कलाकारका दिन फर्किदै: लय समात्दै कलाकार – Janadesh Daily | ePaper

कलाकारका दिन फर्किदै: लय समात्दै कलाकार


गायक प्रकाश सपुतले दिए राहतकोषमा २ लाख
– रामबहादुर थापा, बागलुङ । अहिलेका उम्दा गायक प्रकाश सपुत गत महिनाभर व्यस्त रहनुभयो । फागुनको साङ्गीतिक यात्रालाई शनिबार अछाम महोत्सवमा बिट मार्नुभयो । यो बीचमा उहाँ पोखरा, झापा, सिन्धुली, पर्वतलगायतका ठाउँ पुग्नुभयो ।

शनिबार बर्दिवास महोत्सवमा प्रस्तुति दिनुभएका गायक दुर्गेश थापाका लागि पनि फागुन महिना औसत रह्यो । पछिल्लो महिना १५ भन्दाबढी मञ्चीय कार्यक्रममा थापाले प्रस्तुति दिनुभयो । सपुत र थापाझैँ अन्य गायक/कलाकार पनि कोरोनापूर्वको दैनिकीमा विस्तारै फर्कँदैछन् । लय समात्दैछन् ।

“खुशी लागेको छ, एक वर्षपछि फेरि दैनिकी पुरानै लयमा फर्किन थालेको आभास भएको छ”, सपुतले भन्नुभयो, “पहिलेझैँ व्यस्त तालिका नभए पनि फागुन लागेयता फाट्टफुट्ट हुन थालेका मेला/महोत्सवले केही राहत दिलाएको छ ।” अपेक्षा गरेभन्दा छिट्टै आफू मञ्चमा फर्केको अनुभूति भइरहेको सपुतले सुनाउनुभयो । गायन, सिर्जना र अभिनय कलामा समेत पोख्त सपुतले मञ्चीय कार्यक्रम आफ्नो पहिलो रोजाइमा पर्ने गरेको बताउनुभयो । “मञ्चीय कार्यक्रममा प्रत्यक्षरूपमा दर्शकसँग साक्षात्कार हुन्छ, भिन्दै खाले ऊर्जा मिल्छ”, उहाँले भन्नुभयो, “अभिनयलगायत अन्य विधाका काममा लागिरहँदा पनि मेरो ध्यान बढी मञ्चीय कार्यक्रमतिर हुन्छ ।”

अहिले मेला÷महोत्सवमा पुग्दा, दर्शकको सहभागिता देख्दा कोरोना अझै छ र ? भन्नेजस्तो भान मिल्ने गरेको सपुतले सुनाउनुभयो । बन्दाबन्दी र यात्रा प्रतिबन्धका कारण देशविदेशका साङ्गीतिक कार्यक्रम रद्द भएपछि कलाकार मारमा परेका थिए । सपुत स्वयंले महिनौँसम्म घरमै थुनिएर अत्यासलाग्दा दिन कटाउनुपरेको थियो ।

“अष्ट्रेलिया, जापानलगायत छ देशमा हुने साङ्गीतिक कार्यक्रममा जान भिसासमेत निश्चित भइसकेको थियो, कोरोनाका कारण सबै कार्यक्रम रद्द भए”, सपुतले भन्नुभयो, “विदेशमा त अझै पनि कार्यक्रम हुन सकेका छैनन्, कतै बन्दाबन्दी छ, कलाकारका लागि प्रवेशाज्ञा पनि खुलेको छैन ।” छिट्टै कोरोना महामारी पूर्णरूपमा थामिएर स्थिति सहज भएपछि साङ्गीतिक यात्राका दौरान देशदेशावर घुम्न पाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।

“मञ्चीय कार्यक्रमलाई व्यावसायिक आधार बनाएका कलाकारको कोरोनाका कारण रोजीरोटी नै खोसिने अवस्था सिर्जना भएको थियो, अहिले परिस्थिति सहज हुँदै गएको छ”, अर्का गायक थापाले भन्नुभयो ।

मञ्चीय कार्यक्रमबाट कलाकारले राम्रै कमाइ गर्छन् । चल्तीका कलाकारलाई त मेला÷महोत्सवको याममा भ्याइनभ्याइ हुन्छ । विदेशका कार्यक्रममा जाँदा त एकैपटकमा लाखौँ रुपैयाँसम्म आर्जन गर्छन् । तत्काललाई विदेशका कार्यक्रममा जान नपाए पनि देशभित्र भइरहेका मेला÷महोत्सवबाट माग आउन थालेको थापाले बताउनुभयो ।

“बन्दाबन्दीपछि ४० भन्दाबढी कार्यक्रममा प्रस्तुति दिएँ, विस्तारै व्यस्तता बढ्दैछ, खुशी छु”, उहाँले भन्नुभयो । हालै शिवरात्रिलक्षित ‘सलाइ छ सलाइ’ गीत गाएर थप चर्चा पाउनुभएका थापाले मञ्चीय कार्यक्रम नहुँदा पनि साङ्गीतिक कर्मलाई नछाडेको बताउनुभयो । उहाँको पछिल्लो गीत ‘सलाइ छ सलाइ’ युट्युबको ट्रेन्डिङ नं २ सम्म उक्लेको थियो । उक्त गीतले हालसम्म १५ लाखबढी ‘भ्युअर्स’ बटुलेको छ ।

“युट्युबबाट पनि कमाइ त छ तर मञ्चीय कार्यक्रममा चल्न सक्दा कलाकारका लागि व्यावसायिकरूपमा बढी फाइदा हुन्छ”, थापाले भन्नुभयो । असोज–कात्तिकदेखि बर्सात लाग्नुपूर्व नेपालमा मेला/महोत्सवको याम चल्छ । कोरोनाकै कारण यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम मात्रामा मेला÷महोत्वस हुने निश्चित छ ।

बन्दाबन्दीमा मञ्चीय कार्यक्रम गुमाएका कतिपय कलाकारले भने फुर्सदलाई सिर्जना कर्ममा सदुपयोग गरे । युट्युबबाट नयाँ–नयाँ गीत सार्वजनिक गरे । कोरोनापछिको झण्डै एक वर्ष जन्मघरमा बिताउनुभएका लोकगायक विष्णु खत्रीले बन्दाबन्दीमा सिर्जना गरेका गीतलाई अहिले मूर्तरूप दिइरहनुभएको छ ।

खत्रीका ‘महिला हिंसा’, ‘अस्पताल’लगायतका गीत हालै सार्वजनिक भएका छन् । बन्दाबन्दीमा गाउँमा रहँदा जनजीवनका भोगाइ, दुःख र मनोदशालाई सिर्जनामा उतार्न सघाउ पुगेको खत्रीले प्रतिक्रिया दिनुभयो । समाजका हरेक क्षेत्रझैँ कोरोनाको मारमा परेको कला जगत् पनि पुनःउत्थान हुने आशा जागेको छ । कलाकार पनि उत्साहित छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्