दाङमा तोरी उत्पादनमा ५४.८६ प्रतिशत वृद्धि – Janadesh Daily | ePaper

दाङमा तोरी उत्पादनमा ५४.८६ प्रतिशत वृद्धि


देउखुरी, दाङ । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत बढेको हो ।

गत वर्ष २० हजार १७८ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस वर्ष १८ हजार ६०० हेक्टर जमीनमा लगाइएको तोरी ३१ हजार २४८ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्षभन्दा यस वर्ष ११ हजार ७० मेट्रिक टन वढी तोरी उत्पादन भएको केन्द्रका सूचना प्रसार अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

औसत प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर १० क्विन्टलका दरले उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १६ क्विन्टलका दरले तोरी उत्पादन भएको छ । ” उहाँले भन्नुभयो ।

गत वर्ष तोरी खेती भएको हिँउदे मौसममा अधिक वर्षा हुँदा अन्य बालीका उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसममा अनुकूल तथा रासायनिक मलको पर्याप्तता मुख्य कारण भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष स्थानीय तहले उन्नत जातको बीउबिजन वितरण गरिनु र समयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको रहेकाले गत वर्ष तोरी उत्पादन राम्रो भएको छ । तोरी उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् ।

गढवा गाउँपालिका–७ का विकास चौधरीले यस वर्ष १० क्विन्टल तोरी बिक्री गरिएको बताउनुभयो । प्रतिक्विन्टल रु ११ हजार ५०० का दरले बिक्री गरेका उहाँले रु एक लाख १५ हजार आम्दानी गरेको जानकारी दिनुभयो । “तोरी राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “घरमा आवश्यक पर्ने राखेर बाँकी बिक्री गरेँ, यस वर्ष तोरीले राम्रो आम्दानी दिएको छ ।” उहाँ जस्तै सोही गाउँका अन्य किसान पनि तोरीको बजार मूल्य राम्रो पाएपछि औधी खुशी भएका छन् । तोरी बेच्नलाई कुनै समस्या नै भएन ग्राहक घरमै आएर खरीद गरेर लग्ने गरेकाले सजिलो भएको उहाँले बताउनुभयो ।

जिल्लालाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी उत्पादन बढाउने उद्देश्यले तोरी जोनका रुपमा विकास गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको थियो । जिल्लामा मूल बीउ उतपादन र खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकलाई कृषि औजार वितरण, विभिन्न तालीमलगायत कार्यक्रम सञ्चालन गरेको हो । परियोजना अन्तर्गत पश्चिम दाङका बबई, दङ्गीशरण र शान्तिनगर गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिका–१ र २ लाई समेटेर ‘तोरी जोन’ का रुपमा विकास भएको हो । जिल्ला तोरी उत्पादनका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादित तोरी बाहिरी जिल्लामा समेत निर्यात गर्ने गरिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्