कर्णालीका सबै क्षेत्रमा सन्तुलित विकासका लागि इमान्दारीतापूर्ण र जिम्मेवारीपूर्वक पहलकदमी लिएको छुःमुख्यमन्त्री शाही – Janadesh Daily | ePaper

कर्णालीका सबै क्षेत्रमा सन्तुलित विकासका लागि इमान्दारीतापूर्ण र जिम्मेवारीपूर्वक पहलकदमी लिएको छुःमुख्यमन्त्री शाही


जनादेश, कर्णाली ।

मा. मुख्यमन्त्री महेन्द्र बहादुर शाहीज्यूले कर्णाली प्रदेश सभामा गर्नु भएकसम्बोधन,  २078 वैशाख ३

सभामुख महोदय¸

प्रदेश सभाका माननीय सदस्यज्युहरु,

  • सर्वप्रथम, नयाँ वर्ष २०७8 सालको अवसरमा कर्णालीबासी बुवा‑आमा¸ दाजु‑भार्इ तथा दिदी बहिनीहरुलार्इ जीवनमा सुख¸ शान्ति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
  • जनयुद्ध¸ जनआन्दोलन र कर्णाली प्रदेश स्थापनाका शहिद¸ वेपत्ता नागरिक¸ घाइते तथा अपांग भएका योध्दाहरूप्रति उच्च सम्मान प्रकट गर्दै उक्त महान आन्दोलनमा सरिक सवै राजनीतिक दलमा आवद्ध नेता, कार्यकर्ता एवं समस्त जनसमुदायलार्इ सम्झन चाहन्छु ।
  • संघीय व्यवस्था कर्णालीलाइ चाहिएको थियो ।यसैले जनयुद्ध, जनआन्दोलन र कर्णाली प्रदेश प्राप्तिको आन्दोलन गर्नुपर्ने अवस्था भयो । संघीयताकै कारण सिंहदरवारको अधिकार गाउँ गाउँसम्म पुराउने र नजिकको सरकारको रूपमा प्रदेश सरकार रहने व्यवस्था स्थापना भयो । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार स्थापना भएको र कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भर्इ जनताको सेवा गर्न पाएकोमा गर्व लागेको छ ।
  • संघीय सरकारको संरचना वनिवनाउ थियो । तर प्रदेश सरकारका लागि नयाँ संगठन, संरचना, ऐन कानून र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको थियो ।आफ्नो पदभार ग्रहणको लागि आफ्नो कुर्सी, टेवल र कार्यकक्ष समेत आफैले व्यवस्थापन गर्नुपर्ने परिस्थितिवाट प्रदेश सरकार अगाडि बढेको थियो । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैमा संघीय व्यवस्था संचालनका लागि अनुभवको कमी त थियो नै त्यसमाथि संघीय सरकारको प्रदेश तहलाइ हेर्ने दृष्टिकोण समेत स्पष्ट थिएन, जो आजसम्म कायमै छ ।
  • प्रदेश सरकारलाइ आवश्यक संगठन संरचना र जनशक्तिको व्यवस्थापन गर्नु पहिलो चुनौती रहेको थियो ।संवैधानिक र कानूनी जिम्मेवारी पुरा गर्न प्रदेश कानुनहरूको समेत व्यवस्था गर्नुपर्ने अवस्था थियो । अनुभवी जनशक्तिको अभावकै बीचवाट हामीले संगठन संरचना र जनशक्तिको व्यवस्थापन गरेका छौं। यसैगरी आधारभूत कानूनहरू निर्माण गरी कार्यान्वयनमा ल्याएका छौं । सरकार संचालनको लागि आधारभुत जग बसाल्ने काम भएको छ ।
  • हामीले योजनावद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना बनाएर सार्वजनिक गरिसकेका छौं। संघीय सरकारसँग समन्वय गरी कर्णाली करिडोर¸ भेरी करिडोर¸ कोहलपुर‑सुर्खेत सडक र राष्ट्रिय प्रशारण लाइन तथा रणनैतिक महत्वका रुपान्तरणकारी आयोजना अगाडि बढाउन पहल गरिरहेका छौं । प्रदेश गौरवका आयोजनाहरू पहिचान गर्ने गरी प्रदेश गौरवका आयोजना निर्धारण मापदण्डको मस्यौदा तय भएको छ ।
  • अन्तर प्रदेश¸ अन्तर जिल्ला र अन्तर पालिकासँग जोडिएका महत्वपूर्ण आयोजनालार्इ प्रदेश महत्वका आयोजनाका रुपमा अघि बढाएका छौ । मझौला आयोजनाका रुपमा कृषि, उद्योग¸ पर्यटन, गरिवी निवारण¸ सामाजिक सुरक्षा जस्ता कार्यक्रमहरु लागु भैरहेका छन् । स्थानीय तहसँग सहकार्य र समन्वयमा स्थानीय पहिचानका आयोजना अगाडि बढाएका छौ ।
  • विकास र समृद्धिका लागि तीन पटक प्रदेश समन्वय परिषद र एक पटक प्रदेश विकास परिषदको बैठकको आयोजना गरी रणनैतिक महत्वका निर्णय लिएका छौं। ती निर्णयहरु नीति र विधिमा ढाल्दै कार्यान्वयनमा रहेको जानकारी गराउन चाहन्छु ।
  • हामीले एक चौमासिक र ३ वटा वार्षिक जनपक्षीय नीति तथा कार्यक्रमका साथै बजेट ल्यायौं । कोही अनुसन्धानकर्ताले विना पुर्वाग्रह अध्ययन गरेको खण्डमा हामीले सवै क्षेत्रमा सन्तुलित विकासका लागि इमान्दारीतापूर्ण र जिम्मेवारीपूर्वक पहलकदमी लिएको तथ्य सवैका सामु आउने निश्चित छ ।

