नयाँ घटनाक्रमपछि ट्वीटरमै बम्किए बाँस्कोटाः सुतेको ठाउँमा होइन उडाएरै हान्ने हो ! – Janadesh Daily | ePaper

नयाँ घटनाक्रमपछि ट्वीटरमै बम्किए बाँस्कोटाः सुतेको ठाउँमा होइन उडाएरै हान्ने हो !


जनादेश सोसल मिडिया वाच ।

प्रधानमन्त्री केपी शर्माका ओलीले विश्वासको मत लिने तयारी गरेपछि उनका प्रिय पात्र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा उत्साहित देखिएका छन् । लुम्बिनीमा आफ्नै गुटका शंकर पोखरेलको पुनः मुख्यमन्त्रीमा नियुक्ति र ओलीको कदमबाट बाँस्कोटा हौसिएका हुन् ।

संघीय व्यवस्थाको विरोधमा रहेका बाँस्कोटाले लुम्बिनीको प्रकरणपछि आफ्नो विचार पुष्टि गरेको दाबी गर्दै ओलीको निर्णयको पनि स्वागत गरेका हुन् ।

लुम्बिनी प्रदेशमा अल्पमतमा परिसकेका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएर पुनः नियुक्ति लिएपछि सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘पृथ्वी र आकाश लोकको बीचमा रहेको प्रदेश लोकमा आज (आइतबार) पनि के के भैसकेछ। भो ! छाड्दिम भनेको, संघीयतावालाहरूको हाँसो रोदन, के होला भन्ने हेर्न मन लागेर यतातिर आएको हुँ केरे।’

ओलीको विश्वासको मत लिने तयारीलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘ल अब बाह्र महिना नै सरकारको विरोध गरिबस्ने जति सबैलाई आनन्द भो होला नि,’ सामाजिक सञ्जालमै उनी लेख्छन्, ‘मिसनवालालाई शुभकामना छ, ओली हटाउन नसके वा जनतामा जानु परेमा फेरि उही किचकिच गर्ने हैन। उडाएरै हान्ने हो, सुतेको ठाउँमा हान्ने शैली लोकतन्त्रमा काम छैन।’

अल्पमतमा रहेका भनिएका ओलीको विश्वासको मत लिने निर्णयले राजनीतिमा नयाँ तरंग ल्याएको छ। ओली सरकारलाई समर्थन दिएपनि फिर्ता नलिएको माओवादी केन्द्रले संसद्मा प्रधानमन्त्री ओली अल्पमतमा परेको दाबीसहित विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ ।

विश्लेषकहरुका अनुसार विश्वासको मत लिने निर्णयमा ओलीका दुईवटा दाउ छन् । विश्वासको मत पाए दुई वर्ष निर्वाध सरकार सञ्चालन गर्ने नपाए मंसिरमा मध्यावधि निर्वाचन गर्नेगरी वातावरण तयार गर्ने । यही दाउ पूरा हुने देखेर ओली पक्षका बाँस्कोटा बम्किएको अनुमान गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्