उपत्यकाका ३ जिल्लामा १५ दिनको निषेधाज्ञा सुरुः के खुल्ने के बन्द हुने (सूचीसहित) – Janadesh Daily | ePaper

उपत्यकाका ३ जिल्लामा १५ दिनको निषेधाज्ञा सुरुः के खुल्ने के बन्द हुने (सूचीसहित)


जनादेश अपडेट ।
सरकारले आजदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा १५ दिने निषेधाज्ञा लागु गरेको छ । विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।

निषेधाज्ञाका कारण काठमाडौं सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाएका थिए । तर मन्त्रिपरिषद् बैठकले भने त्यसलाई एक हप्ता थपेर १५ दिन पुर्‍याएको थियो ।

काठमाडौंबाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले निषेधाज्ञा लगाएका छन्।

के के बन्द हुने

जिल्ला प्रशासनको आदेश अनुसार आजदेखि खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन बन्द हुनेछ ।

के के खोल्न पाइने ?
खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्