वैज्ञानिक शिक्षाको मृगतृष्णा – Janadesh Daily | ePaper

वैज्ञानिक शिक्षाको मृगतृष्णा


नेपालको विद्यार्थी आन्दोलनमा (पञ्चायतकालिन समय) सर्वाधिक चर्चा र पर्खाल रङ्गीने ‘वैज्ञानिक शिक्षा’ लागु गरू भन्ने मुद्दा थियो । तत्कालिन समयमा नारा लगाउने मध्ये कयौं विद्यार्थी नेताहरू समयक्रमले मन्त्री भए । उनीहरूले आफ्ना मुद्दामा कहिल्यै ध्यान दिएनन् ।

वैज्ञानिक शिक्षाको रट लगाएर बहुदलीय संसदीय व्यवस्था अवलम्वन गरिरहेको सरकारले श्रमजीवी शैक्षिक रूपान्तरणको प्रयास गरेनन् । झण्डै पचास वर्ष अघिको नेपाललाई फर्केर हेर्ने हो भने परम्परागत सिप र प्रविधिको उत्पादन गर्दै खाद्यान्न लगायत आधारभुत आवश्यकताका वस्तुमा आत्मनिर्भर थियो । आयातित वस्तुमा लुगा, फलाम, नुन, मट्टीतेल आदि मात्र भारतीय बजारबाट किनमेल गर्नु पर्दथ्यो ।

सामाजिक रूपान्तरण र आर्थिक विकासमा व्यावसायिक-प्राविधिक-वैज्ञानिक-समृद्धि वा गरीखाने शिक्षा सशक्त माध्यम मानिन्छ । देशको आर्थिक विकासको प्रमुख आधारस्तम्भ शिक्षा हो । नेपालमा प्राविधिक शिक्षाको ऐतिहसिक तथ्य हेर्दा वि. सं.१९९९ मा प्राविधिक तालिम शिक्षालय (पुल्चोक इन्जिनियरिङ कलेज) ले प्रारम्भ गरेको थियो । त्यसैगरी वि. सं. २०१९ मा मेकानिकल प्रशिक्षण केन्द्र र बुटवल टेक्निकल इन्स्टिच्युट स्थापना भयो ।

वि. सं. २०२८ मा नयाँ शिक्षा प्रणाली अन्तर्गत माध्यमिक विद्यालयमा अनिवार्य एउटा विषय व्यावसायिक शिक्षा (४०० पूर्णाङ्क) अध्ययन गराउने व्यवस्था लागु गरिएको थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विकास र विस्तारको क्रममा २०३७ सालमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको स्थापना भयो । वि. सं २०४५ सालदेखि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद (सिटिइभिटी) ले मध्यमस्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । वि. सं. २०५० सालदेखि निजी स्तरमा पनि प्राविधिक शिक्षा तथा सीपमूलक व्यावसायिक तालिम सञ्चालनमा आएका छन् ।

प्राविधिक ज्ञान आर्जन गर्ने माध्यम दुईटा ‘पढे’ र ‘गरे’ हुन् । पढेको शिक्षा प्रमाणपत्रधारी हो भने गरेर आर्जन हुने शिक्षा प्रमाणपत्र विहिन सिप र दक्षतामा आधारित हुन्छ । ‘गरे’ शिक्षा आर्जन गरेका विश्व प्रख्यात नेपाली विभूति अरनिकोले नेपाली सिप लिएर चीन गएका थिए । उनी आफैमा समृद्धिका परिचायक थिए । कलाद्वारा नेपाललाई विदेशमा पहिचान गराउन सफल भएका थिए । गेहेन्द्र सम्शेर राणा नेपालका पहिला वैज्ञानिक थिए । उनले पेस्तौल, बारूद बनाएका थिए तर उनी शासकीय बक्र दृष्ट्रिकोणका शिकार भए ।

