अन्ततः ओली अल्पमतमा ! – Janadesh Daily | ePaper

अन्ततः ओली अल्पमतमा !


जनादेश मिडिया वाच ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रले १७ असोज २०७४ मा चुनावी तालमेल गरेका थिए ।


साझा घोषणापत्रसहित आमनिर्वाचनमा होमिएपछि एमालेले प्रतिनिधिसभामा १ सय २१ र माओवादी केन्द्रले ५३ सिट जितेको थियो । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कमजोर बन्दै गएका छन् ।

माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । ‘सरकारलाई हाम्रो समर्थन छैन, बुधबार फस्र्ट आवरमा हामी औपचारिक रूपमा समर्थन फिर्ता लिन्छौं,’ पोखरेलले भने, ‘बैठकले लुम्बिनी प्रदेश मुख्यमन्त्रीलाई पनि मान्यता नदिने निर्णय गरेको छ ।’

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्बाट विश्वास मत लिने तयारी गरिरहेकै बेला माओवादीले समर्थनमा मत नहाल्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर बनेको नेकपासँग १ सय ६९ सांसद थिए । माओवादी केन्द्रसँग ५३ सांसद रहेकोमा चार जना निलम्बनमा परेका छन् ।

एमालेसँग १ सय २१ रहेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग ३५ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ । नेपाल समूहले समेत ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ ।
राजधानी दैनिकबाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्