचारिक, तीनवटा समालोचकीय र ६ वटा समीक्षा मूलक लेखहरु समावेश गरिएका छन् । ३७० पृष्ठ लामो पुस्तकको सम्पादन प्रा.डा. ताराकान्त पाण्डेयले गर्नुभएको छ ।
पुस्तकको महत्वबारे लेखकीयमा महासचिव किरणले लेख्नुभएको छ, “यो बेला समालोचनाको क्षेत्रमा प्रतिध्रुवीय र संशोधनवादी दुवै कित्ताबाट माक्र्सवादी साहित्य सिद्धान्त, समालोचना र लेखनमाथि आक्रमणको प्रक्रियालाई निकै तीव्रताका साथ अगाडि बढाइएको छ । साथै, यो बेला प्रगतिवादी साहित्य तथा समालोचनाको फाँटलाई अझै ऊर्जाशील तुल्याउँदै जानुपर्ने आवश्यकता समेत निकै टड्कारो बन्न गएको छ । यस स्थितिमा माक्र्सवादी समालोचनाको क्षेत्रमा विचारधारात्मक संघर्ष सञ्चालन गर्ने जिम्मेवादरी अझै बढ्दै गएको छ । यस कार्यमा कैयौं माक्र्सवादी साथीहरु खट्दै आउनु भएको छ । यो पुस्तक यसै जिम्मेवारीबोधको एउटा हिस्सा हो ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्