भुतपूर्व प्रधानमन्त्री जङ्ग बहादुर राणाले ब्रिटिश सरकारको सिको गर्दै प्राविधिक शिक्षालाई शुरूवात गरी ठूलठूला भवन, नहर, सडक आदिको निर्माण गरेको ऐतिहासिक तथ्य देखिन्छ । उनले प्राविधिक शिक्षामा देखाएको अभिरूचिले सिंहदरवार लगायतका केही ऐतिहासिक विरासत निर्माण भएका थिए । त्यसबखत नेपाली शिल्पकार, चित्रकार, वास्तुकार आदि प्रविधिमा श्रमिकले बाह्य देशको आधुनिक सिपबाट दीक्षित र प्रशिक्षित हुने सुनौलो अवसर प्राप्त गरेका थिए । भवन निर्माणमा प्रयोग हुने आधुनिक प्रविधि, यन्त्र र कलाकौसलको निपुतापूर्वक प्रयोग गरेका थिए ।

आधुनिक व्यावसायिक शिक्षाले कृषि, व्यापार, वाणिज्य, इन्जिनियरिङ्ग एवं प्रौद्योगिकी (Engineering & Technology), स्वास्थ्य, पशु चिकित्सा, गृह विज्ञान, कृषि रसायन, फसल उत्पादन, डेरी उद्योग, बीज उत्पादन प्रविधि, पर्यटन, जलविद्युत, जडिबुटी, बैङ्किङ्ग, फर्म स्थापना र व्यवस्थापन, कार्यालय व्यवस्थापन, बजार व्यवस्थापन, ग्रामीण सूचना प्रवन्धन, कम्प्युटर, भवन निर्माण, अटो इन्जीनियरिङ्ग, रेडियो एवं टेलिभिजन मर्मत, गाडी चलाउन सिकाउने, चिकित्सा प्रयोगशाला, अप्थेलमिक, एक्सरे टेक्नीसियन, खाद्यान्न आदिको अध्ययन, गुणस्तर परीक्षण आदि विभिन्न विषयमा अध्ययन गराउँछ ।

उच्चशिक्षा प्राप्त गरी सरकारी, गैरसरकारी र नीजि क्षेत्रमा कामकाज गर्ने श्रमिकले नोकरी अवधिभर अनेकन भ्रमण, तालिम र शैक्षिक योग्यताको अवसर पाउछन् । अदक्ष कामदारको रूपमा (शैक्षिक प्रमाण नभएका) सिपका धनी श्रमिकहरू दक्ष प्राविधिक (शैक्षिक प्रमाणपत्र भएका) भन्दा कुसलतापूर्वक कार्य जिम्मेवारी सम्पन्न गर्छन् । सरकारले श्रमिकका बारेमा कहिल्यै उत्पेरणा दिने कर्य गरेको देखिदैन् । निर्माण कार्यमा संलग्न श्रमिकहरू ओभरसियर र इन्जिनियर जतिकै व्यवहारिक काममा दक्षता राख्दछन् । स्वास्थका चिकित्सक झैँ उनीसँगै कामगर्ने स्वास्थ्यकर्मी गरेर चिकित्सकको काम सम्पन्न गर्छन् । यसरी अन्य विभिन्न प्राविधिक सेवामा कार्यरत जनशक्तिले प्राविधिक काममा पारङ्ग हुन्छन् ।

अहिलेको व्यवस्थानुसार प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थी परीक्षामा असफल भएमा जागिर पाउन सक्दैनन् । विभिन्न व्यवसायमा क्रियाशील श्रमिकलाई सैद्धान्तिक रूपले प्रशिक्षित गर्ने हो पढे सरहको दक्षता र सामर्थ्यवान बनाउन सकिन्छ । सार्टिफिकेटको सट्टा सिपलाई मान्यता दिने हो भने वर्षौदेखिको अनुभवी र दक्षता भएको श्रमिकले आआफ्नो कार्यक्षमता सजिलै देखाएका हुन्छन् ।

