देश फेरि पूर्णलकडाउनतर्फ उन्मुख, ४५ जिल्लामा निषेधाज्ञा, संक्रमण दरको डरलाग्दो संकेत – Janadesh Daily | ePaper

देश फेरि पूर्णलकडाउनतर्फ उन्मुख, ४५ जिल्लामा निषेधाज्ञा, संक्रमण दरको डरलाग्दो संकेत


जनादेश अपडेट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा लागु भएको निषेधाज्ञा लगायतका प्रतिबन्धात्मक कदम थप कडा हुन सक्ने संकेत गरे ।

कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका उनले अन्तिममा अंग्रेजी भाषामा समेत सम्बोधन गर्दै छिमेकी तथा मित्र राष्ट्रहरुसँग सहयोगको याचना पनि गरे ।
सामान्यरुपमा स्वास्थ्य मन्त्रालयले भन्दै आएको कुरा भन्न र विदेशीसँग सहयोग माग्न प्रधानमन्त्री ओलीले आफै सम्बोधन गरेपछि अवस्था गम्भीर र जटील बन्दै गएको स्पष्ट हुन्छ ।

४५ जिल्ला निषेधाज्ञा, देश पूर्णलकडाउनतर्फ उन्मुख
नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका छन्।

योसँगै निषेधाज्ञ लागू गरिएका जिल्लाको संख्या ४५ पुगेको हो । महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

गत १३ वैशाखको मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

हाल नेपालका ३३ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ ।

जसमध्ये १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १९ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, रौतहट, महोत्तरी, मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी (पूर्व), बाग्लुङ, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची, कञ्चनपुर र बैतडी रहेका छन् ।

अवस्था थप जटिल बन्दै
नेपालमा हरेक दिन रेकर्ड संख्यामा कोरोना संक्रमित भेटिरहेका छन् । आइतबार ७ हजार २११ जना संक्रमित फेला परेकोमा सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ । यसको अर्थ नेपालमा डरलाग्दो संकेत देखिएको छ । सबै सतर्क नबने अवस्था भयावह हुने अनुमान गर्न थालिएको छ ।

शव व्यवस्थापनमै समस्या

कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।

संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्