तिमीले सोच्नै पर्छ ! – Janadesh Daily | ePaper

तिमीले सोच्नै पर्छ !


May be an image of Bala Ram Timalsina and beard

तिमीले सोच्नै पर्छ !

                  – बालाराम तिम्लसिना
***************
तिमी
सत्यको पक्षमा कडासँग बोल्न मात्र थाल
अदालतले पक्राऊ पूर्जी पठाउँछ
प्रहरी हतकडी लिएर आउँछ
र तिम्रो नाममा
जेलमा एउटा सिट थपिन्छ
त्यसपछि तिमीले सोच्नै पर्छ !

तिमी तिम्रो पसिनाको मोल
पूरै चाहियो भन मात्रै
उद्योग मालिकले गेटमा ताल्चा लगाउँछ
सिडियोले प्रहरी खटाउँछ
र उद्योगको सुरक्षा दिन्छ
त्यही प्रहरीले भन्न थाल्छ
भिडभाड नगर्नुस
होहल्ला नगर्नुस
माथिको आदेश छ
गोली पनि चल्न सक्छ
त्यसपछि
तिम्रो शान्तिपूर्ण संक्रमण वारे
तिमीले गहिरो गरी सोच्नै पर्छ ।

तिमीले
जुन घोषणा पत्र पढेर
जुन भाषण सुनेर
जुन झण्डा हेरेर
आजसम्म भोट हालेका छौ
र त्यसको ठीक विपरित भोगेका छौ
तिमीले औंला ठड्यायौ भने
घोषणा पत्रको ठगी
भाषणको ठगी
र झण्डाको ठगीको वारेमा
सरकारले तिमीलाई
आतङ्ककारी घोषणा गर्ने छ
टाउकाको मोल तोक्ने छ
र फर्जी मुठभेडको लागि
शिकारी खटाएर बस्ने छ
यो सबै थाहा पाइसकेर पनि
तिमीले थाहा पाएनौ भने शान्तिको सीमा
तिमीले बुझेनौ भने क्रान्तिको बाह्रखरी
तिमी शान्ति शान्ति भनिरहने छौ
र तिम्रो टाउकोमा निरन्तर
लाठी वर्षिरहने छ प्रहरीको ।
तिमी
सुरक्षाकर्मीको सुरक्षाको वारेमा
न्यायधीशको न्यायको वारेमा
अख्तियारको अख्तियारीको वारेमा
नेताहरूको नैतिकताको वारेमा
वुध्दिजीविको वुध्दिको वारेमा
गुरुहरूको ज्ञानको वारेमा
कार्यकारी प्रमुखको भाषणको वारेमा
या ईश्वरको अस्तित्वको वारेमा
प्रश्न मात्रै उठाउन थाल
सत्ताले तुरुन्तै बनाउने छ
तिम्रो इन्काउन्टरको घोषणा
र कुनै दिन रेडियोले फुक्ने छ-
“प्रहरीसँगको भिडन्तमा
फलानो आतङ्ककारीको मृत्यु !”
यस्तो समाचार आउनुअघि
तिमीले सोच्न सक्ने छौ
तिमीले सोच्नै पर्छ
र पुनर्विचार गर्नै पर्छ
तिम्रो निरपेक्ष शान्तिको वारेमा !
२०७७|१२|३ -भक्तपुर

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्