काम खोज्ने मजदूरको स्वाब सङ्कलन – Janadesh Daily | ePaper

काम खोज्ने मजदूरको स्वाब सङ्कलन


जनादेश नेपालगञ्ज ।

नेपालगञ्जको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदूरको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरिएको छ ।

बिहीबारबाट स्वाब सङ्कलन शुरु गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब सङ्कलन गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो । मजदूरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यले समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने बताइएको छ । उहाँका अनुसार, ३६५ जनाको नाम दर्ता गरेकोमा बिहीबार १३० जनाको स्वाब सङ्कलन गरिएको छ ।

भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ यहाँस्थित भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई बिहीबार अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

उहाँमाथि अस्पतालको सामान खरिदमा रु १६ लाख १३ हजार ७५ कमिशन लिएको अभियोग लगाइएको छ । आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर खनाललाई पक्राउ गरिएको छ ।

आयोगको टोलीले केही दिन अघि नेपालगञ्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका एक अधिकृतलाई रु ९६ हजार घुससहित पक्राउ गरेको थियो । यसैबीच, बाँके प्रहरीले प्रतिबन्धित औषधि कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले गए राति डुडुवा गाउँपालिका–१ पाजाबाट ६५ सिसी कोरेक्ससहित सोही स्थान बस्ने ३० वर्षीय आशिष अहिर र २७ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो ।

भारतबाट ल्याइएको उक्त प्रतिबन्धित औषधि कोरेक्स नष्ट गरी आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्