तेब्बर बजेटले कृषि नाराको सार्थकता ! – Janadesh Daily | ePaper

तेब्बर बजेटले कृषि नाराको सार्थकता !


जनादेश काभ्रेपलाञ्चोक।

पाँचखाल नगरपालिकाले चौथोे नीति तथा कार्यक्रमसम्म आइपुग्दा कृषि क्षेत्रमा तेब्बर बजेट विनियोजन गयो ।

नगरको कषि क्षेत्र उकास्न ‘पाँचखाल नगर, कृषि शहर’को नारा घन्काउँदै आइएको पनि चार वर्ष लागिसक्यो, चालू वर्ष २०७७÷७८ का लागि कृषिमा विनियोजित बजेटबाट नाराले सार्थकता पाउनेमा पनि शङ्का नगर्ने कमै होलान् ।

यसअघिका वर्ष नारामा रुमलिएका पाँचखालका कृषक कृषि क्षेत्रमा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेटबाट ‘आशा गर्ने’सम्म मात्रै रहेको बताउँछन् । “नयाँ संरचनामा स्थानीय तह शुरुसँगै नारा घन्काइएपछि सोहीअनुसार बजेट विनियोजन हुनुपथ्र्यो, चौथो वर्ष लाग्दा बजेट बढाउनु कृषक लोभ्याउनु मात्रै हो”, वडा नं ६ का रामेश्वर सापकोटाले भन्नुभयो ।

उहाँका अनुसार यो वर्षदेखि थपिने बजेट केवल निर्वाचनलक्षित मान्नुपर्न देखियो । चालू वर्षमा कृषि क्षेत्रका लागि रु ९० लाख बजेट छुट्याइएको छ । यो विगत वर्षभन्दा तेब्बर हो । आर्थिक वर्ष २०७६/७७ का लागि नगरले कृषिमा रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

त्यसअघिका वर्षमा सोही हाराहारीमा बजेट छुट्याइएको थियो । “तेब्बर बजेटले नारालाई सार्थकता दिने विषयमा हामी पनि बेलाबेलामा छलफलमा बस्ने गरेका छौँ”, वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले भन्नुभयो । चालू वर्ष र अर्को नयाँ आर्थिक वर्षमा बजेट बढाउँदा नाराको सूत्रधार मात्रै बन्ने ढकालको तर्क गर्नुहुन्छ ।

ढकालका अनुसार वर्षेनी न्यून बजेटले पाँचखाल नगरको नाराले सार्थकता त पाउँदैन, कृषकको आधारभूत अपेक्षा पनि पूरा गर्न सकिँदैन । नारालाई सार्थकता दिन चालू आवका विनियोजित बजेट पनि न्यून भएको उहाँ जिकिर गर्नुहुन्छ ।

“यही अनुपातमा बजेट विनियोजित भए पाँच वर्षमा करिब रु अढाइ करोड मात्रै हुन्छ, अढाइ करोडले कसरी कृषि सहर बन्छ ?”, उहाँ नै प्रतिप्रश्न गर्नुहुन्छ । भर्खरै बितेको आवमा नगरको कृषि शाखा निकै व्यस्त रहन्थ्यो । कारण कृषकका माग निकै हुन्थ्यो ।

सीमित बजेटले कृषकका माग सम्बोधन गर्न हम्मे मात्रै पर्दैनथ्यो, कतिपय अवस्थामा कृषकसँग विवाद भएका उदाहरण पनि निकै छन् । शाखाको तथ्याङ्कले कृषकको माग वर्षेनी बढ्दोदरमा रहेको देखाउँछ ।

तर नपाको न्यून बजेटले कृषकका माग सम्बोधन गर्न नसकेको शाखा प्रमुख ईश्वर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “माग धेरै हुन्थ्यो, सीमित बजेटले धान्नै मुस्किल ।” माग भएकामध्ये करिब ३० प्रतिशत कृषकलाई सम्बोधन गर्न सकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कृषकलाई आधुनिकता तथा व्यावसायिकतातर्फ लैजाने यान्त्रिकरणलगायत सामग्रीको माग बढ्दो छ । त्यसो त नगरको नारा र कृषिमा विनियोजित वार्षिक बजेटको तारतम्य नमिलेको प्रष्टै देखिन्थ्यो । “बजेट कम हुँदा कृषकको माग सम्बोधन गर्न सकिएको थिएन, अबको तेब्बर बजेटले केही राहत मिल्ला कि !”, अधिकारीले अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार कृषिअन्तर्गत फलफूलका क्षेत्रमा पर्याप्त बजेट नहुँदा कार्यक्रम प्रभावित बन्दै आएको थियो । नगरप्रमुख महेश खरेल वर्तमान कार्यकालमा नगरको नारालाई सार्थकता बनाउने जिकिर गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिलेका वर्षमा बजेट बढाउने प्रयास ग¥यौँ तर सकिएन, हालदेखि बढाएका छौँ, आगामी वर्षको बजेटका लागि पनि अहिल्यैदेखि तयारी गर्दै जानेछौँ ।” उहाँले कृषि र पशुपालन क्षेत्रमा लगानीकर्ता भित्र्याउने योजना बनाइने बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्