उद्योग, कलकारखाना, यातायात, पर्यटन, निर्माण आदि विभिन्न व्यवसायमा सहभागि श्रमिकले क्षमतालाई कुसलतापूर्वक प्रदर्शन गर्छन् । श्रमिकको सिप, क्षमता र कार्यकुसलता अभिबृद्धि गर्न कार्यस्थलिय शिक्षा अहिलेको अपरिहार्य आवश्यकता भएको छ । व्यवसायिक सिपयुक्त श्रमिकहरू कहिल्यै निवृत हुँदैनन् । नेपालले अवलम्वन गरेको शिक्षाले न आणविक ऊर्जाको आविष्कार गर्न सक्छ न त हातमुख जोर्ने गरी आत्मनिर्भर बनाउँछ । गरीखाने शिक्षालाई कार्यस्थलमा सञ्चालन हुने गरी शिक्षा नीति लागु भएमा यसको प्रत्यक्ष प्रभाव कृषि, पशुपालन, जडीबुटी, घरेलु उद्योग, पाक विद्या आदिमा उल्लेख्य सकरात्मक प्रभाव पर्नेछ ।

परम्परागत एवं आधुनिक श्रममा आधारित कार्यशाला उन्मुख प्राविधिक विद्यालय तथा विश्व विद्यालको स्थापना हुनु आवश्यक भइसकेको छ । इन्जिनियरिङ्ग, मेडिकल, कृषि, पशु, वन, भूमि आदि विश्व विद्यालयले उत्पादन गरेको जनशक्ति सहर केन्द्रित छ । नेपालले अवलम्वन गरेको प्राविधिक शिक्षा सिपमूलक र शोधमूलक देखिदैन् । फलस्वरूप प्रविधिको विकास एवं आर्थिक उन्नतिको बाधक मौजुदा शिक्षा नीति देखिन्छ । देशमा पुरानो शिक्षा, नयाँ शिक्षा, ननएकेडेमिक, एकेडेमिक, स्वदेशी, विदेशी, सरकारी र निजी, औपचारिक र अनौपचारिक आदि बिभिन्न खालका विभेदको बीउ रोप्दै सरकारले शिक्षाको बागडोर सम्हालेको छ ।

नेपालमा व्यावसायिक र परम्परागत सिपलाई जात विशेषको पेशासँग जोडिने गरिन्छ । जातिय पेशालाई अवलम्वन गर्दा अवहेलित हुने डरले पेशामा निर्भर जातजाति पेशाविहिनको अवस्थामा छन् । परम्परागत सिपमा आधारित घरेलु उद्योगहरू जस्तैस् विश्वकर्मा वा कामी वा लुहारले फलाम र तामाका भाँडाकुँडा बनाउथे । हातहतियार निर्माण गर्थे । कुमालेद्वारा माटाका भाँडाकुँडा बनाउथे । सुनारको पेशा सुन चाँदीका गरगहना बनाउनु थियो । दमाईले कपडा सिलाउथे ।

सिकर्मीले काठबाट निर्मित हुने चौकोस, झ्यालढोका, फर्निचर, कलात्मक र बुट्टेदार काठका कलात्मक घर र फर्निचर निर्माण गर्थे । डकर्मीले इँट, ढुङ्गा, सिमेन्ट आदिले घर निर्माण गर्थे । निङला र बाँसका डोका, डालो आदि निर्माण कार्यमा सीमित जातहरू आवद्ध थिए । गाउँघरमा बाबियोको रस्सी बाट्थे । ऊनी र सुती कात्ने कपडा बुन्ने कार्य गरिन्थ्यो ।

घटेरो (घट्टवाला)ले खाद्यवस्तु पिस्ने कार्य गर्दथे । सबै जातजातिले ओखल र ढिकी कुट्थे, जाँतोले पिठो पिस्ने कार्य गर्दथे । तेल पेल्ने, उखु पेल्न कोलुको प्रयोग हुन्थ्यो । कृषि कर्ममा प्रयोग हुने औजार र हातहतियार गाउँघरमा निर्माण गरिन्थे । स-साना घरेलु उद्योगहरू गाउँघरमा स्थापित थिए । कृषिमा प्रयोग हुने गोबर मल उत्पादन घरघरमा उत्पादन गरिन्थ्यो । दूध र दुग्धजन्य पदार्थ घरघरमा उत्पादन गरिन्थ्यो । मानिस र पशुपन्छीको उपचार कार्यमा परम्परागत वैद्यहरू क्रियाशील थिए ।

