जनादेश आँखिझ्याल ।
संखुवासभा कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। उनी बिहीबार रिहा भएका हुन्।
सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा रिहा भएका हुन्। सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो।
विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले बताए।
नेता लामा विसं २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ परेका हुन्। लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो।
जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो।
धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो। विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो।
उनलाई परिवारको जिम्मामा छाडिएको छ। नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घको अध्यक्षसमेत थिए।
तर पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए। माओवादी जनयुद्धको क्रममा: उनका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ।
उनले सयौँ क्रान्तिकारी गीत गाएका छन्। उनले सङ्गीत दिएको धेरै गीतमध्ये नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ।
जनयुद्धका सहिद एवम् सांस्कृतिक योद्धा कृष्ण सेन ‘इच्छुक’ ले जेललाई सिर्जनाको थलो बनाए र शोकाञ्जली, बन्दी आवाज, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरिजस्ता अमर कृतिहरू सिर्जना गरेका थिए ।
माइला लामा पनि बहुमुखी प्रतिभाका धनी योद्धा र स्रष्टा हुन् । जादुमयी, वैचारिक र विस्फोटक उद्घोषण क्षमता र कलाका धनी पनि हुन् माइला लामा । त्यसैले उनी क्रान्तकारीबीच मात्र होइन, आम श्रमिक जनतामा पनि लोकप्रिय र स्थापित छन् । माइला लामाले पनि जेललाई सिर्जनाको थलो बनाएका थिए ।
क्रान्तिकारी भावमा माइलाका शब्दहरुः
कहिले छाउँछन् निराशाका काला बादलहरू
कहिले आउँछन् बेइमानीका गन्धे लालचहरू
जेलभित्रै जेललाई जित्न सक्नुपर्छ
अँध्यारोमै उज्यालो देख्न सक्नुपर्छ
विचलनका आँधी–तुफान छेक्न सक्नुपर्छ
सङ्घर्षमै सुन्दर जीवन देख्न सक्नुपर्छ ।
समानताको हाम्रो बिहान पक्कै उदाउनेछ
धर्तीभरि न्यानो–न्यानो खुसी सजाउनेछ
एक दिन जेलका काला पर्खाल सबै ढालिनेछन्
अत्याचारका खुनी जन्जिर सबै फालिनेछन् ।
माइला लामा एकीकृत जनक्रान्तिका मात्र होइन, जनयुद्धका पनि सशक्त योद्धा हुन् । जनयुद्धको पहिलो सफल फौजी मोर्चा रामेछाप बेथान पानीघाटको लडाइँमा उनी छापामार योद्धा थिए । जनयुद्धकै क्रममा उनी विस्फोटमा परे र श्रवणशक्ति, दृष्टिशक्ति र हृदयको धड्कन÷स्पन्दन शक्ति गुमाए, छियाछिया पारे । बमबारुदमा परेर कयौँ मिटरमाथि आकाशसम्म पुगेर धर्तीमा पछारिँदा पनि उनले होस र धैर्य गुमाएनन् । संविधानसभा चुनावमा काठमाडौँ– ९ मा सभासद् उम्मेदवार बनेका लामा अत्यन्त झिनो मतले पराजित भए पनि क्रान्तिकारी राजनीतिक आन्दोलनलाई निरन्तरता दिएका थिए ।
यो पनि हेर्नुस्- विप्लवको विशेष सूचनाः पार्टीको आधिकारिक निर्णय आउन बाँकी नै छ