 सभामुख महोदय¸

  • प्रदेश सरकार गठन भएयता ९५ वटा मन्त्रिपरिषद्का वैठकहरु भएका छन्। वैठकले ५८७ वटा जनपक्षीय निर्णयहरु गरेको जानकारी गराउन चाहन्छु ।
  • हामीले सवैभन्दा पहिले प्रदेशको नाम र राजधानी निर्धारण गर्ने काम सर्वसम्मती वाटै गरेको स्मरण गराउन चाहन्छु । हामीले हाम्रा विकास, आवश्यकता र प्राथमिकताको तय हामी आफैले गरेका हौं । जसअनुसार सरकारले पूर्वाधार विकास, सामाजिक विकास, उत्पादन र उद्योग, विज्ञान प्रविधि र अनुसन्धान, पर्यटन र वातावरण तथा सुशासनलार्इ उच्च प्राथमिकता दिर्इ तिव्र आर्थिक विकासको मार्ग तय गरेको छ ।
  • कर्णालीवासीको जीवनस्तरलार्इ केन्द्रमा राखी मुख्यमन्त्री रोजगार कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, उद्यमशीलता तथा आयआर्जन विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम लगायतका कार्यक्रमहरु अगाडि बढाइएको छ ।
  • महिला सशक्तिकरण विना समाज विकासको कल्पना पनि गर्न सकिदैन । यही तथ्यलाइ मनन गर्दै छोरीमाथिको विभेद अन्त्य गर्न, शिक्षामा पहुँच स्थापित गर्न र वालविवाह रोक्न वैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रम लागु गरी हालसम्म ६ हजार ५ सय छोरीहरूको वैंक खाता खोलिएको छ । यस्तै छोरीबुहारी छात्रवृत्ति कार्यक्रम पनि लागु भएको छ।
  • हाम्रो प्रदेशमा करिव २९ प्रतिशत दलित समुदायको वसोवास रहेको छ।दलित समुदायका लागि दलित मुलप्रवाहीकरण कार्यक्रम अगाडि बढाएका छौं । लोपोउन्मूख घुमन्ते राउटे समुदाय र सिमान्तकृत समुदायहरुलाई सुरक्षा र जिविकोपार्जनका लागि विशेष व्यवस्था गरिएको छ।
  • गत एक वर्षदेखि प्राकृतिक महामारीको रूपमा फैलिएको कोभिडका विरूद्द लडन नै सरकारको साधनश्रोत र समय केन्द्रीत गर्नुपर्ने अवस्था भयो ।अहिले पनि कर्णालीवासीको अभिभावकत्व निर्वाह गर्नुपर्ने दायित्व पुरा गरिरहेका छौं।
  • कोभिडबाट प्रभावित भएका बेरोजगार युवाहरु र गरिवी निवारणलार्इ लक्षित गरी आफ्नो गाउँठाउँको विकास आफै गर्न जनसंख्या¸ गरिवी र विकटताका आधारमा वजेट विनियोजन गरी मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन भैरहेको छ । यस कार्यक्रमवाट प्रत्येक वडामा कम्तिमा ३३ लाखदेखि ६५ लाखसम्म पुग्ने गरी २ अर्ब ९८ करोड वजेट निकाशा भएको छ ।
  • फेरि पनि यो वर्ष महामारी¸ भोकमरी र रोजगारीलार्इ प्राथमिकता दिनुपर्ने देखिएको छ । कोभिडको दोस्रो लहर आएको देखिन्छ । गत वर्ष सलह र यो वर्ष लामो खडेरी पर्दा भोकमरी पर्न सक्ने देखिन्छ। यो विषम परिस्थितिमा हामीले जिम्मेवार भर्इ सम्पादन गर्नुपर्ने काम एकातिर छ¸ तर राजनैतिक रुपमा बेमौसमी बाजा बजाएर कर्णालीको विकास र समृद्धिको बाधक हामीहरु भित्रैबाट देखा पर्नु दु:खदायी विषय हो ।