परम्परागत सिपसँगै धेरै मानिसहरू रोजगारीमा आवद्ध थिए । पुस्तेनी परम्परागत सिप पुस्तान्तरण भइरहन्थ्यो । सिपविहिन कोही हुँदैन्थे । स्थानीय श्रोत साधनको अधिकत्तम प्रयोग भइरहेको हुन्थ्यो । आर्थिक र सामाजिक रूपले सबै तह र तप्काका आत्मनिर्भर थिए । पुस्तेनी व्यावसायिक पेशा अहिले पुस्तान्तरणमा अनाकर्षण देखिन्छ ।

आधुनिक शहरीकरणले नयाँनयाँ पेशा र व्यवसाय देखा परेका छन् । जस्तैस् अटोमेकानिक्स, कृषिमा तरकारी खेती, पशुपालन, कन्फेसनरी उद्योग, सावुन उत्पादन, निर्माण व्यवसाय, पर्यटन, होटल व्यवसाय आदि । यसमा संलग्न श्रमिकमा व्यवसाय सञ्चालन गर्न आवश्यक सिप, ज्ञान, अनुभव एवं दक्षता प्राप्त भएका र नभएका देखिन्छन् । उद्यम गर्न सार्टिफिकेट भन्दा सिपको खाँचो हुन्छ । सार्टिफिकेट जागिर खाने भाँडो हो । सार्टिफिकेटधारीमा सिप छ भन्न सकिदैन् । अदक्षश्रमिकको कलाकौसल अनुसार जीवनपर्यन्त दक्षश्रमिक हुन्छ । तर पनि ऊ अदक्षश्रमिकको रूपमा काम गरिरहेको हुन्छ ।

नेपालमा सिप भन्दा पनि सार्टिफिकेट बिक्ने प्रथाले व्यवसायिकता पछि परेको छ । एउटा अदक्षश्रमिकलाई शैक्षिक रूपान्तरण गरेर दक्षश्रमिक बनाउने शिक्षा नीति हामी कहाँ छैन् । अदक्षश्रमिकलाई शैक्षिक कार्यक्रमसँग जोडेर कार्यस्थलमा ‘गर्दै सिक्दै’ (Doing and Learning) शैक्षिक कार्यक्रम लागु गर्न सकिएमा उत्पादन बढाउनुका साथै श्रमिकको वृति विकास गरी प्रोत्साहन गर्न सकिन्छ ।

नेपालमा बालबालिकालाई काममा लगाउन नहुने गरी कानुन निर्माण भएको छ । घरेलु हिंसा, सामाजिक र आर्थिक कारणले बालश्रमिक होटल, यातायात, उद्योग, व्यवसाय, घर आदि विविध क्षेत्रमा कार्यरत देखिन्छन् । अनधिकृत रूपमा बालश्रमिकको प्रयोग खुलेआम भइरहेको छ । कानुनका संरक्षकका घरमा बालश्रमिक कार्यरत छन् ।

नेपालको सामाजिक, आर्थिक र धार्मिक परिवेशको सिकारले बालश्रमिक श्रम गर्न बाध्य देखिन्छन् । बालबालिकालाई काम गर्न दिने गरी सम्बन्धित ऐन संशोधन गरिनु जरूरी छ । बाल श्रमिकलाई काममा लगाउने मालिक र सरकार पक्षका बीचमा शिक्षा दीक्षाको सुनिश्चित्ता दिने गरी बालबालिकालाई काम लगाउनुलाई दण्डनीय मानिनु हुँदैन् । अहिलेकै कानुनी बाध्यताका बावजुद कयौं बाललबालिका श्रमिकको रूपमा हिंसाजन्य पीडा भोक्दै छन् । बालबालिका श्रम बन्नुको बाध्यतालाई मध्यनजर गरी श्रमिकको रूचि अनुसार जोखिम नहुने गरी पठनपाठनको कानुनी व्यवस्था सुनिश्चित गरिनु पर्दछ । कामकाजी श्रमिकको उमेर, स्वास्थ र कामको प्रकृति हेरी औपचारिक शिक्षा उपलब्ध गराउने बाध्यात्मक कानुन निर्माण गरिनु पर्दछ ।

