कोरोना संक्रमित र मृत्यु हुनेको डरलाग्दो दर, हिजो देशकै सर्वाधिकको रेकर्ड, निषेधाज्ञा थप कडा – Janadesh Daily | ePaper

कोरोना संक्रमित र मृत्यु हुनेको डरलाग्दो दर, हिजो देशकै सर्वाधिकको रेकर्ड, निषेधाज्ञा थप कडा


जनादेश हेल्थडेस्क ।

नेपालमा कोरोना संक्रमण र मृत्यु हुने दर डरलाग्दो दरमा बढिरहेको छ । मंगलबार एकैदिन थप ७ हजार ६६० जनाजमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार १३१ जनाको पीसीआर र ५७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५९ हजार नाघ्यो
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ५९ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या २० हजार नाघेको हो ।मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ ।

एकै दिन ५५ जनाको मृत्यु
नेपालमा मंगलबारमात्र थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा एकैदिन ३८ सय ९३ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१.जनामा गरी कुल ३८ सय ९३ जना थपिएको जानकारी दिएका हुन् । यसअघि सोमबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कुन उमेर समूहमा कति संक्रमित ?
२४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।
-९ वर्ष – १७४
१०-१९ वर्ष – ४५२
२०-२९ वर्ष – १८९२
३०-३९ वर्ष – १९७४
४०-४९ वर्ष – १३४०
५०-५९ वर्ष – १०१५
६०-६९ वर्ष – ४३७
७०-७९ वर्ष – २०९
८०-८९ वर्ष – ६०
९०-१०० वर्ष- ६
अज्ञात – २८

३४ जिल्ला ‘रेड जोन’मा
नेपालका ३४ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ । जसमध्ये २० जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य १४ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काभ्रे, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु , सुर्खेत र कैलाली गरी २० जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १४ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा बारा, रौतहट, महोत्तरी, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी (पूर्व), नवलपरासी(पश्चिम) , अर्घाखाँची, गुल्मी, कञ्चनपुर, बैतडी र डडेल्धुरा रहेका छन् ।

निषेधाज्ञा नयाँ नियमसहित थप कडा
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई बैशाख २९ गतेसम्मका लागि लम्बाइएको छ ।

थप गरिएको निषेधाज्ञालाई कडाई गर्न यसअघि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सवारी पास खारेज गरिएको छ भने सरकारी अत्यावश्यक सेवामा रहेका सरकारी कर्मचारीलाई विभागीय प्रमुखले दिएको पत्र बोक्नुपर्ने भएको छ । यस्तै बैंक तथा वित्तिय क्षेत्रका कार्यालयले २० प्रतिशत कर्मचारी राखेर मात्र सेवा दिन निर्देशन दिइएको छ ।

यस्ता छन् नयाँ नियमहरु :
-अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरु एक चौथाई कर्मचारीमात्र उपस्थित हुने गरी सञ्चालन गर्ने । सरकारी कर्मचारीलाई मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचयपत्रका आधारमा मात्र आवत जावत गर्न दिने ।

-बैंक तथा वित्तिय संस्था काठमाडौं उपत्यकामा २५ प्रतिशत मात्र खुला गर्ने, केन्द्रीय कार्यालयहरूले २० प्रतिशतमात्र जनशक्ति प्रयोग गरी काम गर्ने र सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने ।
-यस्तै बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई सिमित संख्यामा सवारी पास जारी गर्ने र त्यसको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने ।

-अत्यावश्यक कार्य, बिरामी कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने । विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने ।

-अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर खाद्य सामग्री मात्र बिक्री गर्ने प्रयोजनका लागि बिहान ९ बजेसम्म मात्र खुला गर्ने । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी÷कर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहहरूले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।

-फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यापार व्यवसाय सञ्चालन एवम् कवाडी संकलनमा रोक लगाउने । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने ।

-यसअघि जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गर्ने । अति आवश्यक अवस्थामा वाहेक जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी नगर्ने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्