वसन्त आरोहणः कुन हिमालमा कति आरोही – Janadesh Daily | ePaper

वसन्त आरोहणः कुन हिमालमा कति आरोही


काठमाडौँ ।

कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । सो याममा सगरमाथाका लागि ४१ आरोही समूहले अनुमति पाएका थिए । यो अघिल्लो सन् २०१९ को वसन्त यामभन्दा बढी हो । सन् २०२० मा वसन्त आरोहण भएन ।

विभागको पर्वतारोहण शाखाका विवरणमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी १२५ आरोही छन् । नुप्से (७,८६४ मिटर) मा ३८ र पुमरी (७,१६१ मिटर) मा नौ आरोहीलाई अनुमति दिइएको छ ।

त्यसैगरी गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि आर आरोही समूहका ४४ र धौलागिरि हिमाल (८,१६७ मिटर) मा पाँच आरोही समूहका ३३ आरोही छन् । सङखुवासभामा पर्ने मकालु हिमाल ९८,८४६३ मिटर० आरोहणका लागि दुई आरोही समूहका २० र गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूहले अनुमति लिएका छन् । तिलिचो हिमाल (७,१३३ मिटर) मा आठ र हिम्लुङ हिमाल (७,१२६ मिटर) मा सात आरोहीलाई अनुमति दिइएको छ ।

यसबीचमा अन्नपूर्ण हिमालमा केही आरोहण भए भने मौसमले साथ दिए अबको केही दिनभित्रै सगरमाथा आरोहण शुरु हुने विभागले जनाएको छ । अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविरमा छन् । सर्वोच्च सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प ४ मा पुगिसकेका छन् ।

सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाख भन्दा बढी सलामी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै करीब रु ६६ करोड रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।

विदेशी पर्यटकको उद्धारमा सक्रिय बोर्ड

निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपत् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ ।

सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौतानुरुप नेपाल आउने भारतीय यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड –१९ महामारीको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले यही वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो । गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

बोर्डले बुधबार विभिन्न मुलुकका ११ विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएको छ । उनीहरुमध्ये लाङटाङबाट पाँच पोल्याण्डबासी, पोखराबाट चार युक्रेनी र लुक्लाबाट दुई अमेरिकी हुन् । यस्तै संस्कृति मन्त्रालयको यही वैशाख २१ गतेको निर्णयानुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्