श्रमिकमैत्री सिपलाई सम्बद्ध कार्यशालामा केन्द्रित शिक्षापद्धति लागु गरिनु उपयुक्त हुन्छ । आधुनिक विश्व जगतमा सञ्चारको यथेष्ठ पहुँच भएकोले अनलाइन शिक्षा मार्फत पठनपाठनको दायरामा बालश्रमिकलाई ल्याउनु अति जरूरी छ । ‘काम गर्दै पढू’ शिक्षा नीति लागु गरी विद्यालयको पहुँच बाहिर भएका बालबालिकालाई व्यावसायिक शिक्षा दिइनु पर्छ । यसकार्यले शिक्षाबाट बञ्चितिकरणमा परेका वर्ग र समुदायलाई शिक्षाको मूलधारमा ल्याउन उल्लेख्य सफलता प्राप्त हुनेछ ।

प्राविधिक एवं व्यावसायिक शिक्षाको प्रमुख उद्देस्य भनेको प्रत्येक श्रमिकको रोजगारी क्षमता बढाउने र रूचि अनुसार शिक्षा उपलब्ध गराउनु हो । देशको माग अनुसार आधुनिक प्रविधिलाई सञ्चालन गर्न सक्ने कुसल जनशक्तिको माग र आपूर्तिका बीचको अन्तरलाई सामन्जस्य गर्नु हो । विद्यार्थीमा आत्मविश्वास जागृत गरी स्वरोजगार सृजना गर्न उत्प्रेरित गराउने छ । राज्यले सञ्चालन गरिरहेको अवैज्ञानिक शिक्षाले दिनानुदिन उद्देश्यविहिन र रूचिविहीन बेरोगार उत्पादन भइरहेका छन् । नेपालको संविधानमा “समाजवाद उन्मुख” हुने विषय नितान्त शिक्षासँग जोडिन्छ । नेपाली शिक्षाको जग पढन्ते/घोकन्ते र अवैज्ञानिक छ । वैज्ञानिक शिक्षालाई (प्राविधिक वा व्यावसायिक) निम्नस्तर र मध्यमस्तरसम्म सीमित गरी अग्रगामी बाटो नियोजन गराइएको छ । शिक्षाको आवरणमा ‘गरिखाने’ भन्दा ‘बोलिखाने’ र ‘मागी खाने’ शिक्षाको अन्त्य गरिनु पर्छ ।

शिक्षाले सर्वप्रथम व्यक्ति र त्यसपछि समाजलाई बदल्ने अदभुत शक्ति राख्दछ । सामाजिक दायित्वलाई आत्मसाथ गर्नु पर्छ भन्ने ज्ञान शासकलाई सिकाउछ । अनिमात्र एउटा मानिस आत्म-स्वावलम्वी, कर्मशील, विवेकी, सत्मार्गी हुन्छ । अहिलेको शिक्षाले ‘कु’ गरी कमाउन सिकाउने, कामचोर, गफ गरी खाने, दायित्वबाट पन्छ्याउने, दोषारोपण गर्न सिकाउने, परनिर्भरता बढाउने, दासत्व स्वीकार्ने आदि पथमा लम्किदै गएको छ । प्राविधिक शैक्षिक कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका ट्रेड स्कुल एवं कलेजहरू तालिम केन्द्र, टिएसइई र डिप्लोमा तहको कार्यक्रम अन्तर्गत सञ्चालनमा भए पनि परम्परागत सिपलाई संरक्षण गर्न उद्यत देखिदैनन् ।

नेपालमा प्राविधिक शिक्षालाई गन्जागोल बनाइएको छ । व्यवसायिक वा तकनीकी शिक्षा प्रणाली अन्तर्गत सञ्चालनमा रहेका इन्जिनियरिङ्ग, मेडिकल, प्रौद्योगिक, वास्तुकला (आर्किटेक्चर), होटल मैनेजमेन्ट, शिल्प, कृषि तथा पशुपालन आदि शिल्पी शिक्षालाई शैक्षिक र गैरशैक्षिक (Academic & Non-Academic) को रुपमा राज्यले अवलम्बन गरेको छ ।