सभामुख महोदय¸

  • हाम्रो सरकारले माननीय सदस्यहरूको सुझावलार्इ महत्वपूर्ण पुँजीको रुपमा लिदै आएको छ । विभिन्न समस्याका वावजुद हामीले कर्णाली प्रदेश र जनतालार्इ केन्द्रमा राखेर इमान्दारितापूर्वक पहलकदमी लिइरहेका छौं।प्रदेशको विकास र समृद्धिका लागि हर तरहले सुझाव दिनुहुने माननीय सभामुख महोदय¸ माननीय प्रतिपक्षी दलका नेता र प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यज्यूहरुप्रति आभारी छु। तपार्इहरुका शुभेच्छा जनताका उच्च चाहनाका अभिव्यक्ति हुन् भन्ने लाग्दछ।
  • हामीले प्रदेश सरकार निर्माण गर्दा कर्णालीको तिव्र विकास, आर्थिक समृध्दि र राजनैतिक स्थायित्वको सुन्दर सपना देखेका थियौ । यसका लागि कोही पनि प्रतिपक्ष नहुने प्रतिवद्धता गरेका थियौं र कर्णालीको प्रतिपक्ष भनेको रोग, भोक र गरिवी हो भन्ने साझा निश्कर्षमा प्रदेशसभा पुगेको तथ्य हामीले भुल्नुहुदैन ।
  • हामीले जनताको बीचमा मत माग्दा राजनैतिक स्थायित्व र कर्णालीको समृद्धिको यात्रा तय गर्ने कबुल गरेका थियौ । बाम गठबन्धनमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को साझा घोषणापत्र र प्रतिवद्धताका आधारमा हामीले मत प्राप्त गरेको तथ्य पनि हाम्रो सामु जिवितै छ । यो तथ्य कसैले पनि भुल्नु हुँदैन र जनमतको अपमान गर्ने प्रयत्न पनि कोही कसैवाट नहोस भन्न चाहन्छु।
  • हाम्रो चिन्ता र चासो भनेकै कर्णाली प्रदेशको तीब्र विकास र आर्थिक समृद्धि हासिल गर्नु नै हो। त्यसका लागि राजनीतिक स्थायित्व अहिलेको प्रमुख आवश्यकता हो । यसर्थ राजनीतिक स्थायित्व कायम गर्न, कर्णालीको तिव्र विकास र आर्थिक समृद्धिको अभियानलाइ निरन्तरता दिन यस सम्मानित सभाबाट विश्वासको मत लिन आवश्यक ठानेको छु । म सवै राजनीतिक दल सम्वद्ध माननीय सदस्यज्यूहरूलाइ विश्वासको मत दिन माननीय सभामुखज्यू मार्फत हार्दिक अनुरोध गर्दछु । धन्यवाद !

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्