लालपूर्जा वितरणमा अन्योलता – Janadesh Daily | ePaper

लालपूर्जा वितरणमा अन्योलता


–राजकुमार पराजुली, काभ्रेपलाञ्चोक ।

एक वर्षअघि भुम्लु गाउँपालिकास्थित फिल्डमा खटेको नापी कार्यालयको टोली फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिरासा छाएको छ ।

एक वर्षअघि उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा जिल्ला नापी कार्यालयका दुई टोली स्थानीयको जग्गाधनी र जग्गाको छानविन गरी लालपूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न राखिएको थियो । तर ती टोली मालपोत कार्यालयको असहयोग तथा अन्य विविध कारण देखाउँदै हालै जिल्ला फर्किएपछि लालपूर्जा वितरणमा अन्योलता छाएको हो ।

गाउँपालिकाका सीमा विवादका कारण आफ्नै जमीन आफ्नो नाममा नभएपछि करिब एक हजार २०० लालपूर्जा विहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा गत माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थए । भुम्लु गाउँपालिकाले भने केही दिनअघि मात्रै तत्काल काम पुनःसचालन गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेको छ । “निवेदनउपर छानविन गरी जग्गदाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिसकेको अवस्थामा कर्मचारीले फिल्ड छाडेर हिडेपछि हिड्नुको कारणसहित दुवै कार्यालायलाई पत्राचार गरेको हो”, गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भन्नुभयो ।

कुँवरसहितको पीडित टोलीले काम सुचारु गर्न आग्रहसहित दुवै कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानले कर्मचारी फर्काउने प्रक्रिया भइरहेको बताउनुभयो । उहाँका अनुसार करिब ३०० को लालपूर्जा तयार भैसकेको छ । साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफुले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) प्राप्त गर्न सकेका छैनन् ।

नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सुचारु नगर्दा अन्यौलता छाएपछि निवेदन दर्ता गर्न बाध्य भएको वडा नम्बर ७ का स्थानीय रमेश खरेलले बताउनुभयो । “कार्यालयमा कर्मचारी पनि नियमित उपस्थित नहुने र विभिन्न बहाना देखाएर प्रक्रिया बीचमै छाडेर हिड्ने भएपछि अन्योलता छाउँदै आएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार दुवै कार्यालयका कर्मचारीले स्थानीयको निवेदन बुझेर हिडेका हुन् ।

नापी कार्यालयका अनुसार हालसम्म ७ नम्वर वडास्थित कार्यालयमा ९३२ र ८ नम्वरमा ३१७ निवेदन दर्ता भएको छ । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि नबढेको उहाँले बताउनुभयो । “मालपोत कार्यालयबाट जमीनको शुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपूर्जा दिन सकिन्छ”, कार्यालयका सूचना अधिकारी नापी अधिकृत सुरेश मानन्धरले भन्नुभयो । उहाँका अनुसार हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गा दर्ता गर्न सकिनेछ ।

नापी कार्यालयले मालपोत कार्यालयको असहयोगका कारण थप प्रक्रिया अघि बढाउन नसकिएको आरोप लगाएको छ । न्यौपानेले भन्नुभयो, “मालपोतले जग्गाधनीको मोठ भिडाउन सहयोग गरेन, उसले जग्गाको धनीसमेत पहिचान गरिदिनुपर्ने हुन्छ ।” उहाँका अनुसार थप प्रक्रिया नहुने भएपछि फिल्डमा खटाइएका कर्मचारीलाई जिल्ला कार्यालय फर्काइएको हो । साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमीन परेपछि त्यो जमीन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।

मालपोत कार्यालयप्रमुख लोकबहादुर भण्डारीले भुम्लुमा लालपूर्जासम्बन्धी केन्द्रीय कार्यालयबाट कर्मचारी खटाउन कुनै आधिकारिकता नआएको बताउनुभयो । उहाँले उच्चस्तरीय विशेष आयोगविना भुम्लुको समस्या समाधान गर्न नसकिने पाइएको बताउनुभयो । उहाँले जिल्लास्थित नापी र मालपोत कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले सम्बन्धित मन्त्रालय, तहगत सांसद तथा स्थानीय जनप्रतिनिधिको समन्यवमा समस्या समाधान गर्न आफू प्रक्रियामा जाने बताउनुभयो । विभाग र मन्त्रालयको स्पष्ट नीति र निर्देशन नभएका कारण विवादित जग्गाको नापजाँच तथा पूर्जा बनाउन समस्या परेको जनाइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्