प्राविधिक शिक्षा रोजगारी र उत्पादनका दृष्ट्रिकोणले महत्वपूर्ण हुन्छ । देशको आर्थिक एवं सामाजिक विकासमा प्राविधिक जनशक्तिको सक्रिय भूमिका हुन्छ । अहिले नेपाली बजारमा प्राविधिक जनशक्ति गैरशैक्षिक र शैक्षिक गरी दुई किसिमका पाइन्छन् । ननएकेडेमिक (गैरशैक्षिक) कोर्षबाट उत्पादित जनशक्तिले उच्च शिक्षाको अवसर पाउदैनन् । विशेषगरी ट्रेड स्कुल वा व्यावसायिक स्कुलबाट शिक्षा आर्जन गरी कामको सिलसिलामा सरकारी निकायमा बहालवाला कर्मचारीहरू आफ्नो विषयमा जतिसुकै जेष्ठ र विज्ञ भए पनि उनीहरू कनिष्ट (शैक्षिक प्रमाणपत्रधारी) को मातहतमा बस्न बाध्य हुन्छन् ।

यतिमात्र होइन प्राविधिक विषयमा काम जति तल्लोतहकाले गर्ने र सहिछापका लागि प्रमाणपत्रधारी चाहिने कानुनी व्यवस्था छ । जसले गर्दा सरकारी सेवामा द्वन्द्वको अवस्था छ । राज्यले प्राविधिक शिक्षालाई नियोजित रूपमा नियोजन गर्न खोजेको देखिन्छ । शिक्षामा एकेडेमिक र ननएकेडेमिकको विभेद कायम रहनु राज्यका लागि सोभनीय होइन् ।

सुरक्षित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन सुनिश्चित गर्न पनि व्यवसायिक शिक्षाको खाँचो देखिन्छ । प्राविधिक शिक्षाले रोजगारमूलक पूर्वावाधार र स्थानीय विकासका कार्यक्रम (ग्रामीण सडक, लघु सिंचाई, स्वास्थ्य, शिक्षा, विद्युत आदि) संचालनमा सहयोग पुर्‍याउँछ । स्थानीय तहले प्राप्त गरेको जनशक्तिको आधारमा कार्यक्रम निर्माण गरी तथा क्षेत्रगत विकास योजनाको तर्जुमा गरी रोजगार प्रदान गर्न मद्दत पुर्‍याउँछ ।

मौजुदा शैक्षिक नीति, श्रम कानुन, औद्योगिक नीति, वैदेशिक लगानी आदिलाई समय सापेक्ष परिवर्तन गर्नु नितान्त आवश्यक छ । शैक्षिक संस्थाहरूले श्रमिकको आवश्यक्ता, चाहना र श्रम बजारको आवश्यकतालाई मनन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नु पर्ने हुन्छ । रोजगारीका अवसरलाई संकलित गरी एकीकृत सूचना प्रवाह गर्न रोजगार सम्बन्धी एक गतिशील राष्ट्रिय वेभर्साईट निर्माण गर्नु पर्छ ।

बजारको आवश्यक्तालाई मनन गरी सूचना सम्प्रेषण गर्ने विश्वसनीय संयन्त्र स्थापना गरिनु पर्छ । सरकारी, अर्धसरकारी, गैरसरकारी, निजी तथा दातृ निकायबाट प्रदान गरिने सीपमूलक व्यावसायिक तालिमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन अनुसन्धानमूलक प्राविधिक शिक्षालाई समयानुकुल परिवर्तन गर्नु पर्ने टडकारो आवश्यकता छ ।

सामाजिक सुरक्षाको सुनिश्चिता, बजारको माग अनुसार पुर्ति, समय सापेक्ष प्रविधिको विकास, प्रतिस्पर्धात्मक बजार, गुणस्तरीय उत्पादन र आर्थिक गतिविधिको आधार निर्माण गर्न प्राविधिक शिक्षाको विकल्प देखिदैन् । वैज्ञानिक शिक्षाको मृगतृष्णा बोक्नु भन्दा ‘काम गर पढ’ (कार्यस्थलीय) शिक्षाको विकास गर्न अनलाइन खुला प्राविधिक विश्वविद्यालय स्थापना गरी समृद्धिको आधार निर्माण गर्न ढिला गर्नु हुन्न ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्