विदेशिएको पाँच महिनामा शव आयो – Janadesh Daily | ePaper

विदेशिएको पाँच महिनामा शव आयो


जनादेश बागलुङ ।

गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने ।

दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपयो । धन कमाउन विदेशिनुभएका उहाँ बन्द बाकसमा फर्कनुभयो । फागुन पहिलो साता साउदी अरब पुग्नुभएका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो ।

शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा हुनुहुन्छ ।

“म पनि भारतमा थिएँ, तीन-चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो”, २१ वर्षीय दिनेशले भन्नुभयो, “हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।” १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बस्नुभएको छ । आमा सीमा ज्यालादारी काम र घरधन्दा सम्हाल्नुहुन्छ । लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो, मिठो–मसिनो पाक्थ्यो ।

घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्र परेको छ । आर्थिक स्थिति दयनीय छ । जायजेथाले बिहान–बेलुकीको निर्वाहसम्म हुँदैन । “बुबा बितेर गए पनि हामी दुई भाइ छौँ अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ”, दिनेशले भन्नुभयो । दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि दिल्लीमा हुनुहन्थ्यो ।

बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच उहाँ घर फर्कनुभएको थियो । लक्ष्मण रोजगारीका लागि शुरुमा कुवेत र त्यसपछि साउदी अरब जानुभएको थियो । उहाँमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको छोरा दिनेशले बताउनुभयो । “त्यसकै कारण बुवाको एक्कासी त्यस्तो घटना भयो”, दिनेशले भन्नुभयो ।

विदेशिनुपूर्व घरगाउँमै रहँदा पनि लक्ष्मण सीपयुक्त काममा मेहेनती र लगनशील हुनुहुन्थ्यो । “एकदम सरल, कामकाजी हुनुहुन्थ्यो, गाउँमा सबैले चिन्थे, मान्थे”, वडाध्यक्ष टीकाबहादुर थापाले भन्नुभयो, “डोका, नाम्ला बुन्ने सीप पनि थियो ।” वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको बताउनुभयो ।

दैनिक श्रम गरेर गुजारा गर्ने परिवार भएको उहाँको भनाइ छ । परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट रु छ लाख १७ हजार ६२० सङ्कलन भएको छ । सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ ।

पीडामाथि पीडा लक्ष्मणको निधनले दिएको चोट मत्थर हुन नपाउँदै सुनार परिवारमा थप अर्को पीडा थपिएको छ । सुनारको घर पहिराको जोखिममा परेको वडाध्यक्ष थापाले बताउनुभयो । “घरैछेउबाट पहिरो खसेको छ, भिरालो जमिन भएकाले जोखिम बढी छ”, उहाँले भन्नुभयो ।

वडाले पहिरा रोकथाममा सुनार परिवारलाई सहयोग गरिने जनाएको छ । छिमेकमा रहेका मनबहादुर विक र अङ्कित विकको घर पनि पहिराले जोखिममा पारेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्