धापाखेलका सात घर जोखिममा – Janadesh Daily | ePaper

धापाखेलका सात घर जोखिममा


सुभानु आचार्य,  ललितपुर।

गत सोमबारदेखि आएको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका– २४ धापाखेलका सात घर जोखिममा परेका छन् । यीमध्ये पहिराले दुई घर भत्किएका महानगरपालिकाले जनाएको छ ।

गत मङ्गलबार सो स्थानको जानकारी लिन जाँदा तीनदेखि चार तलाका घरमा समेत क्षति भएका पाइएको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं २३ धापाखेलको अर्काे टोल पानीले डुबाउँदा यहाँका स्थानीयवासीलाई समस्या परिरहेको छ ।” महानगरपालिकाका अन्य वडामा पहिराले क्षति पु¥याए तापनि मानिसमा भने हालसम्म कुनै असर गरिनसकेको सत्यालले जानकारी गराउनुभयो ।

जोखिममा परेका यी घरपरिवारलाई के गर्ने भन्ने विषयमा महानगरपालिकामा छलफल गरी त्यसैअनुसारको कदम अघि बढाइने सत्यालको भनाइ छ । महालक्ष्मी नगरपालिका– ८ शङ्खादेवीमा पहिरो गएर एकपरिवार बसेको टहरा भत्किएको, शान्त्ति निर्माण सेवाले तीन वर्षअघिदेखि काम थालेको गोदावरी खोलाको पुल समयमै निर्माण सम्पन्न नहुँदा कैयौँ खेतीबालीमा हानि पु¥याएको, लुभूको तल्लो खानेपानी दोभानमा पहिरो जाँदा लुभू बजार क्षेत्रका जनतालाई खानेपानीको समस्या भइरहेको र यहाँका ५० देखि ६० तरकारीका टनेल पनि बिग्रिएका वडाध्यक्ष विश्वराज श्रेष्ठले बताउनुभयो ।

महालक्ष्मी– ९ डाँडाथोकमा बाढीले ढल थुनिएर पाँचदेखि सात घर जोखिममा पर्नुका साथै घिमिरे थोकका चार घर पनि जोखिममा परेका वडाध्यक्ष वासुदेव शर्मा गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वडाका सडक छेउमा रहेका अग्लो भागमा पानी पर्दा ठाउँठाउँमा भत्किएर खसेका र बाढीले जमिन कटान गरी बग्दा २० देखि २५ रोपनी धानखेत पुरिएका छन् ।” डाँडाथोकको एक घरमा पहिराले असर गर्दा हाल सो परिवार छिमेकीको घरमा बस्न बाध्य भएका गौतमले जानकारी दिनुभयो ।

यसैगरी वडा नं १० लाकुरी भञ्ज्याङको ९० प्रतिशत बस्ती भिरालो स्थानमा रहँदा वर्षैपिच्छेको अविरल वर्षात्को जोखिम मोल्न बाध्य भइरहेको वडाध्यक्ष बलराम लामाले बताउनुभयो । सो वडाका दुई घरमाथिबाट पहिरो खसेर हालसमेत जोखिममा रहँदा ती परिवारलाई अन्यत्र सारिएको लामाले जानकारी गराउनुभयो ।
महालक्ष्मीका यी तीन वडामा स्काभेटर लगाएर सडक पन्छाउने र तारजाली पठाउने काम भइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हनुमन्ते पुल आसपास रिटेनिङ वाल र किष्ट अस्पताल क्षेत्रमा ढल नमिलेर बस्तीमा पानी छिर्दा ढल खोल्ने काम पनि भइरहेको छ ।” नगरपालिकाको कृषि शाखाले हरेक वडागत क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेको श्रेष्ठले जानकारी गराउनुभयो ।

गोदावरीमा यस वर्षको वर्षात्ले भित्री सडक अवरुद्ध, केही घरबस्तीमा जोखिम, धानबालीमा भेल पस्दा केही धानखेत नष्ट, ललित घुम्ती सडक ठाउँठाउँमा पहिरो, वडा नं ५ लेले थापागाउँका पाँच घरपरिवार विस्थापित र लेले भञ्ज्याङ छिर्ने मुख्य सडक अवरुद्ध, वडा नं ७ देवीचौरमा १२ घर चर्किएका, वडा नं ९ छम्पीका चारदेखि पाँच घरपहिराका कारण धरापमा रहेका सम्बन्धित वडाध्यक्षले बताउनुभयो ।

वडा नं १२ थेचोको नख्खुखोला क्षेत्रका धानबाली नष्ट, वडा नं १३ झरुवारासीका १६ देखि १७ घर जोखिममा रहेका छन् । गोदावरीका हरेक वडामा भएका नोक्सानीबारे लगत सङ्कलनको काम जारी रहेको उपप्रमुख सत्यालले बताउनुभयो ।

ललितपुरमा रहेका तीन वटा गाउँपालिकामध्ये वाग्मतीको वडा नं ४ प्युटार खयरघारीमा वाग्मती खोलाले हानेर केही जमिन बगाएको, गाउँपालिकाका मुख्यदेखि सहायक सडक अवरुद्ध हुँदा दूध र तरकारी बजारीकरण गर्न समस्या भइरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।

महाङ्कालमा बाढी र पहिराले बाटाघाटा बन्द भएका, विद्युत् भने आउने र जानेक्रम रहेको तथा लेले–चन्दनपुर–ठूलादुर्लुङ सडक अवरुद्ध भइरहेको नं ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले बताउनुभयो । महाङ्कालभित्र हाललाई सामग्री ढुवानी र गाउँपालिकामा कोही बिरामी पर्दा औषधि उपचारका लागि अस्पताल लानसक्ने वातावरण नभएको आचार्यले बताउनुभयो ।

कोञ्ज्योसोममा यस वर्ष वर्षात्ले खासै असर नगरेको गाउँपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले बताउनुभयो । काठमाडौँ हेटाँैडा जोड्ने छोटो दूरीको कान्ति लोकपथ भने पूर्णरुपमा बन्द भएको छ । ललितपुरमा रहेका छ स्थानीय तहमा यस वर्षको बाढीपहिरो र वर्षात्ले मानवीय हानि भने आजसम्म गराएको छैन । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्