रहिनन् साहित्यकार वानीरा गिरि – Janadesh Daily | ePaper

रहिनन् साहित्यकार वानीरा गिरि


काठमाडौँ ।  आफूलाई मानवतावादी र प्रकृतिवादी भनेर चिनाउन रुचाउने लेखक वानीरा गिरिको हृदयघातका कारण आइतबार राति निधन भएको छ ।

झण्डै ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित भएर घरमै आपत्कालीन स्वास्थ्य सेवा लिइरहेकी वानीरालाई ३ साताअघि कोरोना पोजिटिभसमेत देखिएको र आइतबार राति हृदयघातको आशंकामा निजामती अस्पताल लगिएको थियो । गिरिमा कोरोना संक्रमणसमेत यथावतै रहेकाले उनको अन्तिम संस्कारको जिम्मेवारी नेपाली सेनाले लिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

७६ वर्षीया गिरि उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी थिइन् । उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् । उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी हुन् । कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गिरिले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला पनि हुन् ।

भारतको खर्साङमा जन्मे–हुर्केकी वानीरा उच्च शिक्षा लिने अवसरमा काठमाडौं आएकी थिइन् । आफूलाई रमाउन जान्ने र हासमुख लेखकका रुपमा स्वमूल्यांकन गर्ने वानीराले आफ्नो जीवनमा बीपी कोइरालाको ‘तीन घुम्ती’ र लियो टोल्सटोयको ‘अन्ना करेनिना’ उपन्यासलाई शैली र लेखन प्रेरणाका कृति मान्ने गरेको बताउँथिन् ।

साहित्यकार ध्रुवचन्द्र गौतमले ‘नेपाली साहित्यिक आकाशमा सशक्त र अनुकरणीय शब्दशिल्पी भएकी स्रष्टा वानीरालाई उनका सिर्जनाले सधैं बँचाइरहने’ बताएका छन् ।

वानीराका श्रीमान (इन्जिनियर शंकर गिरी), एक छोरा अपूर्ण र एक छोरी अपराजिता छन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्