लुम्बिनीको अधिवेशन आजदेखि, शंकरलाई फ्लोर क्रसको चिन्ता – Janadesh Daily | ePaper

लुम्बिनीको अधिवेशन आजदेखि, शंकरलाई फ्लोर क्रसको चिन्ता


जनादेश मिडिया वाच ।

आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ? चासो बढेको छ । आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित बन्न खोजेका मुख्यमन्त्री पोखरेलका लागि अब आफ्नै पार्टी भित्रका सांसदहरुलाई रोक्ने रस्साकस्सी छ ।

प्रदेशसभाको अहिलेको सांसद संख्याले पोखरेललाई विश्वासको मत लिन आफू भित्रकै सांसदहरु चुनौती बन्न सक्ने देखिएको छ । पोखरेल आफूविरुद्ध हुन सक्ने सम्भावित फ्लोर क्रस रोक्ने कसरतमा छन् भने अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरु भने फ्लोर क्रसको माहोल निर्माण गर्न माधव-झलनाथ समूहका सांसदहरुलाई फकाउन सकृय छन् ।

प्रदेशसभाको अंकगणितको हेर्ने हो भने यो प्रदेशको सत्ता परिवर्तनको एक मात्रै विकल्प भनेकै फ्लोर क्रस हो । एमाले भित्र फुलोर क्रस नभए वर्तमान सरकारले निरन्तरता पाउने छ । जसपाका चार सांसद निलम्बनमा परेपछि सत्ता समीकरणका लागि माधव-झलनाथ पक्षका सांसद निर्णायक मानिएका छन् । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द संख्या पनि ४१ नै हो । एमाले भित्रकै मत सुरक्षित हुन सके पोखरेलले आँफूभित्रबाटै मुख्यमन्त्री पदमा सुरक्षित हुने निश्चित नै छ ।

तर माधव-झलनाथ पक्षका सांसदहरुले कर्णालीमा फ्लोर क्रस गरेजस्तै यहाँ पनि गरेको खण्डमा मुख्यमन्त्री अल्पमतमा पर्ने छन् । एमाले स्रोतका अनुसार यो प्रदेशमा दुईजना सांसद माधव-झलनाथ पक्षका भनेर खुलिसकेका छन् । यो दुई मत क्रस भए मात्रै मुख्यमन्त्री पोखरेलको पद जोखिममा पर्ने छ ।

नागरिक दैनिकबाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्