वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई – Janadesh Daily | ePaper

वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई


वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई

काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद राना र अभिनव सम्मानले आख्यानकार नारायण ढकाललाई सम्मान गरेको छ ।
समाजको २२९औँ साहित्यिक शृङ्खलाका अवसरमा शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुरस्कार एवं सम्मान वितरण गर्नुभयो । सो अवसरमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले लेख्नुभएको कोरोनाबाट प्रभावित भई एकान्तवासमा रहनुभएका बेला लेख्नुभएको महाकाव्य ‘अछूत’ को लोकार्पणसमेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपकुलपति गुरुङले काठमाडौँ उपत्यकाको काँठे संस्कृतिको अध्ययन अनुसन्धानमा अभिनव साहित्य समाजले काम गर्नु एवं गराउनुपर्ने र त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान सहयोग गर्न तयार रहेको भनाइ राख्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वयले साहित्यिक गतिविधिको प्रशंसा गर्दै हौसला प्रदान गरेको मन्तव्य राख्नुभयो ।

समारोहमा वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, साहित्यकार कोषराज न्यौपाने र बमबहादुर जितालीले पुरस्कार एवं सम्मानले स्रष्टालाई हौसला मिल्ने बताउनुभयो । मेनका पोखरेल आचार्यले सम्मानित व्यक्तित्वद्वयको कृतित्व र व्यक्तित्वका विषयमा र परशुराम पराजुलीले लोकार्पित पुस्तकका विषयमा प्रकाश पार्नुभएको थियो । साहित्यकार घिमिरेले कोरोना भाइरस सङ्क्रमित भएका बेलाका अनुभव पुस्तकमा उतार्नुभएको जनाइएको छ ।

कार्यक्रममा २२९औँ नियमित कवि गोष्ठीअन्तर्गत सुशील आचार्य, बद्रीप्रसाद सुवेदी, गोविन्द महत, डा शेषराज आचार्य, ओम कोइराला, मानन्धर अभागी, खोलोघरे साइलो, सिर्जना शर्मा, दिव्यलक्ष्मी पोखरेल, शान्ति रिसाल, दुर्गा अधिकारी, अच्युत पौडेल चिन्तन, गणेश खतिवडालगायत कवि एवं कवयित्रीले कविता वाचन गर्नुभएको थियो । सय भन्दा बढी साहित्यकारको उपस्थिति रहेको सो कार्यक्रममा धेरैले रचना वाचन गर्नुभएको थियो । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटीमा कवि गोष्ठी आयोजना गर्दै आएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्